इहलौकिक यायावरको आत्मालाप

इहलौकिक यायावरको आत्मालाप


  • बलराम सिलवाल

बन्दागोभीको जस्ता पत्रहरूलाई जति उधारे नि आम प्रवृत्तिमा सुधार भएको होइन । व्यक्तिसँग होइन, प्रवृतिसितको प्रतिशोध हो । सिंहबहादुर, खुँडाप्रसाद, कमलको फूलको व्यक्तिगत विरोध गर्‍या होइन, प्रवृत्तिको विरोध ! यिनीहरूले संघीय गणतन्त्रात्मक लोकतन्त्रको नाउँ भजाएर आफ्नो सात पुस्ता उद्दार गरे, कार्यकर्तालाई पोसे र मुलुकमा विकृति भित्र्याए । कस्तो घातक प्रवृत्ति ?! बाजारोभ जस्ता खोक्रो आदर्श बोकेका हृदयहीन मनुवाहरू । राणा फाली पञ्च, पञ्च फाली गणतन्त्र ल्याउनुको के लाभ ? मुलुकको अक्षुण्णता/सार्वभौमसत्ता धरापमा पर्दा समेत चूँ नबोल्ने यी कस्ता मनुष्यहरू ? यो व्यवस्थाले नि आलु खाए कुन चैं परिपाटी ल्याउने होला ?

ज्ञानको पछि लाग्या भए संरक्षण हुन्थ्यो होला, सबै विज्ञानको पछि कुँदेका छन् । कतै विनाशकाले विपरित बुद्दिको संकेत त होइन ? रङ्गीचङ्गीमा दुनियाँ भुल्यो, प्रविधिले पठन संस्कृति हरायो । मनुष्य समुदायले विशालकाय परिणाम भुक्तने दिन आउँदैछ । झर्रो अंशियार/वंशियारको अभाव । क्लोन प्रकृयामार्फत् प्रयोगशालाबाट निसृत चेतनाहीन बतासे मनुवाहरू । घुमन्तेले बिग्रेकी आइमाई, सन्काहा, भौंजादि जन्मायो । घोर अनर्थ !

सुन्दर नेपाल हाम्री माता । ताने कुडाकर्कट थुप्रियो, दिनानुदिन प्रदूषित । नारायण पराजयन्मुख । सच्चा देशभक्तको खडेरी । देशद्रोही र अन्धराष्र्टवादी एकै सिक्काको दुई पाटा । युधिष्ठिरहरू पाखामा दुर्योधनहरू काखामा । देवकोटा, रिमाललाई पगलाउने निकृष्ट समाज । एक जुगमा एक दिन एक पल्ट आउँछ कि आउँदैन अब त ?

दलहरूले जनताको दिल टुटाएर, विश्वास खङारे । परिपाटी फेरियो, संस्कार फेरिएन । नयाँ नेपालका टाउकेलाउकेहरू नयाँ बोतलमा पुरानो रक्सी रहेछन् । आसेपासे सप्रिए, जनता जिन्निए । यिनको रैबारो कति कहनु ? मेरा बाजेले हर्पेकाहर्पे घ्यू खाएथे मेरो हात सुँघ सुँघले विरासत थाम्दो छ । अगुवा बाटो हगुवा भएसि पछुवालाई कसले पत्याउने ? गोयबल्सको नयाँ संस्करणहरू नेपालमा ।

अनुशासनहीन शिक्षार्थीहरूको उत्पादन । मेकालेको शिक्षा पद्धति । अङ्ग्रेजी नै परमशक्ति ठान्ने मनोग्रन्थी। होहल्ला/लहैलहैमा दगुर्ने नेपालीको बेहोरा । क्रसको गलपासो । झोलाभरि कमिसने पोस्तक । पालुवामा ज्ञानले किचिएका शिशुजन । शुशुपाल छन् शिशुपालहरू । बाल मानसिकता क्षतविक्षत । पाठशाला पाठशाला जस्तो छैन, विद्यार्थी विद्यार्थी जस्तो छैन । प्रजातान्त्रिकता शून्य । स्नातकोत्तर डिग्री । गिदी भुटीभाङ । आधुनिक हैन, पुरातनपन्थी सोच । तीते करेलाले लाभ गर्दो छ । थेसिस चोरेर विद्यावारिधि गरिन्छ । प्रमाण-पत्र किनेर डाक्टर/शिक्षक/कर्मचारी (सबैलाई मुछेको होइन है ) बनिन्छ । चोरेर ऊत्तीर्ण भएको विद्याहाराले कसरी मिचाहा कुमेकीसित पौँठेजोरी खेल्न सक्छ र ? जहाँ भन्यो त्यहाँ छाप ठोक्छ; स्वाधीनता गुमाउँछ; पराधीनता स्वीकार्छ । बोलीको ठेगान छैन । मुखमा राम राम बगलीमा छुरा । विकृत मानसिकता विकृत सोच । धनले धन कमाउँछ, ऋणले ऋण कमाउँछ – चेतना भया । सर्वत्र कमिसनको जालो । तोरीलाहुरे कमिसनखोर । महीन्द्रले संरासंको सदस्य नबनाइ दिएको हुँदो हो त नेपाल सिक्किम भईसक्थ्यो । राजाको जति बुद्दि नेताको हुन्न । स्वार्थ बाझिंदा मित्रता त टुट्छ भने अन्य सन्दर्भको त के कुरा ? रुसोले ‘मान्छे स्वतन्त्र जन्मिन्छ तर आफूलाई बन्धनमा पाउँछ’ यसै भनेका कहाँ हुन् र ? तत्वबोधी न्यून कोर्काली अत्यधिक ।

