माओवादीद्वारा काठमाडौं उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाउन माग

माओवादीद्वारा काठमाडौं उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाउन माग


नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड दिएको छ ।

काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरेबिनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यकाभित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि माओवादी केन्द्रले जोड गरेको हो ।

‘चुरेविनास एवं बालुवा, ढुंगागिटीको चरम दोहनले पानीको सतह सयौं फिट तल जाने, डुबान र कटानले धनजनको क्षति हुने, साथै मधेशको मरूभूमिकरणको कारक चुरेदोहनको प्रक्रिया रोक्न तथा नदी प्रणाली र काठमाण्डौं उपत्यकाभित्र रहेको माटो, बालुवा उत्खनन तथा प्रशोधन तत्काल बन्द गर्न प्रभावकारी कदम चाल्न यो महाधिवेशन आग्रह गर्दछ’, माओवादीद्वारा पारित प्रस्तावमा भनिएको छ ।

यस्तै, निर्वाचन आयोगले ‘साम्यवाद’, ‘वर्गसंघर्ष’ जस्ता शब्दावली प्रयोग गरेको पार्टी विधान दर्ता हुन नसक्ने भन्दै संशोधनका लागि पठाएको पत्रमा पनि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

महाधिवेशनबाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले निर्वाचन आयोग सो पत्रप्रति आपत्ति जनाउँदै सो बारेमा आवश्यक कदम चाल्न नवनिर्वाचित केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनाधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ’ महाधिवेशनवाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।