तत्कालिन समयमा यस वैदिक भूमिको धार्मिक सांस्कृतिक पहिचान मेट्न लागिपरेका फिरिंगी (इसाई) मिसनरीहरु जो पृथ्वीनारायणले देश निकाला गरे उनीहरुकै चित्कार यतिबेला कम्युनिष्ट र कांग्रेसहरुको मुखबाट अभिव्यक्त हुँदै छ। अधिकारको नाममा अस्तिरता र पृथकतावादलाई मलजल गर्न खोज्नेहरु पृथ्वीनारायणको आरिस गर्दछन् । नेपालको स्वतन्त्र स्वाभिमानी अस्तित्वमाथि प्रश्न गर्दछन् ।
- प्रभात अधिकारी

कहिल्यै घाम नअस्ताउने मुलुकको रुपमा परिचित बेलायतले विश्वको आधा हिस्सालाई आफ्नो उपनिवेश बनाउन सफल भएको थियो । वैदिक भूमिको रुपमा परिचित भारतवर्ष पनि अंग्रेजको उपनिवेशबाट अछुतो रहन सकेन । वर्तमानको अफगानिस्तानदेखि म्यानमारसम्मका सयौँ राज्यहरूले आफ्नो राज्यको अस्मिता अधर्मी अङ्ग्रेजहरुबाट जोगाउन सकेनन् । यस अर्थमा पृथ्वीनारायण शाह नेपाल मात्रको राष्ट्रनिर्माता नभएर भारतवर्ष (द. एसिया)कै एक स्वाभिमानी शासक हुन् जसले आफ्नो राज्यको स्वतन्त्र अस्तित्व कायम गराउन सफल भए ।
नेपालका पृथ्वीनारायण समग्र द. एसियाली मुलुकको लागि स्वाभिमान र गौरवको प्रतिक हुन् तर नेपालभित्रैबाट उनको अवमुल्यन भएपछि हाम्रा छिमेकीहरूले उनको महत्व बुझ्ने र प्रवर्द्धन गर्ने कुरै भएन । तथापि, पछिल्लो समय भारतीयहरूले पृथ्वीनारायण शाहलाई बुझ्ने प्रयास गरेको आभास हुन्छ । हालै दिल्लीमा पूर्ण कदसहितको शालिकसमेत निर्माण गरिएको छ । हामीले हाम्रो गौरवको गाथालाई अवमुल्यन गरेपछि विदेशीले उचित मुल्यांकन गरिदिने सम्भावना नै भएन । आज हामी स्वतन्त्रताको सेनानी भनेर अब्राहम लिंकन, नेल्सन मण्डेला आदिको बारेमा पढिरहेका छौँ तर विश्वको एक मात्र शासक जसले कहिल्यै सुर्य नअस्ताउने अंग्रेजलाई हाँक दिएर आफ्नो मुलुकको स्वतन्त्र अस्तित्व जोगाउन सक्नु कुनै सानो कुरा होइन । त्यसैले तिनै अंग्रेजका नवउत्तराधिकारीका रुपमा उभिएका हाम्रा वर्तमानका शासकहरुले पृथ्वीनारायण शाहलाई देखिसहँदैनन् ।
पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई गोर्खा राज्यको विस्तार, नेपाल एकीकरण गर्ने चेत थिएन, केवल भौतिक (भौगोलिक) एकीकरण मात्र थियो र नेपाल एकीकरण अभियान नै अपराध थियो जस्ता गलत व्याख्या गर्ने कम्युनिष्ट, कांग्रेस, अधिकारवादी, यान्ता र कर्मीहरूको कमी छैन । यो २०० वर्षअगाडि नेपालसँग पराजित अंग्रेजको चित्कार बाहेक केही होइन भनेर बुझ्न सकिन्छ ।
केही बाध्यता र केही अप्ठ्यारा परिस्थितिका कारण नेपाल एकीकरण अभियान पूर्ण हुन सकेन । हामीले एक हदसम्म घुँडा टेकेकै हो, पूर्ण विजयी अवश्य भएका होइनौँ तर उपनिवेशिक राज्य बन्नबाट जोगाएका हौँ । नेपाल एकीकरण अभियान एक चौथाई मात्र सम्पन्न हुन सक्यो । हाम्रो प्राचिन हिमवत्खण्डको रुपमा काश्मिरदेखि आसाम र कैलाशदेखि गंगासम्म एकीकरण भएको भए त्यो पूर्ण एकीकरण हुने