विश्व हिन्दी दिवसमा हास्य कविहरूको प्रस्तुति

विश्व हिन्दी दिवसमा हास्य कविहरूको प्रस्तुति



विश्व हिन्दी दिवस (१० जनवरी) को अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले ‘हिन्दी दिवस विशेष समारोह’ आयोजना गरी मनाएको छ । होटल ऱ्याडिसनमा आयोजित कार्यक्रमलाई मूलतः हास्य कवि सम्मेलनको स्वरुप प्रदान गरिएको थियो ।

दूतावासका प्रेस, सूचना एवम् संस्कृति विभागका प्रमुख नवीन कुमारको अध्यक्षतामा आयोजित कार्यक्रममा वहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हिन्दी दिवसका अवसरमा दिनुभएको सन्देश पढेर सुनाउनुभयो भने भारतका विदेश राज्यमन्त्री श्रीमती मीनाक्षी लेखीले दिनुभएको सन्देश तथा शुभकामना भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा हिन्दी भाषाका वरिष्ठ नेपाली साहित्यकार रामदयाल राकेश मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा.डा. उषा ठाकुर विशिष्ट अतिथि रहनुभएको थियो । विशेषगरी हास्य कवि सम्मेलनको स्वरुप प्रदान गरिएको सो सम्मेलनमा भारतबाट आउनुभएका तीन प्रख्यात कवि सुदीप भोला, विनीत पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गर्नुभयो ।

कार्यक्रममा काठमाडौंस्थित विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरे जसका लागि उनीहरूलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरू’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार करुणा झाको कविता सङ्ग्रहको विमोचन पनि मुख्य अतिथिबाट गरिएको थियो भने हिन्दी पत्रिका ‘हिमालिनी’को नयाँ अङ्क अतिथिहरूलाई वितरण गरिएको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरूले सुमधुर समूह-गीत प्रस्तुत गरेका थिए । आफ्नो मन्तव्यका क्रममा मुख्य अतिथि राकेशले भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको सदियौँदेखि अहम् भूमिका रहेको बताउनुभयो ।

ज्ञातव्य छ, सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरूमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरूमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ ।