निर्मला हत्याको आशंकामा भारतीय नागरिक पक्राउ, प्रहरीले अपनायो सतर्कता

निर्मला हत्याको आशंकामा भारतीय नागरिक पक्राउ, प्रहरीले अपनायो सतर्कता


  • सनत आचार्य

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको बहुचर्चित मामलाका अभियुक्त भएको आशंकामा २५ वर्षीय भारतीय युवा पक्राउ परेका छन् । पन्तको बलात्कार एवम् विभत्स हत्यामा संलग्न रहेको आशंकामा निकर अली नामक भारतीय नागरिकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

हत्याको समयमा अली महेन्द्रनगरमै रहेको तर घटनालगत्तै उनी भारत प्रवेश गरी उतै रहँदै आएका थिए । स्थानीय बासिन्दाहरुले पनि हत्या भएको दिनदेखि नै अली बेपत्ता भएको हुँदा उनको संलग्नता हुनसक्ने आशंका प्रकट गरेका छन् ।

अलीको गिरफ्तारीका बारेमा प्रहरीको उच्च निकायले कुनै सूचना दिन चाहेको छैन । प्रहरी स्रोत भन्छ, ‘अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिसँग सोधपुछ गर्न सक्ने अधिकार हामीमा निहीत रहेको छ । दोषी पत्ता नलाग्दासम्म हरेक कोणबाट अनुसन्धान जारी रहनेछ ।’

अलीलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ । तर, विगतमा शंकास्पद व्यक्ति भन्दै पक्राउ गरी सार्वजनिक गर्ने अनि अपराध प्रमाणित हुन नसकी प्रहरीको आलोचना हुने गरेका कारण उनको पक्राउ सम्बन्धमा प्रहरी प्रशासनले सूचना बाहिर ल्याउन नचाहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमा चतुर्वेदीका अनुसार शंका लागेका व्यक्तिउपर प्रहरीले सोधपुछ गर्न सक्ने भए पनि अली पक्राउ परेको सम्बन्धमा अहिले नै खुलेर बताउन मिल्दैन ।

सोधपुछका क्रममा अली मात्र नभई सयौँ जनाउपर सोधपुछ गरेको तर अली पक्राउ परेको सम्बन्धमा आफुहरुले केही बताउन नसक्ने प्रहरीको भनाइ छ ।

एसपी चतुर्वेदीले सामुहिक अपराधका घटनाहरुमा दोषी पत्ता लगाउन सजिलो हुने तर कुनै एक व्यक्तिले गरेको अपराध सजिलै पत्ता लगाउन नसकिने र, यसको सुक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने बताउँदै पन्तको हत्यामा अपराधीले प्रविधिको समेत प्रयोग गरेको नदेखिएकोले अन्य भन्दा यो अनुसन्धानले समय बढी लिएको तर्क गरे ।

साथै, उनले प्रहरीले पन्तको हत्याको घटनालाई शुरुदेखि नै हरेक कोणबाट अनुसन्धान गरिरहेको हुँदा अपराधी छिट्टै पत्ता लाग्न सक्ने दाबी गरे ।

एसपी चतुर्बेदी हत्या भएलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट खटिएको टोलीको नेतृत्व गर्दै करिव ३ महिनासम्म घटनास्थलमा बसेर स्थलगत अनुसन्धान गरेका प्रहरी अधिकृत हुन् ।

प्रहरी प्रधान कार्यालयले गत वर्ष उनको जिप्रका कञ्चनपुरमा सरुवा गरेको थियो । निर्मला हत्याकाण्डको अनुसन्धानमा पहिलेदेखि नै खटिएको हुनाले रणनैतिक रुपमा उनको सरुवा भएको प्रहरी वृत्तमा चर्चा चलेको थियो ।

एसपी चतुर्वेदीको कञ्चनपुरको कार्यकाल अबको एक महिनाभित्र सकिँदैछ । सरुवा हुनुपूर्व अलीको पक्राउले निर्मला हत्याकाण्डको दोषी चाँडै पत्ता लाग्ने हो कि भन्ने आशा स्थानीयबासीमा पलाएको छ ।

एसपी चतुर्वेदीले भने समुदायबाट समेत यो घटनाका सम्बन्धमा ठोस सूचना नआएको बताउँदै समय लाग्ला तर दोषी पत्ता लागेरै छाड्ने बताए ।

अलीका बाबुले महेन्द्रनगरनजिकै जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएको र घटनाको समयमा उनी कञ्चनपुरमै रहेको बुझिएको छ ।

पन्तको २०७५ साउन ११ गते कञ्चनपुरस्थित एक उखुबारीमा शव फेला परेको थियो ।