कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु

कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु



नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उनकी अन्दाजी २२ वर्षीया बहिनी कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् ।

खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । चार जनाको मृत्यु भए पनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । तीमध्ये एक जनाको होस खुले पनि दुई जना अझै अचेत अवस्थामै रहेको बताइएको छ ।

तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसादसहित उक्त निवासमा सात जना थिए ।

घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिए ।