माओवादी कार्यकर्ताको गुनासो : ‘अवसरवादी नेता पार्टीभित्र भएकाले पार्टीले सही दिशा लिन सकेन’

माओवादी कार्यकर्ताको गुनासो : ‘अवसरवादी नेता पार्टीभित्र भएकाले पार्टीले सही दिशा लिन सकेन’


photo: rss

वर्गीय धरातलमा फर्कन माओवादी नेतृत्वलाई नेता कार्यकर्ताको सुझाव

माओवादीका नेता तथा कार्यकर्ताले पार्टीलाई स्पष्ट कार्यदिशाका साथ रुपान्तरित पार्टी बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । क्रान्तिकारी विचार र आफनो वर्ग छाड्दा पार्टीले अनेकन खालका धक्का खाएको भन्दै नेता तथा कार्यकर्ताले नयाँ विचारधारासहितको रुपान्तरित माओवादी चाहेको बताएका छन् । वर्तमान वदलिँदो परिस्थिति सुहाउँदो कार्यनीति र कार्यदिशाको अभावमा पार्टी बेलाबेलामा चुक्ने गरेको विगतको स्मरण गर्दै प्रतिनिधिले नयाँ विचारका साथ मुलुकको नेतृत्व गर्ने गरी माओवादी पार्टीको नवीकरण आवश्यक भएको औँल्याए ।

महाधिवेशन प्रतिनिधि युवराज लामा अब माओवादीले विगतका कमजोरीलाई समीक्षा गरेर रुपान्तरित हुँदै अघि बढ्नुपर्नै र त्यो दिशातर्फ उन्मुख भएको बताउँछन् । विसं २०७० अघि एक खालको माओवादी रहेको, त्यसपछि २०७५ सम्म अर्को खालको र त्यसपछि अर्को भूमिकामा पुगेको उल्लेख गर्दै लामाले यो उतारचढाव र उथलपुथलकाबीच माओवादी यहाँ आइपुगेको धारणा राखे । पार्टीभित्र गम्भीर समीक्षामार्फत नयाँ सोचको विकास हुनुपर्ने आवश्यकतासमेत प्रतिनिधिले गरेका छन् ।

पार्टी अध्यक्ष‘प्रचण्डले प्रदेश सम्मेलनमा बोलेका अभिव्यक्तिले समग्र नेपाललाई नेतृत्व गर्ने गरी रुपान्तरणका साथ कार्यनीति अघि बढाउने कुरामा उनी विश्वस्त छन् । चितवनबाट महाधिवेशनमा सहभागी सुमन सापकोटा देशको अर्थतन्त्र बलियो बनाउने र रोजगारी सिर्जना गर्ने तथा जीविकोपार्जनका निमित्त सहज बनाउने रुणनीति कार्यदिशा लिनुपर्ने सुझाव दिन्छन् । “आदर्श नीति र विधि भएन, महाधिवेशनले त्यसलाई निचोडमा पुऱ्याएर दिशाबोध गर्नुपर्छ”, सापकोटाले भने । अर्का प्रतिनिधि सङ्गीता भट्टराई समाजवादी क्रान्ति पूरा गर्ने गरी स्पष्ट खाका तय गर्नुपर्ने जिम्मेवारी अहिले पार्टी सामु रहेको र त्यो पूरा हुन्छ भन्ने विश्वास बढ्दै गएको बताए ।

महाधिवेशनमा उत्साहका साथ नेता कार्यकर्ता सहभागी थिए । छोटो समयमा तयारी गरिएको महाधिवेशन भए पनि पूर्ण तयारी देखिएको थियो । यद्यपि हल सानो हुँदा चिसो मौसममा चौरमा बसेर प्रतिनिधि तथा शुभेच्छुकले स्क्रिनमार्फत उद्घाटन शत्र हेरेका थिए । त्यही माहोलमा थिए बाजुराका वृद्ध प्रतिनिधि सन्तबहादुर शाही । २२ वर्षदेखि माओवादीमा सक्रिय शाही माओवादी पार्टी खराब नभए पनि त्यहाँभित्रका नेता खराब भएको गुनासो गर्छन् । उनले विगतमा पार्टीले राजनीतिक अवस्थाअनुसार अघि बढेको र कतिपय अवस्थामा कमीकमजोरी पनि भएको उल्लेख गर्दै अब पार्टीले मुलुकको राजनीतिक नेतृत्व गर्नुपर्ने सुझाव दिए । “दुई दुई पटक प्रचण्डै नेतृत्वमा सरकार बन्यो, एक पटक बाबुराम भट्टराईको नेतृत्वमा पार्टीले सकारको नेतृत्व गऱ्यो, पटकपटक सरकारका सहभागि भइरहेको छ, अब ठुलो पार्टी बनेर नेतृत्व गर्न सके मुलुकले केही परिवर्तनको सास फेर्ने छ”, उनको भनाइ थियो ।

अवसरवादी नेता पार्टीभित्र भएकाले पार्टीले सही दिशा लिन नसकेको उनको निष्कर्ष छ । पार्टीलाई व्यक्तिले बिगारे अब सच्याउनुपर्छ, यो महाधिवेशनले त्यही कुरा अघि बढाओस् र रुपान्तरण हुँदै जाओस् भनेर सम्मेलनमा भाग लिन आएको उनको भनाइ थियो ।

रौतहटबाट १८ प्रतिनिधिसहित सहभागि भएर महाधिवेशन हेर्न आउनुभएका शहीद परिवारका सदस्य रामकिसुन महत्तो सर्वहारा, गरिब निमुखा जनताका लागि पार्टीले केही गर्नुपर्नेमा जोड दिन्छन् । उनले पूँजिपति वर्ग र ठेकेदारलाई स्थान दिने तर पुराना वास्तविक माओवादीलाई पाखा लगाउने प्रवृत्तिले माओवादी कमजोर भएको दुःख पोखे ।

“बन्दुक बोक्ने बेलनमा हामी योग्य, अहिले चाहिँ हामी अयोग्य, यो कसरी हुनसक्छ”, पार्टीप्रति प्रश्न गर्दै उनले भने भन्नुभयो । अब युवालाई नेतृत्व दिन पनि उनले सुझाव दिए । आलोपालो काम गर्ने भनेर एमालेसँग एकता भए पनि पार्टीले सही निर्णय लिन नसक्दा विचलन आएको पनि उनको धारणा थियो ।

कास्कीकी प्रतिनिधि तेजकुमारीले मुलतः महाधिवेशमा विचारको विकास गर्दै नयाँ कार्यदिशा दिने विश्वास व्यक्त गरिन् । समाजवादी यात्रामा समृद्धिको मात्रै कुरा नभई नेपाली जनताको आजको आवश्यता अनुसारको विकास जरुरी रहेको उनको धारणा थियो । उनले शान्ति प्रक्रिाय कसरी अघि बढाउने, माओवादी आन्दोलनलाई बदलिँदै परिस्थितिअनुसार कसरी लैजाने भन्ने विाषयमा छलफलको आवश्यकता रहेको औँल्याइन् ।

महाधिवेशनमा सहभागी हुनआएका सात प्रदेश र तीन गैरभौगोलिक प्रदेशका प्रतिनिधिले वर्गीय धरातलमा फर्कन र आफ्नो वर्गको पक्षमा उभिन पार्टी नेतृत्वलाई सचेत गराएका छन् । उनीहरूले स्पष्ट विचार र कार्ययोजनाका साथ अगाडि बढे माओवादी २०६४ सालको अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।