धर्मविशेषलाई प्रवर्द्धन गर्न हिन्दूराष्ट्रको कुरा नगरेको लिङ्देनको प्रष्टोक्ति

धर्मविशेषलाई प्रवर्द्धन गर्न हिन्दूराष्ट्रको कुरा नगरेको लिङ्देनको प्रष्टोक्ति


पैसा कमाउने सबभन्दा सजिलो बाटोका रुपमा दलहरुले राजनीतिलाई विकसित गरेको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कसैलाई राजा बनाउन र कुनै जातविशेषले मानेको धर्मलाई प्रवर्द्धन गर्न मात्र राजसंस्था र हिन्दूराष्ट्रको कुरा नगरेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सभामा अध्यक्ष लिङ्देनले हिन्दूराष्ट्र कुनै जात विशेषले मान्ने धर्मको कुरा मात्र नभइ नेपाली जनताको एकता र पहिचानसँग सम्बन्धित विषय रहेको तर्क गरे । उनले भने, ‘यो विषय नेपालको गौरवसँग सम्बन्धित विषय हो र हामी सबै नेपालीलाई जोड्ने चीज हो ।’

अध्यक्ष लिङदेनले केही पार्टी र राजनीतिक दलहरुले पैसा कमाउने सबभन्दा सजिलो बाटोका रुपमा राजनीतिलाई विकसित गरेको आरोप लगाए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतन्त्र र जनताको सर्वोच्चताप्रति पूर्णरुपले प्रतिबद्ध रहेको दाबी गरे । भ्रष्टाचार गर्दैनौँ भनेर अरू कुनै पार्टीका नेताले आमाको कसम खानै नसक्ने जिकिर गर्दै उनले भने, ‘किनकि, उनीहरू अकुत सम्पत्ति कमाउने उद्देश्य लिएर राजनीति गर्दैछन्, राप्रपा देशको संस्कृति जोगाउन र देशमा विकास गर्न भनेर आएको पार्टी हो ।’

बेलायत, जापान जस्ता विकसित देशमा राजसंस्था हुँदा विकासले फड्को मारेको उल्लेख गर्दै उनले देशलाई सही दिशामा अघि बढाउन र नेतृत्व दिन राजसंस्था अपरिहार्य भएको दाबी गरे ।