थियो । महाराजा पृथ्वीनारायणले शुरुवात गर्नुभयो, उनका उत्तराधिकारीले अभियानको नेतृत्व गरे, जनताले साथ दिए, अभियान केही अगाडि बढ्यो तर अंग्रेजको बाधा/अडचनका कारण अभियान यात्रा रोकियो । हामीले हिम्मत गर्न सक्नुपर्थ्यो, सिंगो हिमवत्खण्ड पुनः एकीकरण गर्ने नसके सुगौली सन्धिमा गुमेको भूभाग कुटनैतिक प्रयासद्वारा फिर्ता गर्ने तर यहाँ भएको अहिलेको नेपाललाई नै अनेकौँ स्वतन्त्र अस्तित्व मासेको भनेर अनर्गल प्रचार गर्दै छन्।
विभिन्न कालखण्डमा यो भूखण्ड टुक्रँदै जोडिँदै कहिले विशाल राज्य कहिले स-साना राज्यको रुपमा निरन्तर हुने क्रम निरन्तर चलिरह्यो । आज ज-जसले पृथ्वीनारायणले आफ्नो राज्यलाई जबर्जस्ती गोरखा राज्य वा नेपालमा गाभे भनेर अफवाह फैलाइरहेका छन्, तिनको भनिएका राज्यहरू अधिकांशको इतिहास २ सय वर्ष पनि छैन । सग्लो नेपाल देख्न नचाहने अंग्रेज म्लेच्छका अब्राहमिक योजनाअनुसार यस भूमिमाथि लुट मच्चाउन र यस भूमिमा आफ्नो स्थान सुरक्षित गर्न अस्थिरताको खेती गर्न खोजिएको हो भन्नेमा दुई मत छैन। पृथ्वीनारायण र संग्लो नेपालविरुद्धको गतिविधि फुटाउ र राज गरको नीतिअनुरुप नै कृत्रिम मुद्धा घुसाएर नेपालको राष्ट्रियता कमजोर गराउन गरिएको हत्कण्डाको एक अध्याय हो ।
तत्कालिन समयमा यस वैदिक भूमिको धार्मिक सांस्कृतिक पहिचान मेट्न लागिपरेका फिरिंगी (इसाई) मिसनरीहरु जो पृथ्वीनारायणले देश निकाला गरे उनीहरुकै चित्कार यतिबेला कम्युनिष्ट र कांग्रेसहरुको मुखबाट अभिव्यक्त हुँदै छ। पृथ्वीनारायणलाई शत्रु ठान्नेहरू अंग्रेज इसाई मिसनरीका नव खेतालाहरु हुन् । अधिकारको नाममा अस्तिरता र पृथकतावादलाई मलजल गर्न खोज्नेहरु पृथ्वीनारायणको आरिस गर्दछन् । नेपालको स्वतन्त्र स्वाभिमानी अस्तित्वमाथि प्रश्न गर्दछन् । तर म्लेच्छ फिरिंगीका अब्राहमिक दूतहरूले जतिसुकै पृथ्वीजयन्ती र नेपाल एकीकरण अभियानलाई अवमुल्यन र उपेक्षा गरेपनि देशभक्त नेपाली जनताले कदापि गर्ने छैनन् । पृथ्वीजयन्तीका दिन राष्ट्रिय दिवसको रुपमा हटाएर सार्वजनिक विदा रोकेपछि नेपाली जनताले घर-घरमा यस दिनलाई उत्सवका रुपमा मनाउन थालेका छन् । नेपाली जनताले यस दिनको महत्व धेरै बुझ्न थालेका छन् ।
माओ, मार्क्स र गान्धी आदिको तस्बिरमा माल्यार्पण गर्ने तथा तिनको जन्मदिन मनाउनेहरूले पृथ्वीनारायणलाई सम्मान गर्न नसक्नु स्वाभाविक हो । तिनीहरूलाई अवगत होस्, पछिल्लो समय महात्मा गान्धीलाई भारतमा विखण्डनको कारण मानिन्छ भने चीनका माओले नेपाललाई तिब्बतको पाँचऔंले नीतिअन्तर्गत परिभाषित गर्दै नेपालको स्वतन्त्र अस्तित्वमाथि प्रश्न गरेका थिए । त्यसैले गान्धी र माओको जयन्ती मनाउनेहरु विखण्डनवादी र स्वन्तन्त्र नेपालको अस्तिव हेर्न नचाहने देशद्रोही गद्दारबाहेक केही होइनन् भन्दा अत्युक्ति सायदै ठहरिएला।
प्रतिक्रिया