कमल थापा र राप्रपा एकअर्काको पर्याय हो र ?

कमल थापा र राप्रपा एकअर्काको पर्याय हो र ?


जुन निर्वाचन पद्धतिमा ठूला भनिएका दलहरू पनि एक्लै भाग लिन डराउँदैछन् त्यसमा कमल थापाले दुई तिहाइ ल्याउने कुरा कत्तिको हावा रहेछ भन्ने कुरा पछिल्लो निर्वाचनमा राष्ट्रिय दलको मान्यता पनि बचाउन नसक्नुले स्पष्ट पारेको छ । त्यसमाथि पार्टीभित्रैको उनको हारले झन् यो सोच खोक्रो भएको छ ।
  • स्वयम्भूनाथ कार्की

दुई राप्रपा एकैदिन एउटै नाममा पुच्छर फरक पारेर जन्मनु धेरैलाई अनौठो लागेको थियो । तर यो अनौठो कुरा भने बिल्कुलै थिएन । जनमत सङ्ग्रहपछि सरकारमा आफ्नै नेतृत्व अनन्तसम्म कायम रहनुपर्छ भन्ने सुबथा (सूर्यबहादुर थापा)को मनसाय रहेको हल्ला चलेको पनि थियो । उनलाई लोकेन्द्रबहादुर चन्दले प्रतिस्थापन गरेपछि महापञ्चहरूको आ-आफ्नो गुट सतहमा देखापरेको थियो । सम्पुर्ण संवैधानिक राजतन्त्र अर्थात् बहुदलीय प्रजातन्त्रको कालखण्ड राप्रपाहरूको जुट र फुटमा नै सकियो । राप्रपा (राष्ट्रवादी) बाहेक अरु सबै निर्वाचित भएर हैन गणितीय खेलमा औजार भएर सत्ताका भागिदार भए । अन्तिमतिर सुवथा फेरि राप्रपामा अटाएनन् । यो दल हैन विचार समुह भनेर राष्ट्रिय जनशक्ति पार्टी खोले । यो समुहमा सामेल भएर र पछि फेरि छोडेर कमल थापाले नेताको परिचय कमाए । त्योभन्दा पहिले सुबथाले भन्ने गरेको ‘भूमिगत गिरोह’को सदाशयताले हमेसा स्थान तथा पद पाउने भाग्यमानी ! धेरैको मान्यता थियो कि सुबथाले यो विशेषण तत्कालिन मुमामहारानी रत्न, अधिराजकुमार ज्ञानेन्द्रलगायतलाई लक्षित गरी दिएका थिए जो पञ्चायतको निर्दलियतालगायतका आधारभूत सिद्धान्तमा प्रहार नहोस् भन्ने चाहन्थे ।

यस अवस्थामा आएको अन्तरिम संविधानले आफ्नो विपक्षी सोच भएकाहरूले दल दर्ता नै गर्न नपाउन् भन्ने प्रबन्ध गरेको थियो । यो भर्खर आएको राजनैतिक बाढीमा राप्रपा नेपाल जस्तो दलले दर्ता गराउन दश हजार हस्ताक्षर जुटाउन नसक्ने आँकलन थियो । तर वरिष्ठ नेता रविन्द्रनाथ शर्मालाई अध्यक्ष बनाएपछि जनताले भरोसा ग¥यो । पचासौँ हजार हस्ताक्षर सङ्कलन गरेर जनताले राप्रपा नेपालका कार्यकर्ता खोजी-खोजी बुझाए । दल दर्ता निवेदन काइते तरिकाले खारेज हुने सम्भावना भएकाले अलग-अलग निवेदन तैयार गरियो । त्यसैले त्यहाँ पूरा हस्ताक्षर पेश गरिएन कथं त्यो खारेज भए अर्कोको निमित्त जगेडा गरियो । जनताले यति मेहेनत गरेको पार्टीले संविधानसभा निर्वाचन बहिष्कार गर्नुपर्छ भन्ने सोचले अध्यक्ष शर्मा प्रभावित भएको भनियो ।

