देउवाको डर बेग्लै

देउवाको डर बेग्लै


प्रचण्ड र माधव आफू मात्र नभइ आफ्नो पक्षका अन्य केही नेताहरूका लागि पनि मैदान खालि गरियोस् भन्ने अपेक्षामा छन् । तर यस विषयमा देउवाले स्पष्ट धारणा बनाइसकेका छैनन् ।


एमसीसी मुद्दाको व्यवस्थापन गर्ने ‘कौशल’ प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले देखाउन सके भने वर्तमान सत्ता गठबन्धनले आगामी संसदीय निर्वाचनसम्म निरन्तरता पाउने देखिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई एक सन्देश पठाउँदै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई गठबन्धनबाट हटाएमा बाहिर रहेर एमालेले समर्थन दिने बताएपछि वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि आशङ्का उत्पन्न भएको थियो । तर प्रधानमन्त्री देउवा गठबन्धन तोडेर केपीसँग सहकार्य गर्ने पक्षमा नभएको बुझिएको छ ।

प्रचण्ड र माधव कार्ड एमालेलाई निर्वाचनमा पराजित गर्न प्रयोग गर्ने र एमालेको पराजय हुँदा आफूहरू विजयी बन्ने विश्वासमा रहेका देउवामा कतै प्रचण्ड, माधव र केपीबीच चुनावी गठबन्धन बन्ने हो कि भन्ने चिन्ता पनि देखिएको छ । कम्युनिष्ट वामपन्थीहरूबीच चुनावी गठबन्धन भएमा त्यसको असर चुनावी परिणाममा पर्ने र काङ्ग्रेस नराम्रोसँग पराजित हुने देउवाको बुझाइ छ । त्यसैले माधव र प्रचण्डलाई भड्किन नदिन देउवा सचेत रहेको बताइन्छ ।

आगामी निर्वाचनमा पहिलेझैँ माओवादीसँग काङ्ग्रेसको औपचारिक गठबन्धन हुने सम्भावना अत्यन्त न्यून मात्र रहेको छ । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलगायतका नेताहरूको क्षेत्रमा काङ्ग्रेसले आफ्नो उम्मेदवार नदिने या कमजोर उम्मेदवार दिने सोच भने बनाएको छ । प्रचण्ड र माधव आफू मात्र नभइ आफ्नो पक्षका अन्य केही नेताहरूका लागि पनि मैदान खालि गरियोस् भन्ने अपेक्षामा छन् । तर यस विषयमा देउवाले स्पष्ट धारणा बनाइसकेका छैनन् ।

चितवनबाट उम्मेदवार भएको अवस्थामा प्रचण्डको पक्षमा काङ्ग्रेस कार्यकर्ता परिचालन गर्न मुस्किल हुने ठानेका देउवाले अन्य कुनै निर्वाचन क्षेत्रबाट प्रचण्ड उम्मेदवार भइदिउन् भन्ने चाहना राखेका छन् । त्यसैले प्रचण्डले रुकुमबाट चुनाव लड्नेबारे सोच्दै गरेको सम्बद्ध सूत्रले जनाएको छ । प्रचण्ड, माधव र उपेन्द्र पनि सरकारबाट बाहिरिन चाहँदैनन् । यदि सत्ता गठबन्धनबाट उनीहरू बाहिरिने स्थिति बन्यो भने उनीहरूले केपीसँग चुनावी गठबन्धन गर्ने सम्भावना छ ।

चुनावी गठबन्धन गर्नुअघि आगामी असारमा देउवाको कार्यकाल एक वर्ष पूरा भएपछि उनीहरूले देउवाविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गराइ वामपन्थी कम्युनिष्टहरूको गठबन्धन सरकार गठन गर्ने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन । हो, यस्तै अवस्था आउन नदिन देउवा यतिबेला सचेत रहेका छन् । केपीलाई देखाएर माधव-प्रचण्डलाई तर्साउनेसम्मको काम गरे पनि देउवाले सामान्य अवस्थामा केपीसँग सत्ता गठबन्धन नगर्ने निश्चित मानिएको छ ।