आगो ताप्दा सावधानी अपनाउन अपिल

आगो ताप्दा सावधानी अपनाउन अपिल


जाडो मौसममा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो ।

कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न अनुरोध विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

यसैगरी, आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउन, हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्यरूपमा हिटर निभाउन सुझाव दिइएको छ । मन्त्रालयले गिजरको मुख्य मेसिनलाई स्नानगृहबाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म स्नानगृहमा नबस्न पनि आग्रह गरेको छ ।

ज्ञात रहोस्, नेपालगञ्जको भेरी अस्पतालको क्याटरमा कोठा न्यानो बनाउनका लागि कोइला बालेर सुत्दा बिहीबार एकै परिवारका चार जनाको निसास्सिएर निधन भएको थियो ।