प्रतिभा पलायन, युवापुस्ता परदेशमा चलायमान । विप्रेषणमा बाँच्दो छ मुलुक, कुगाउ घट्दो । असल कुरो सिक्नु छैन; कमसल कुरोको अन्धानुकरण । आयोगहरू अनुत्तीर्ण । कन्तबिजोक । कृत्रिम जिन्दगी कृत्रिम चलनचाँजो । बस् कृत्रिमता शिवाय बाँकी के ? केवल औपचारिकता, विघटनको चक्रव्यूह । धार्नीको झोला बोकाउन कुल्ली खोजिन्छ, चौथाई कोस हिँड्नुपरे वाहन बिना पाइतो सर्दैन । परालम्बी सुख, रोगको घर । उँधो मति उँधो गति । युरोपेली महामहिमहरू वातावरण मैत्री वाहन – साइकल चढेर अड्डा अदालत आउजाउ गर्छन् । हाम्रोमा त कनिष्ठ कर्मचारी धरि वातावरण अमैत्री कार चलाएर भन्सार जाने आउने गर्छ । लौन परमेश्वर ! हाम्रो बुद्दिको बिर्को उघार्नुपरो । हाम्रा कानहरू अप्रिय शब्द सुन्न मात्र बनेका हुन् र ? कहिलेकाहीँ त राम्रो कुरो सुन्न पाए नि हुन्थ्यो नि । फलानो प्रधानमन्त्री, ढिस्कानो राष्ट्रपति, तिलानो कर्मचारी अनुकरणीय भन्न कहिले पाइएला र ?

असल कमसलको छिनोफानो अवश्यमेव । पापले पाप बढाउने, धर्मले धर्म बढाउने । शरीरभित्र पचास/पचास प्रतिशत सकारात्मकता र नकारात्मकता बाँचेको हुन्छ । सकारात्मकता एकाउन्न र नकारात्मकता उन्पचास प्रतिशत भएमा सज्जनता प्रभावकारी परन्तु सकारात्मकता उन्पचास र नकारात्मकता एकाउन्न प्रतिशत भएमा दुर्जनता शक्तिशाली । असल व्यक्तिसितको संगत फलदायी, कमसल व्यक्तिसितको संगत दुःखदायी । चुनेर संगत गर्न पाउने भएसि दुर्जनसित संगत किन गर्नुपर्‍यो र ? मान्छे चिन्ने उसको कर्मले हो ।

डरैडरमा जिन्दगी बित्दो छ । छोरोले नपाल्ला कि; साथीको मन दुख्यो कि; नमस्कार नफर्काउँदा हाकिम रिसायो कि इत्यादि तर्कनाहरूले मान्छेलाई केशवराज बनाउँछ । रिकुटे/सुयोगवीर व्याप्त समाज त्रासदीपूर्ण । डरको जिन्दगी के जिन्दगी ? डरशून्य जीवन जीवनमय । कुरा कटुवालाई कुरा काट्न दिंदा हुन्छ । उसको जिन्दगी त अर्थहीन बित्छ । यसले के फरक पर्छ र ? अघि बढ्ने हाम्रो काम, आफ्नो लक्ष्य पहिल्याउने, यावत् थोत्रामोत्रालाई मिल्क्याउनु कल्याण । ६ हजार कलि नबित्दा त यस्तो चाला, चार लाख बत्तीसको अन्त्यमा के पो होला ? जिन्दगी सिलसिलेवार कसको पो छ र ? यो त जीवन बाँच्ने उपक्रममा ज्वारभाटा/आँधीबेहरीसित हुत्तिनुपर्ने बत्तिनुपर्ने । कोही रिसाओस् कि खुसाओस्, सरोकारबाहिरको कुरो । नबिराउनु नडराउनु ।

नेपाल र नेपालीको उन्नति हुन आफ्नो मुलुकको उत्पादन निर्यात गर्ने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने, आयात शून्यान्तरमा खसाल्ने । गोलभेडा धरि विदेशबाट आयात हुने देशमा दिगो विकास कसरी हुन सक्छ र ? दोस्रो महासमरपछिको जापानीले झैं राष्ट्रिय भावना जगाएर काम गर्नुपर्छ । बजार ढुक्ने, नेताको चाकडी गर्ने र फोसा गफमा जिन्दगी बिताउने काम बन्द गर्नुपर्छ । विप्रेषणको लोभमा युवा जमातलाई विदेश नधकेली यहीं नै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । भ्रष्टलाई जिऊजिऊ गर्ने होइन, सामाजिक बहिष्कार गर्नुपर्छ । स्वदेशी नागरिकता त्यागेर विदेशी नागरिकता लिनेलाई बधाई दिने होइन बरू ऊनीहरूलाई विदेशमा सम्पत्ति कमाएर स्वदेश फर्कन प्रोत्साहित गर्नुपर्छ । अमेरिकामा मरे अम्रिकाने, जापानमा मरे मंगोल, अफ्रिकामा मरे हब्सी र अरबमा मरे मुसलमान भएर जन्मिने हो, सनातनी नेपाली भएर जन्मदैन । देश खाएर शेष पल्टेकाहरू नि यहाँ आएसि पुरानै ढर्रा अपनाउँछन् । आफूले सिकेको जानेको देखेको ज्ञान, विद्या, सिप र असल संस्कारादि अरूलाई बाँड्दैनन् । बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै !

बाउसे सकियो । आजलाई मैजारो । अस्तु !