गणितज्ञ शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती

गणितज्ञ शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती


विश्वबैंक आफ्नो समस्याको समाधानको लागि शंकराचार्य भेट्न पुग्दछन्, नासाका वैज्ञानिकहरू पनि पुज्य गुरुज्युको आशीर्वचन र ज्ञानका लागि पछ्याउँदछन् । रसिया, कोरिया, जर्मनी, जापान, अमेरिकालगायत विश्वका शक्तिशाली कहलिएका राष्ट्रका वैज्ञानिकहरू गुरुज्युको विचार र दर्शनमा खोज-अनुसन्धान गर्दछन् ।

शंकराचार्य स्वामी श्रीनिश्चलानन्द सरस्वतीजी महाराजको संक्षिप्त परिचय

  • प्रभात अधिकारी

वैदिक सनातन वर्णाश्रम हिन्दु धर्मको संरक्षण गर्ने र लुप्त भएको ज्ञान, विज्ञान र दर्शनलाई पुनः प्रतिष्ठित गर्नका लागि आजभन्दा २५०७ वर्ष पहिले भगवान् शंकरको अवतारका रूपमा आदीगुरु शंकराचार्य मानव शरीर लिएर यस धर्तीमा आउनुभयो । आदीगुरु शंकराचार्यज्युले तत्कालिन समयमा धर्म, कर्म र कुलपरम्पराबाट च्युत भएर बाटो बिराएका हिन्दुहरूमा पुनः वैदिक ज्ञान र चेतनाको सञ्चार गरी हिन्दुत्व र वैदिक परम्परामा स्थापित गर्नुभयो । उहाँले आफ्नो छोटो समायावधिमा नै सम्पुर्ण भारतवर्षको भ्रमण गरी घर-घरमा गएर हिन्दुहरूलाई वैदिक जीवनपद्दतिमा पुनर्जीवित गराउनुभयो । नेपालको समेत भ्रमण गरी भगवान् श्री पशुपतिनाथमा रोकिएको पुजा-आराधनालाई सुचारु गराउनुभयो । उहाँले नै हिन्दु धर्मको संरक्षण, प्रवर्द्धन र उत्थानका लागि चार दिशामा चार वेदको लागि चार मठ स्थापना गरेर चार शंकराचार्य नियुक्त गर्नुभयो । उत्तर-पूर्वी दिशामा ऋग्वैदिक पूर्वाम्नाय गोवर्धन मठ पुरीपीठ छ, जहाँ वर्तमान शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराज विराजमान हुनुहुन्छ । उहाँ आदीगुरु शंकराचार्यदेखि १४५औँ शंकराचार्य हुनुहुन्छ ।

शंकराचार्य गुरुज्युले प्रथम चरणमा साढे तीन वर्षभित्रमा नेपाल, भारत र भुटान हिन्दु राज्यको रूपमा स्थापित हुने र द्वित्तीय चरणमा सिङ्गो एसिया नै हिन्दुद्वीपको रूपमा स्थापित हुने घोषणा गर्नुभएको छ । यस महान् अभियानलाई पुर्णता दिन ‘राष्ट्रोत्कर्ष अभियान यात्रा’को रूपमा आदीगुरु शंकराचार्यले झैँ हिन्दुहरूको घर-घरमा गएर हिन्दुहरूलाई जगाइरहनुभएको छ, त्यसैगरी वर्तमान शंकराचार्य पनि भ्रमणमा निस्कनुभएको छ । राष्ट्रोत्कर्ष अभियान यात्राको क्रममा तीन महिनापहिले भैरहवामा आयोजित कार्यक्रममा नेपाल निकट भविष्यमा नै हिन्दु अधिराज्यको रूपमा उद्भाषित हुने बताउनुभएका उहाँले तीन वर्षपहिले काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विश्वमा स्वस्थ क्रान्तिको शुरुवात नेपालबाट हुने घोषणा गर्नुभएको थियो ।

शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराज सम्पुर्ण वैदिक वाङ्गमयका साथसाथै महान् गणितज्ञ एवम् अर्थशास्त्रीसमेत हुनुहुन्छ । गणित, योग, दर्शन, नीतिशास्त्र, व्यवहारिक जीवन, धर्म-अध्यात्मलगायत दर्जनौँ विषयमा २०० भन्दा बढी ग्रन्थ रचना गर्नुभएका स्वामीज्युको गणितका सम्बन्धमा मात्रै दर्जन भन्दा धेरै ग्रन्थहरू छन् । नेपाल र भारतसहित विश्वभरीका लब्धप्रतिष्ठित विद्वान्, वैज्ञानिक, समाजसेवी, राजनीतिज्ञ, वकिल, अर्थशास्त्रीहरू परमपूज्य गुरुज्युको आशीर्वचन, निर्देशन र ज्ञानको लागि भेट्दछन् ।

