जापानमा भारी हिमपातको चेतावनी

जापानमा भारी हिमपातको चेतावनी


  • विशेष प्रतिनिधि,, टोकियो (जापान)

जापानमा हरेक केहि वर्षको अन्तरालमा बहने अत्यन्तै चिसो हावाको बहावसँगै, जापान सागर आसपासका विभिन्न ठाउँहरुमा हिमपात सुरु हुन थालेको छ ।

जापान मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज (२५ डिसेम्बर) देखि भोलि (२६ डिसेम्बर) सम्मको २४ घण्टामा जापान सागरको आसपासका भागहरु हुँदै उत्तरी तथा पश्चिम जापानका विभिन्न प्रान्तहरुमा पनि केही वर्षयताकै चिसो हावाको दबाबका कारण अत्यन्तै भारी हिमपात हुनेछ ।

जापान सागरलाई केन्द्रमा राखी, क्युसु तथा सिकोकु क्षेत्रमा भारी हिमपात भइ हिउँका कारण सडकहरुमा सवारी आवगमनमा समेत असर पर्ने भएकाले भारी हिउँ पर्ने क्षेत्रका बासिन्दाहरु अत्यावश्यक काम बाहेक घरबाहिर नजान पनि भनिएको छ ।

हालसम्मको पूर्वाअनुमानमा, भोलि बिहानसम्ममा, निगाता प्रान्तमा ७० सेन्टिमिटर, तोहोकु तथा होकुरिकु क्षेत्रमा ६० सेन्टिमिटर, नागानो प्रान्तमा ५० सेन्टिमिटर, होक्काइदो तथा च्युगोकु क्षेत्रहरुमा ४० सेन्टिमिटर र कान्तोहोकुबो तथा किन्की क्षेत्रहरुमा ३० सेन्टिमिटरसम्म हिउँ पर्नेछ । यी क्षेत्रहरुमा यति बाक्लो हिउँ केही वर्षयता परेका छैनन् । त्यसैले पनि मानिसहरुलाई सतर्क रहन तथा पूर्वतयारी गर्न भनिएको छ ।

२७ तारिखसम्म पनि कायम रहने अनुमान गरिएको हिमपातका कारण, आज (२५ तारिख) बिहानैदेखि जापान भरका विमानस्थलहरुमा प्रभाव देखिन थालेको छ । हिमपातको कारण एएनएले निगाता तथा ओसाका लगायतका २५ वटा उडानहरु रद्द गरेको एनएचके अनलाईनले जनाएको छ ।