विद्या भण्डारी कालु पाण्डेकै बङ्शज
राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कारणले स्मरणीय बन्न पुगेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार र सत्तारुढ गठबन्धन दलहरूले पृथ्वीनारायण शाहप्रति सम्मान दर्शाउने कुनै कार्य नगरेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूल ढोकाअगाडि बडामहाराजाधिराजको शालिकमा माल्यार्पण गर्नुभयो । जबकि डा. रामवरण यादव सात वर्षसम्म राष्ट्रपति पदमा रहँदा राष्ट्र निर्मातालाई सम्झने कष्ट गरेका थिएनन् । जसले निर्माण गरेको मुलुकमा राष्ट्रपति बनेको हो, तिनैप्रति वैरभाव राख्दै रामवरणले आफ्नो कार्यकाल बिताएका थिए । तर विद्यादेवी भण्डारीले पटक-पटक पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको र, यसपटक राष्ट्रिय एकता दिवसमा पनि उहाँले राष्ट्रनिर्माताप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता दिवसको अवसरमा वीर काजी कालुपाण्डेप्रति पनि विशेष सम्मान जाहेर गर्नुभएको छ । बडामहाराजाधिराजको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम सकेर राष्ट्रपति भण्डारी दहचोक पुग्नुभयो र, त्यहाँस्थित कालुपाण्डेको समाधिस्थलमा हार्दिक श्रद्धाञ्जलीसहित सम्मान प्रकट गर्नुभयो ।
राज्य एकीकरणका क्रममा कीर्तिपुर क्षेत्रमा भएको भीडन्तमा काजी कालु पाण्डेले वीरगति प्राप्त गर्नुभएको थियो । वीरगति प्राप्त कालुपाण्डेलाई दहचोक डाँडाको गोर्खा देखिने स्थानमा समाधिस्थ गरिएको थियो । नेपाल एकीकरणमा पृथ्वीनारायण शाहका सारथी मानिने कालु पाण्डेकै बङ्शज राष्ट्रपति विद्या भण्डारी हुनुहुन्छ भन्ने जानकारी आमनेपालीलाई अहिलेसम्म हुन सकेको छैन ।
वास्तवमा राष्ट्रपति विद्यादेवीको जन्म भोजपुरको पाण्डे परिवारमा भएको थियो । उहाँका पूर्वज दामोदर पाण्डेलगायतलाई भीमसेन थापाले हत्या गरेपछि काठमाडौंबाट पाण्डेहरूको भागाभाग भएको र त्यस क्रममा राष्ट्रपति भण्डारीका पूर्वज भागेर लुक्दै भोजपुर पुगेका र, उनी गोत्रसमेत लुकाएर उतै बसोबास गरेका थिए । सोही पाण्डे परिवारमा जन्मनुभएकी विद्या २०५० सालसम्म विद्या पाण्डेकै रूपमा चिनिनुहुन्थ्यो । पति मदन भण्डारीको अकल्पनीय देहावसानपश्चात उहाँलाई आम नेपालीले विद्या भण्डारीको रूपमा सम्बोधन गर्दै आएका छन् ।
प्रतिक्रिया