पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गरिने

पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गरिने


१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खो लगाउने कार्यक्रममा सहभागी हुन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गते मंगलबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी गराएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणकोसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ’, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले बिदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन पनि अभिभावकमा अनुरोध गरेको छ ।

बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका-२०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ ।

मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुनेगरी जेट आकारमा बसाईं व्यवस्था गरी सञ्चालन गर्नसमेत सुझाएको छ ।