सिद्धार्थनगरमा ७ करोडको लागतमा गेट निर्माण

सिद्धार्थनगरमा ७ करोडको लागतमा गेट निर्माण


  • पुनहरि बेल्बासे, भैरहवा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डन्डाखोला नजिक पर्यटकीय गेट निर्माण भएको छ । करिब ७ करोडको लागतमा निर्माण गरिएको गेटको उद्घाटन प्रतिनिधसभा सदस्य घनश्याम भुसालले गरेका छन् । उद्घाटन गरेको गेट वि.सं. २०७५ माघ १० गते भुसालले नै शिलन्यास गरेका थिए ।

पर्यटकीय गेट दुई चरणमा ठेक्का भएको थियो, प्रथम चरणको कार्य २०७५ असार २५ मा सम्झौता भई २०७७ असार ३० गते सम्पन्न भएको हो भने दोस्रो चरणको काम २०७७ मंसिर ९ गते सम्झौता भइ २०७८ पुस मसान्तसम्म सम्पन्न गर्ने थियो । दोस्रो सम्झौताको सम्पन्न गर्ने समय अघि नै गेटको उद्घाटन गरिएको छ ।

गेट पहिलो चरणमा २ करोड ४८ लाख ९१ हजार ६ सय ३४ रुपैयाँमा ठेक्का भएको थियो भने दोस्रो चरणमा रु. ४ करोड ४८ लाख ९३ हजार रुपैयाँ र कन्टेन्जेन्सी समेत गरी यो परियोजना ७ करोड ९ लाख २७ हजार रुपैयाँको लागतमा सम्पन्न भएको छ । गेट निर्माण गर्ने जिम्मा प्राकृतिक निर्माण प्रा.लि. सि.न.पा.–९ ले पाएको थियो ।

गेटमा स्वम्भुको आँखा रहेको हर्मिका गजुर तथा स्तुपा आकार दर्शाउन १३ रिङ राखिएको छ भने १२ वटा रुपका बुद्धका मूर्तिहरु गेटको चारैतर्फबाट राखिएको छ । गेटको चार कुनामा हरियाली बनाउन स्टिलको रेलिङ्ग हालेर वृक्षारोपण गरी फूल लगाइएको छ ।

पर्यटकीय गेटको सडकको सतहदेखि आर्कसम्म १६.८० मिटर, आर्कदेखिमाथि गजुरसम्म १४.५ मिटर उचाई तथा कुल उचाई ३१.३० मिटर रहेको छ । ‘गेटलाई आकर्षक बनाउन लाइटिङ्ग सिस्टम राखिएको छ, आर्कलाई डोम र स्तुपाको वास्तुकलामा आधारित भएर डिजाइन गरिएको र बुद्धिष्ट वास्तुकलालाई प्रतिविम्भ गरेर बनाइएको छ, आँखा भएको स्तुपाले नेपालको स्तुपा हो भन्ने पहिचान गराउँछ ।

सिद्धार्थनगरमा अर्को गेट निर्माणको लागि पनि समझौता हुने चरणमा पुगेको छ । नेपाल प्रवेश गर्ना साथ बेलहियामा भन्सार अगाडी पशुपतिनाथ मन्दिरको स्वरुप झल्किने गरी प्रवेशद्वार निर्माण कार्यको ठेक्का सम्झौता हुने चरणमा पुगेको हो ।

पर्यटकीय गेट उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले पर्यटकीय गेट निर्माण कामको हिसाबले ठूलो काम भएको बताए । उनले सिद्धार्थनगरमा शिक्षा, स्वास्थ्य, सडकमा धेरै राम्रो काम काम भएको बताए । ‘ठूलो भौतिक पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन, मानवीय, वैचारिक, सांस्कृतिक विकास गर्नुपर्छ, ’ भुसालले भने । उनले सिद्धार्थनगर अझै रचनात्मक कार्य गर्न बाँकी रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सीमित स्रोतसाधनका बाबजुद विभिन्न योजनाहरु अघि बढाइएको बताए । उनले नगरपालिकाको विकासका लागि हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘सबैले नगरपालिका मेरो हो भन्ने भावनाका साथ अगाडी बढे सिद्धार्थनगरको विकासमा अझ टेवा पुग्छ, नगरप्रमुख अधिकारीले भने ।

संविधानसभा सदस्य आदित्यनारायण कसौधनले पर्यटकीय गेटले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले विशेष गरी भारतीय पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाले धेरै राम्रो कामहरु गरेको उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रबाट समृद्धि प्राप्त गर्न सकिने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषि, पर्यटन, उद्योग र व्यापार मुलुकलाई समृद्ध बनाउने आधार भएको बताए ।