अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका छन् । न्युयोर्क शहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गर्दै आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका जनाएका छन् ।
उक्त घटनामा अरु कैयौँ व्यक्ति घाइते भएका एजेन्सीहरुले जनाएका छन् । प्रारम्भिक समाचारअनुसार त्यस आगलागीमा परेका अरु ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एडम्सले जनाएका छन् ।
१९ तले भवनको एक तल्लामा आगो लागेको थियो, तर घाइतेहरु भने त्यसबाहेकका अरु पनि धेरै तलामा भेटिएका थिए । बताइएअनुसार त्यस भवनको एक तल्लामा आगो लागेपछि अरु तल्लाहरुमा पनि धुँवा भरिएको थियो । सो भवनमा धुवाँमा परेर कैयौँ व्यक्ति निसास्सिएका थिए ।
स्थनीय समाचारमाध्यमहरुले आगलागीबाट न्यूयोर्कमा धेरै वर्षपछि यो ठूलो दुर्घटना भएको बताएका छन् । कतिपय मिडियाले यो आगलागी ३० वर्षयताकै सबैभन्दा खराब दुर्घटना पनि भनेका छन् । न्युयोर्कको ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो ।
आगो लगेपछि सो तल्लाका मानिसको जलेर मृत्यु भएको थियो भने त्यसभन्दा माथिल्लो तल्लाकाहरु धुवाँले निसास्सिएका थिए । अग्नि नियन्त्रकले त्यसको धुँवा सबै तल्लामा फैलिएको पाइएको बताएका छन् । यस आगलागीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तर अधिकारीहरुले करेन्ट सट् भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
आगो निभाउनका लागि करिब दुई सय अग्निनियन्त्रक खटाइएको थियो । अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । तर क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ ।
प्रतिक्रिया