पहिलोपटक हट्यो ‘पूर्व’, बाह्रवर्षपछि पृथ्वीलाई राजाबाट माल्यार्पण

पहिलोपटक हट्यो ‘पूर्व’, बाह्रवर्षपछि पृथ्वीलाई राजाबाट माल्यार्पण



गणतन्त्र घोषणाको बाह्र वर्ष पूरा भएपछि राजा ज्ञानेन्द्रले जारी गर्नुभएको सार्वजनिक विज्ञप्तिमा पहिलो पटक ‘पूर्व’ हटाएर श्री ५ महाराजाधिराज सम्बोधन गरिएको छ । पौष २७ गते ३००औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राजा ज्ञानेन्द्रले गत सोमबार (पौष २६ गते) एक वक्तब्य जारी गर्दै ‘राष्ट्रको कीर्ति र जनताको खुशीबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य नहुने’ बताउनुभएको छ ।

वक्तव्यमा उहाँले भन्नुभएको छ– ‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र जेसुकै चयन गरियुन, त्यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक सावित हुनेछ । प्रणाली केवल साधन हुन्, साधन परिवर्तनलाई नै महान् उपलब्धिका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन् । सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती भोग्नुपर्छ र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्र अभ्यासको ब्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्शमा पुग्न बिलम्ब गरिनु हुन्न ।’

उहाँले बडामहाराजाधिराजका दिब्य उपदेशहरू अझै सान्दर्भिक भएको स्पष्ट गर्दै भन्नुभएको छ- ‘राष्ट्रियताका आधारहरूमाथि प्रहार भइ देशको अस्तित्वसमेत सङ्कटमा पारिएको यस स्थितिमा एकताको महत्व र बडामहाराजाधिराजका योगदान एवम् दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसूस हामीले गरेका छौँ ।’

पौष २७ गते मंगलबार राजा ज्ञानेन्द्र गणतन्त्र घोषणापछि पहिलो पटक सिंहदरबार पुगी मूलढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभयो । ३००औँ जन्मजयन्ती परेकाले राजा स्वयम् बडामहाराजधिराजको शालिकमा माल्यार्पण गर्न पुग्नुभएको बुझिएको छ ।