तुलसीपुरमा कारागार सुधार पुस्तकालय पुनःस्थापना

तुलसीपुरमा कारागार सुधार पुस्तकालय पुनःस्थापना


दाङस्थित तुलसीपुर कारागारमा शनिबार एक कार्यक्रमका बीच कारागार सुधार पुस्तकालय पुनःस्थापना गरिएको छ । टिम नेपो नामक एक सामाजिक संस्थाले देशभरिका कारागारहरुका कैदीबन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले कारागार सुधार पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत तिन वर्षदेखि संचालन गर्दैआएको ‘पुस्तक परियोजना’ अभियानअन्तर्गत तुलसीपुर कारागारमा पनि तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा पुस्तकालय पुनःस्थापनाका निम्ति ७४० थान पुस्तक हस्तान्तरण गरिएको हो ।

तुलसीपुर कारागारमा ५२५ कैदीबन्दी छन् जसमध्ये ४ सय ९५ पुरुष, ३० महिला र दुई आश्रित नाबालक छन् । जेलर अमर ओलीका अनुसार एक वर्षअघि शुरु गरिएको पुस्तकालयमा करिब डेढ सय मात्रै पुस्तक उपलब्ध रहेको अवस्थामा यो कार्यक्रमले कैदीको अध्ययनगर्ने इच्छा पूरा हुनुका साथै समाजमा पुनःस्थापना हुनका निम्ति पनि ठुलो सहयोग पुग्ने र अर्कोतर्फ कारागार कानुनी साक्षरताको लागि अर्को महत्वपूर्ण सिकाइस्थलसमेत बन्न पुग्नेछ ।

देशभरिका कारागारहरुमा पुस्तक पुऱ्याउने उद्देश्य बोकेको अभियानलाई विभिन्न ख्यातिप्राप्त साहित्यकार, लेखक, चिकित्सक तथा कलाकारले पनि पुस्तकहरू सहयोग गरेका छन्, लघुकथाका हस्ती डा. रविन्द्र समीर, कर्ण शाक्य, आर. मानन्धर, सुमित्रा गुरुङ, निभा प्रधान, महेन्द्र जोशी, प्रा.डा. कृष्णप्रसाद पौडेल, कलाकार सुरक्षा पन्तलगायत छन् ।‘

कार्यक्रममा बोल्दै टिम नेपोका अध्यक्ष तथा अभियानका संयोजकसमेत रहेका डा. निगम पौडेलले भने, ‘कारागारमा पुस्तकालय निर्माण गर्ने कार्य एउटा सुरुवात मात्र हो, हामी कारागारलाई सुधारकेन्द्र भएको हेर्न चाहन्छौँ। त्यसको लागि पुस्तकले शक्तिशालि भूमिका खेल्न सक्छ । कारागारमा रहेका थुनुवा तथा कैदीबन्दी साथीहरुलाई पढ्ने अवसर दिनु हाम्रो धर्म हो । यो अभियान नेपालका सम्पूर्ण कारागारमा पुराउन जरुरि छ, तसर्थ पुस्तक सहयोगका लागि सबैमा अपिल गर्दछु । हाम्रो अभियान कारागारका लागि मात्रै नभई हामी सम्पूर्णका लागि हो । आजको समयमा पठनसंस्कृतिलाई प्रवर्दन गर्न आवश्यक देखिएको छ । नया पुस्ता प्रविधिको नाममा फोन र ल्यापटपमै ब्यस्त छ, यसरिनै अध्ययनगर्ने वानी बिर्सिदै जाने हो भने हाम्रो भविष्य अन्धकार रहनेमा कुनै शंका छैन ।‘

उक्त अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले भनिन्, ‘जीवनमा जानी-नजानी भुल गर्नुभएको छ भने पनि यही जीवनले सुध्रिन, सही बाटोमा हिँड्न र आफ्नै गल्तिबाट सिक्न थुप्रै अवसर दिन्छ तर अवसरलाई चिनेर उपयोग गर्नुपर्छ । डाक्टरसाबहरुले निकै टाढाबाट हाम्रो ठाउँलाई सम्झेर यो अभियान यहाँसम्म ल्याउनुभएको छ, यो शुभकार्यले एउटा अवसर दिएको छ । यसलाई सदुपयोग गर्न सबैमा अनुरोध गर्दछु । डा. साबहरुको टिमलाई यो उदाहरणी सुरुवातका लागि हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु ।‘

टिम नेपो दाङकी सदस्य कुसुमले संचालन गरेको कार्यक्रम टिम नेपो दाङकै जिल्ला संयोजक इन्दिरा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सूचनाअधिकारी बाबुराम न्यौपाने, कानुन अधिकृत आँचल वाग्ले, आइटी अफिसर सविन केसी, टिम नेपो केन्द्रिय सहसचिब डा. सन्जु कार्की, काठमाडौँकी सहसंयोजक पुजा श्रेष्ठ, सुरक्षाकर्मी, पत्रकार तथा कैदिबन्दीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसअघि अभियानअन्तर्गत अर्घाखाँची, स्याङ्गजा, तनहुँ, चितवन र अछामका कारागारमा पनि पुस्तकालय स्थापना गरिसकिएको टिम नेपोले जानकारी दिएको छ ।