दासत्व स्वीकारेर विदेशी सहयोग नलिइने कांग्रेस महामन्त्री शर्माको प्रष्टोक्ति

दासत्व स्वीकारेर विदेशी सहयोग नलिइने कांग्रेस महामन्त्री शर्माको प्रष्टोक्ति


file photo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन् । बुधबार गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गरेका हुन् ।

‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन’, उनले एमसिसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद भइरहेको सन्दर्भमा भने, ‘कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न सकिँदैन । एमसिसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिनेछ ।’

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्‍याउने गरेकोसमेत चर्चा गरे । विगतमा अरुण तेस्रो जलविद्युत् परियोजनामा विदेशी लगानी अस्वीकार गरिँदा मुलुक विद्युत्भार कटौतीको चपेटाबाट गुज्रिएको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘राष्ट्रवादको मनोविज्ञानले समाजको प्रगतिमा अवरोध सिर्जना गर्दो रहेछ । विसं २०५१ मा अरुण तेस्रो बनाउन दिएको भए २०६१ मा विद्युत्भार कटौती मुर्दावादको नारा लगाउनैपर्ने थिएन ।’

पार्टीभित्रका विभिन्न पदमा मनोनीत गर्ने र विभाग गठनका विषयमा कुनै ढिलासुस्ती नहुने महामन्त्री शर्माको कथन थियो ।