भारतको अन्तरिक्ष अनुसन्धान संस्थाले गुरुज्युको मार्गदर्शन र वैदिक गणित ज्ञानको लागि गुरुज्यूलाई संस्थामा नै आमन्त्रित गराएर प्रवचन आयोजना गरेका थिए । त्यहाँका वैज्ञानिक तथा खोजकर्ताले अन्तरिक्ष विज्ञान र रकेट प्रक्षेपणमा गुरुज्युसँग मार्गदर्शन लिए । (ISRO-Indian Space Research Organisation) का वैज्ञानिकहरू गुरुज्युको गणित दर्शनको प्रवचन, वैदिक गणित शुत्रहरू तथा गणना पद्धतिबाट लाभान्वित भए । IIMs, IIT, IISc ले पनि गणितीय परामर्शको लागि गुरुज्युसंग परामर्श लिन्छन् । ISRO का डेपुटी डाइरेक्टर एसबी शर्मा भन्छन्, ‘हजारौँ सालपहिले कुनै उपकरण वा सुपर कम्युटरबिना ग्रह-नक्षत्र र तारा आदिको गणना हाम्रा ऋषि-मुनिहरूले गरे जुन आज हामी गर्दैछौँ ।’ वास्तवमै हाम्रो वैदिक गणित तथा ज्योतिष विद्या अत्यन्त सम्पन्न छ । आज पनि हाम्रो गुरु-परम्पराबाट आएका सिद्ध ऋषि, साधु तथा शंकराचार्यहरूद्वारा प्राचिन सनातन गणित विज्ञान पद्धति सुलभ छ, जसबाट लाभान्वित हुनको लागि विश्व नै लालायित छ ।

विश्वबैंक आफ्नो समस्याको समाधानको लागि शंकराचार्य भेट्न पुग्दछन्, नासाका वैज्ञानिकहरू पनि पुज्य गुरुज्युको आशीर्वचन र ज्ञानका लागि पछ्याउँदछन् । रसिया, कोरिया, जर्मनी, जापान, अमेरिकालगायत विश्वका शक्तिशाली कहलिएका राष्ट्रका वैज्ञानिकहरू गुरुज्युको विचार र दर्शनमा खोज-अनुसन्धान गर्दछन् । स्मरण रहोस्, गोवद्र्धन मठका १४३औँ शंकराचार्य भारती कृष्ण तीर्थ महाराजले सन् १९५८ फेब्रुअरीमा तीनमहिने लामो अमेरिका र बेलायतको यात्रा गरी वैदिक गणित दर्शनको बारेमा पढाउनुभएको थियो । पुज्य स्वामीज्युलाई लस एन्जल्स र क्यालिफोर्नियाका विभिन्न विश्वविद्यालयहरूमा वैदिक गणितका बारेमा प्रवचनका लागि आमन्त्रित गरिएको थियो ।

गोवद्र्धन मठ पुरीसँग नेपालको विशेष सम्बन्ध छ । त्यहाँको जगन्नाथ मन्दिरमा नेपालका राजालाई पुजा गर्न पाउने विशेष अधिकार छ । नेपालका राजा ज्ञानेन्द्र शाहले तीन वर्षपहिले जगन्नाथ मन्दिरको भ्रमण गरी पुज्य स्वामी शंकराचार्य स्वामीसँगै पुजा-अर्चना गर्नुभएको थियो । त्यहाँको मन्दिरमा नेपालका राजा र त्यहाँका शंकराचार्यलाई पुजा गर्न पाउने विशेष अधिकार छ । उडिसामा हुने एक विशेष जात्रामा त्यहाँको राजाले भगवान् जगन्नाथको रथ धकेल्छन् भने नेपालका राजा र शंकराचार्य रथयात्राको अवलोकन गर्दछन् । जुन अधिकार उडिसाको राजालाई छैन त्यो अधिकार नेपालका नरेशलाई हुनु नेपालको लागि गर्वको कुरा हो । नेपालमा संवैधानिक रूपले राजसंस्थाको विस्थापन भए पनि त्यहाँका शंकराचार्य, राजा, जगन्नाथ मन्दिर समिति, सरकार र उडिसाका जनताले नेपालका राजा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा निमन्त्रणा दिन्छन् । नेपालमा राजसंस्थाको विस्थापन हुँदा शंकराचार्यसहित हजारौँ धार्मिक आध्यात्मिक साधु-सन्त र शंकराचार्यसहित उडिसावासिले मौन जुलुस गरेका थिए । हालका शंकराचार्य श्री निश्चलानन्द सरस्वतीको जन्म मिथिला क्षेत्रमा भएकोले पनि नेपालसँग विशेष सम्बन्ध र महत्व उत्तिकै छ ।

।। जय श्री जगन्नाथ जय श्री पशुपतिनाथ ।।