नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले कांग्रेसमा जनताको आकर्षण बढिरहेको जिकिर गरेका छन् । नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति-५ ले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे ।
‘देशैभर कांग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ, जनताको भरोसा टुट्न दिँदैनौँ’ भन्दै पूर्वमन्त्री भण्डारीले कांग्रेसलाई सबल र सक्षम बनाउन तल्लो तहदेखि नै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
भण्डारीले निकट विषयमा हुने तीनवटै तहको निर्वाचन कांग्रेसले जित्ने दाबी गर्दै भने, ‘निर्वाचन जित्न अहिलेदेखि नै सङ्गठन सुदृढ बनाउनेतर्फ लागौँ, सबै एकजुट भएर लागेको खण्डमा कांग्रेस हार्दैन ।’
मुलुक र मुलुकवासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको उल्लेख गर्दै नेता भण्डारीले जनताले तीन तहको निर्वाचनमा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । मुलुकमा भएका सबै विकास र परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको उनको भनाइ थियो । भण्डारीले कम्युनिष्टबाट देश सञ्चालन हुन नसक्ने भन्दै कम्युनिष्टले जनमतको कदर नगरेको आरोप लगाए ।
प्रतिक्रिया