तस्करीका सामानबाट ६ महिना अवधिमा प्रहरीद्वारा ५ करोड बढीको राजश्व दाखिला

तस्करीका सामानबाट ६ महिना अवधिमा प्रहरीद्वारा ५ करोड बढीको राजश्व दाखिला


लागुऔषधसहित चार जना पक्राउ

  • आरपी उपाध्याय, नवलपरासी

जिल्ला प्रहरी कार्यालय पश्चिमनवलपरासीले ६ महिनाको अवधिमा ५ करोड १८ लाख रुपैयाँ बराबरको राजश्व दाखिला गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक मनोजकुमार यादवले आफू जिल्लामा आएदेखि भए गरेका कार्यबारे सञ्चारकर्मीसमक्ष जानकारी गराएका हुन् ।

प्रहरीले सबैभन्दा बढी भारतबाट अवैध रुपमा भित्र्याइएका समान र भारततर्फ तस्करी गरिने मटर बरामद गरेबापत ४ करोड ७० लाख रुपैयाँ बराबरको राजश्व दाखिला गरेको छ । त्यस्तै, अवैध नदिजन्य पर्दाथ उत्खनन कारवाहि बापत ६ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रहरीले उक्त कार्यमा संलग्न २ ओटा जेसिबि र ३९ ओटा ट्याक्टर आवश्यक कारवाहिका लागी सम्बन्धित स्थानिय तहमा बुझाएको थियो । यसैगरी अवैध वन पैदावर ढुवानीको क्रममा ५ लाख ५५ हजार बराबरको राजश्व संकलन भएको छ । प्रहरीले असार १३ देखि हाल सम्म ३५ लाख ९० हजार श्रोत नखुलेको रकम बरामद गरेको छ भने उक्त रकम र पक्राउ परेका चार जनालाई आवश्यक कारवाहिका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी उपरिक्षक यादवले बताए ।

यसैगरी प्रहरीले ६ महिनाको अवधिमा १ सय १ जना फरार अभियुक्त पनि पक्राउ गरेको छ । पछिल्लो समय प्रहरीले फरार अभियुक्त पक्राउ गर्न अभियान नै चलाए पछि धमाधम उनीहरु पक्राउ पर्न थालेका हुन् । जसमा सबैभन्दा बढि कुटपिट र लुटपिट मुद्धाका ३२ जना छन् । प्रहरीले यही अवधिमा वनसम्बन्धी मुद्धामा ३५ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक यादवले जानकारी दिए।

पछिल्लो समय बढ्दै गएको लागुऔषध तस्करी र प्रयोग नियन्त्रण गर्न पनि सुक्ष्म तवरले काम भइरहेको प्रहरीले जनाएको छ । जसमा प्रहरीले ६ महिनाको अवधिमा १४ ओटा मुद्धा दर्ता गरेको छ भने २९ जनालाई पक्राउ गरेको छ । तीमध्ये २७ जना नेपाली र दुई जना भारतीय नागरिक छन् । उनीहरुको साथबाट प्रहरीले ६ महिनाको अवधिमा १० किलो चरेश, २०० ग्राम गाँजा, ४ सय ७० ग्राम ब्राउन सुगर, ६ सय २७ एम्पुल डाईजेपाम, फेनरागन ६ सय ३८ एम्पुल, नाइट्राभेट १२ सय ५३ ट्याब्लेट, स्पास्मो ७ सय २८ ट्याब्लेट, कोरेक्स ११ बोतल, ओनरक्स ५ बोतल र अल्फाजोल ८ बोतल बरामद गरेको छ ।

यसैबीच पश्चिम नवलपरासी प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोधपुछ गर्ने क्रममा भूमही-परासी सडक खण्डको रामग्राम-११ रानीपाकडबाट लागुऔषधसहित चार युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोटका युवासमेत रहेकाले लागुऔषध नवलपरासी हुँदै टाढा टाढासम्म पुगेको पुष्टि भएको छ । प्रहरीले शङ्का लागि चेकजाँच गर्ने क्रममा लु ४५ प ४१५३ नम्बरको मोटरसाइकलमा सवार पूर्वी नवलपरासीको कावासोती नगरपालिका-९ का १९ वर्षीय सुदिप सुनार र सोही मोटरसाइकलमा रहेका सोही स्थानका १९ वर्षीय निश्चल घिमिरेको साथबाट ८५५ ट्याब्लेट नाइट्रोभेट फेला परेको हो ।

उनिहरुकै साथमा आएको अर्को बा प ०२–०३० प ६२३९ नम्बरको मोटरसाइकलमा सवार कालिकोट खडाचक्र नगरपालिका–४ बस्ने २२ वर्षीय विमल शाही र सोही स्थान बस्ने २२ वर्षीय रमेश अधिकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ । पक्राउ परेका चारै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।