file photo
सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न उद्यमी/व्यवसायीलाई उत्पादन विविधिकरणमा लाग्न सुझाएको छ ।
नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घलाई उत्पादन व्यापार र उत्पादन विविधिकरणमा लाग्न वाणिज्य सचिव दिनेश भट्टराईले सुझाएका हुन् ।
सङ्घको १३औँ वार्षिक साधारणसभालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले उनी फेल्ट र फेल्टजन्य उत्पादन निर्यातमा दिइएको नगद अनुदानले राष्ट्रको अर्थतन्त्रमा केही योगदान गरेको बताउँदै अझ प्रतिस्पर्धी र गुणस्तरीय उत्पादनमा लाग्न फेल्ट उद्यमीलाई आग्रह गरे ।
अल्पविकसित देशबाट स्तरोन्नति भएपछि नेपालले विश्व बजारमा सहुलियत नपाउने भएकाले आजैदेखि गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमा लाग्न जरुरी भएको उनले बताए । सचिव भट्टराईले गत आर्थिक वर्षमा रु ६ अर्ब बराबरका फेल्ट सामग्री निर्यात भएका र चालु आवमा पनि रु तीन अर्बको हाराहारीमा फेल्टका सामान विदेश पठाइनु अर्थतन्त्रका निम्ति सकारात्मक भएकाले उत्पादन बढाउने उद्यमीहरूलाई सरकारले सधैँ प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नेपाल उद्योग, वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घलगायत संस्थाहरूले सरकारसमक्ष प्रस्तुत गरेका नीतिगत एवं संरचनागत सुधारका सुझावलाई वाणिज्य मन्त्रालयले सकारात्मक रुपमा लिएको र उद्योगधन्दाको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट गरे ।
शनिबार सम्पन्न साधारणसभाले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोघ धाक्ख्वा, महासचिवमा तेलबहादुर कुमाल, सचिवमा शान्ति भण्डारी र कोषाध्यक्षमा शिव अधिकारी चुनिएका छन् ।
प्रतिक्रिया