सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृहको सर्कुलर

सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृहको सर्कुलर



गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिएका हुन् । गृहमन्त्रालयमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री खाणले यसबारे जानकारी दिएका हुन् ।

गृहमन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौविसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै उनले असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे । राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव दिँदै उनले भने, “नयाँ चुनौती र दायित्व आउन सक्छन्, सामना गर्न कर्मचारी तयार हुनुपर्छ ।”

कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री खाणले अहिले दुई घण्टा लाग्दै आएको कामलाई डेढ घण्टा र ६ घण्टा लाग्दै आएको कामलाई पाँच घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुनेतर्फ ध्यानाकर्षण गराए । उनले मन्त्रालय र मातहतका कार्यालयमा कोही पनि हाकिम कर्मचारी नभइ सबै एकै परिवारका सदस्य रहेको अभिव्यक्ति पनि दिए ।