हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगराएको प्रभु साहको आरोप

हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगराएको प्रभु साहको आरोप


नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् ।

राजविराजस्थित राज रंगशालामा शुक्रबार आयोजित एमालेको नवौँ सप्तरी जिल्ला अधिवेशनका अवसरमा मन्तव्य दिँदै साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध भएको बताए ।

विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाइ छ । एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महिनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्याउनुले गठबन्धन सरकार जनताबाट बहिष्कृत रहेको पुष्टि भएको नेता साहले जिकिर गरे ।

‘पछिल्लो राजनीतिक उतारचढावको नतिजास्वरुप देशका विभिन्न क्षेत्र आज प्रतिनिधिविहीन छ । संविधानले नै एक वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा अनिवार्य रुपमा ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ’, नेता साहले भने- ‘विभिन्न षड्यन्त्रपूर्ण ढंगबाट बनेको परमादेशी गठबन्धन सरकार जनताबाट डराइरहेको छ । चुनाव हारिन्छ कि भन्ने त्रासका बीच यो जनविरोधी सरकारले उपनिर्वाचन गर्न नचाहेर पुष्टि गरेको छ कि वर्तमान सरकार जनताबाट बहिष्कृत सरकार हो ।’