माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदै

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदै


नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आज (११ पुस) देखि सुरु हुँदैछ । यद्यपि, माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबार बसेको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।

सम्मेलनको तयारीका क्रममा माओवादीको सहायक सङ्गठन वाइसिएलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विभिन्न स्वागतद्वार बनाएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएका छन् । यस्तै, राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको वाइसिएलले जनाएको छ ।

माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ । विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाईमा पुऱ्याउने र भरपर्दो कम्युनिष्ट शक्तिका रुपमा स्थापित गर्ने बताएको छ ।

शनिबार आयोजना गरिएको पत्रकार भेटघाटमा सो पार्टीका अध्यक्ष प्रचण्डले विचार, नीति र कार्यक्रमका हिसाबले पार्टीलाई थप परिस्कृत बनाउने र परिवर्तनको एजेण्डालाई नयाँ आधारमा स्थापित गर्दै अगाडि बढ्ने सङ्कल्प सम्मेलनले गर्ने बताए ।

नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन् ।

प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । माओवादीले सहभागीलाई आफैं खाने बस्ने प्रबन्ध गर्न भनेको बताइएको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको जनाइएको छ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ । माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ । राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई शुक्रबारको बैठकले नै दिएको हो ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

यस्तै प्रदेश-१ बाट ९६, प्रदेश-२ बाट १०६, बागमती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

ज्ञातव्य छ, राजनीतिक स्थायित्वसहितको बृहत् वामपन्थी एकताको कार्यसूचीसहित तत्कालीन नेकपा (एमाले)सँग पार्टी एकता गरेको माओवादी गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको हो ।