माओवादीको बन्दशत्र सोमबार बिहानदेखि

माओवादीको बन्दशत्र सोमबार बिहानदेखि



नेकपा (माओवादी केन्द्र)को बन्दशत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आइतबार उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दशत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ ।

उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेएका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दशत्रको बारेमा जानकारी दिँदै बन्दशत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने बताए ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्द शत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । कमलादीस्थित हलमा नै बन्दशत्र आयोजना गरिने भए पनि हलको क्षमता भन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।

photo:rss