कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी

कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी



अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ ।

ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले जानकारी दिएका छन् । ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको उनको भनाइ छ । आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको र धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन भइरहेको बैंकले जनाएको छ ।

आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै कुमारी बैंकले केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ । धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ ।

कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको बताए । “हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उनको भनाइ छ ।

ज्ञातव्य छ, यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई समेत सिष्टम ह्याक गर्ने धम्की आएको थियो ।