त्यसबेला गणतन्त्रको कार्यन्वयन प्रस्ताव निर्विरोध हुन दिनु हुँदैन भनेर हक्की कमल थापाले नेतृत्व सम्हाल्नुपर्छ भनियो । फलतः पुनः कमल थापा अध्यक्ष भए । राप्रपा नेपालको चुनावीसभा बिथोलियो । उक्त श्रृङ्खलाको पहिलो तारो विर्तामोडमा रविन्द्रनाथ शर्मा नै भए । पोखरामा कमल थापा सामेल हुने कार्यक्रमको मञ्च तोडफोड भएपछि राप्रपा नेपालका उम्मेदवारले लुकेर प्रचार गर्नु परेको थियो । त्यो अवस्थामा पनि चार स्थान ल्याउन सफल हुनुमा कार्यकर्ता भन्दा सहयोगी जनताको भूमिका कम थिएन । गणतन्त्रको विपक्षमा पक्कै मत दिन्छन् भनेर राप्रपा र जनशक्तिलाई मत खसाल्ने जिल्लाराम परे ! परिस्थितिले संविधानसभाको दोश्रो निर्वाचनमा राप्रपा नेपाललाई नै समर्थन गर्नुपर्ने अवस्था ल्यायो । फलस्वरुप माउपार्टीहरू भन्दा धेरै समर्थन जुटाएर राप्रपा नेपाल संविधानसभामा चौथो शक्ति बन्यो ।

त्यसपछि कमल थापा पनि सुबथाको पदचिह्नमा हिँड्न थाले । यो सफलता केवल आफ्नो कारणले आएको दम्भमा उनका भजनमण्डली सरहका कार्यकर्ताले सहयोगीहरूको मानमर्दन गर्न थाले । उनी सरकारमा सामेल भए, यो अप्रिय थियो । तैपनि परराष्ट्र र स्थानीय विकास मन्त्रालय पाएकाले विदेशमा एजेण्डा फैलाउलान् र, तल्ला तहसम्म सङ्गठन बलियो बनाउलान् कि भन्ने लागेको थियो । तर यो पद्धतिमा निर्वाचनमा दुई तिहाइ ल्याएर राजसंस्था पुनःस्थापन गर्ने स्वैरकल्पनाको व्यापार थापाले गरिरहे । जुन निर्वाचन पद्धतिमा ठूला भनिएका दलहरू पनि एक्लै भाग लिन डराउँदैछन् त्यसमा कमल थापाले दुई तिहाइ ल्याउने कुरा कत्तिको हावा रहेछ भन्ने कुरा पछिल्लो निर्वाचनमा राष्ट्रिय दलको मान्यता पनि बचाउन नसक्नुले स्पष्ट पारेको छ । त्यसमाथि पार्टीभित्रैको उनको हारले झन् यो सोच खोक्रो भएको छ । कारण उनले दोषारोपण गरेको जस्तो निर्मल निवासको चलखेल भए पनि वा कार्यकर्ताको विश्वास कम भएको भए पनि जित त सहज रहेनछ भन्ने सोच्नु उनको निमित्त हितकर हुन्छ । किनभने, अहिले कमल थापालाई अन्याय भयो भनेर निर्मल निवासतर्फ खनिने भक्तहरूले पनि सोच्नुपर्छ राप्रपा केवल कार्यकर्ताले चल्दैन । कार्यकर्ता भन्दा बाहिरका समर्थकहरू बेगर अस्तित्व जोगाउन कठिन पर्छ । र अहिले नयाँ नेतृत्वप्रति समर्थकहरूले देखाएको उत्साहले भन्दैछ- कमल थापा र राप्रपा एक अर्काको पर्याय होइन । राप्रपाबेगर कमल थापाको अस्तित्व खतरामा छ !