देशको प्रतिनिधि देउवा : देउवाको प्रतिनिधि आरजु !

देशको प्रतिनिधि देउवा : देउवाको प्रतिनिधि आरजु !



प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ देखि छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्दै हुनुहुन्छ र, चौथो दिन २८ गते उहाँको स्वदेश फर्कने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री डा. नारायण खड्का पनि भ्रमणमा जानुहुने भएको छ । यसरी प्रधानमन्त्रीको औपचारिक भ्रमणभन्दा साता दिन अगाडि नै प्रधानमन्त्री देउवाले आफ्नी पत्नी आरजु राणालाई नयाँ दिल्ली पठाउनुभएको थियो । स्वास्थोपचारको निहुँ बनाएर दिल्ली पुगेकी राणाले सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालासँग र चौथाइवालामार्फत अन्य केहीसँग संवाद गरेको जानकारी प्राप्त भएको छ । ज्ञातव्य छ, शेरबहादुर देउवामा आफ्नो लाभका निम्ति जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न तयार रहने चरित्र भए पनि भारतसँग विश्वासको सम्बन्ध बनाउन उहाँले अहिलेसम्म सक्नुभएको छैन ।

बितेका केही वर्षयता भारतलाई ‘न्यूट्रलाइज्ड’ गर्न देउवाले आफ्नी पत्नी आरजुलाई उपयोग गर्दै आउनुभएको छ । र, आरजुले आफ्नो क्षमताको भरपुर उपयोग गर्दै भाजपाको विदेश विभाग प्रमुखसँग निकटतम् सम्बन्ध बनाउने प्रयास गर्दै आएकी छन् । केही महिनाअघि आरजुले चौथाइवालालाई पार्टीमार्फत विशेष निमन्त्रणा गराएर राखी पनि बाँधिदिएकी थिइन् । त्यसबेला सत्तारुढ भाजपाको सहानुभूति प्राप्त गरेर चौधौँ महाधिवेशनमा देउवाका पक्षमा वातावरण बनाउन खोजेको ठानिएको थियो । २०७४ सालमा प्रधानमन्त्री बन्ने समयमा र बनिसकेपछि देउवा र भारतबीचको सम्बन्ध सहज तुल्याउन आरजु खटिएकी थिइन् ।

धेरै वर्षदेखि आरजु राणा पश्चिमा मुलुकको खास सहयोगीका रूपमा चिनिँदै आएकी छिन् । छिमेकी मित्रराष्ट्र भारतले आरजुका बारेमा कुनै जानकारी नै नपाएको भन्ने कुरा आफैंमा हास्यास्पद मान्न सकिन्छ । यसअघि नेपाललाई हिन्दूराष्ट्र बनाउन आफूहरू तत्पर रहेको भनेरसमेत देउवा दम्पत्तिले भारतलाई भुलभुलैयामा राखेको थियो । यसपटक प्रधानमन्त्रीको भ्रमण सफल तुल्याउन भन्दा पनि सत्तारुढ भाजपा र आफ्ना पति प्रधानमन्त्रीको सम्बन्ध प्रगाढ बनाउन आरजु सक्रिय भएको बुझिएको छ । तर उनी आफ्नो मिसनमा कति सफल भइन्, यो भने परिणामले नै बताउने आशा गरिएको छ ।

शेरबहादुर देउवा आरजु राणालाई पार्टीमा आफ्नो उत्तराधिकारीका रूपमा स्थापित गराउन चाहनुहुन्छ र देउवा काङ्ग्रेसमा आरजुबराबर योग्य र क्षमतावान अरु कोही नभएको ठान्नुहुन्छ । त्यसैले पार्टीभित्र मात्र नभइ राज्य सत्तासम्वद्ध कार्यमा पनि आरजुलाई देउवाले सहभागी गराउँदै आउनुभएको छ । गत असारमा देउवा प्रधानमन्त्री चयन भएपछिका तीन महिनाभन्दा बढी समयसम्म डेढ दर्जन बढी मन्त्रालयमा मन्त्रीहरू चयन नहुँदा सबै मन्त्रालयको फाइल हेर्ने, निर्णय लिने र सचिवहरूलाई निर्देशन दिने काम आरजुले नै गर्दै आएकी थिइन् ।