माओवादी केन्द्रले शनिबार नेतृत्व चयन गर्ने

माओवादी केन्द्रले शनिबार नेतृत्व चयन गर्ने


photo: rss

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन शनिबारसम्म लम्बिएको छ । शुक्रबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेका लागि बन्दशत्र स्थगित गरिएको जानकारी दिइएको छ ।

विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दाबी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् भने दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ । माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन समितिका अनुसार त्यसअघि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

बन्दशत्रमा अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनुभयो । उनले सुझाव र जिज्ञासामाथि जवाफ दिने क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकै रूपमा स्वीकारेको जानकारी दिए । २४ वटै समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षलाई दस्तावेजमा समेट्ने विश्वास उनले दिलाएका छन् ।

माओवादीको बन्दसत्र शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको बताइएको छ ।