‘अब स्थानीयस्तरमा रोजगारी अभिवृद्धि गर्नुपर्छ’

‘अब स्थानीयस्तरमा रोजगारी अभिवृद्धि गर्नुपर्छ’



नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले स्थानीयस्तरमा रोजगारी अभिवृद्धि हुने कार्यक्रम एवं गतिविधि सञ्चालन गर्दै चेम्बर अफ कमर्श अगाडि बढ्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्शले शनिबार आयोजना गरेको योजना तर्जुमा कार्यशाला गोष्ठीमा उनले कृषिको व्यवसायीकरण र सूचना प्रविधिको विशेष प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्दै रोजगारीको सिर्जना गर्ने गरी योजना अगाडि बढाउने र जिल्ला चेम्बरले पनि त्यस्ता कार्यक्रम ल्याउनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले भक्तपुर चेम्बरलाई मुलुककै उत्कृष्ट जिल्ला चेम्बरको रूपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै चेम्बरबाट तयार हुने योजना उद्यमी व्यवसायीका समस्या सम्बोधन हुने दाबी गरे । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भक्तपुर चेम्बरले छोटो समयमा गरेको प्रगति उदाहरणीय रहेको भन्दै यसलाई जनस्तरसम्म प्रभावकारी हुने गरी कार्यक्रम लैजान सुझाव दिए ।

त्यस अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार रोशन भोयद्यो र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं मोबाइल फोन इम्पोर्टस एशोसिएशनका अध्यक्ष दीपक मल्होत्राले भक्तपुर चेम्बरले भावी योजना तय गर्दै अगाडि बढ्न खोज्नुले जिल्ला तथा नगर चेम्बरको विकासको खट्किलो तय गर्नुसरह रहेको धारणा राखे ।

भक्तपुर उद्योग वाणिज्य सङ्घका सल्लाहकार कृष्णप्रसाद अवाल, भक्तपुर चेम्बर अफ कमर्शका विष्णुभक्त मारिखु, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष कविदास धौबजी श्रेष्ठ, चेम्बर व्यवस्थापन विज्ञ हरिहर सुवेदी, भक्तपुर नगर चेम्बरका अध्यक्ष राधेसुन्दर साँयजु, मध्यपुरथिमि नगर चेम्बरका अध्यक्ष सचिन्द्र श्रेष्ठ, चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुलप्रसाद प्रजापति, सूर्यविनायक नगर चेम्बरका अध्यक्ष रामगोपाल सुवाललगायतले चेम्बरले अगाडि सार्नुपर्ने विभिन्न योजनाका बारेमा चर्चा गरेका थिए ।

कार्यशालामा भक्तपुर चेम्बर अफ कमर्शअन्तर्गत गठन भएको चारैवटा नगर चेम्बरले आ–आफ्ना योजनामा आर्थिक विकासका गतिविधि, संस्थागत विकास एवं सामाजिक सेवाका गतिविधि प्रस्तुत गरेको थियो । भक्तपुर चेम्बर अफ कमर्शका सचिव सुरेन्द्र तुबन्जा श्रेष्ठलाई प्याब्सन भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा निर्वाचित हुनुभएकामा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।