लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सन्दर्भमा कतिपयले पश्चिमा संस्कृति यसरी फैलियो कि जताततै यिनीहरू छ्याप्छ्याप्ती हुन थाले भन्ने गर्छन् । तर पश्चिमाले मान्ने धर्मग्रन्थमा एलजीबीटीआइक्यूको परिकल्पना गरिएको छैन । हिन्दु धर्मले यो समूदायलाई ‘तेश्रो प्रकृति’ मानेको छ ।
- बबिता बस्नेत

राम १४ वर्ष वनबास जान लागेको खबर फैलिएपछि अयोध्याबासीहरूले दुःखी भएर रुँदै-कराउँदै राम, सीता र लक्ष्मणलाई वनबास जानबाट रोक्ने प्रयास गरे । रामले तपाईंहरू हाम्रो बाटो नरोक्नुस्, आ-आफ्नो घर फर्कनुस् भनी अनुरोध गरे पनि उनीहरू फर्किएनन् । राम, सीता, लक्ष्मण अघि-अघि नागरिकहरू पछि-पछि हिँडिरहे । हिँड्दै जाँदा गंगानदीमा पुगेपछि रामले अयोध्याबासी जनतालाई विशेष अनुरोध गर्दै भने- ‘यो नदी तर्ने कोशिस नगर्नुस् । तपाईं सबै नरनारीहरूलाई मेरो अनुरोध छ, तपाईंहरू घर फर्किनुस् । सबै नरनारीहरू (त्यतिबेला महिला-पुरुषलाई नर-नारी भन्ने चलन थियो) कृपया हामीलाई जान दिनुस्, तपाईंहरू फर्कनुस् ।’
आफूलाई त्यति धेरै माया गर्ने जनतालाई फर्कन आग्रह गर्दै राम वनबास गए । १४ वर्षपछि जब राम, लक्ष्मण र सीता सोही बाटो भएर अयोध्या फर्किए गंगानदीको किनारमा केही मानिसहरू थिए, उनीहरूलाई देखेर रामले उनीहरू त्यहाँ के गरिरहेका छन् भनी सोधे । जवाफमा ती मानिसहरूले भने- हजुर वनबास जाँदा हामी हजुरसँगै यहाँसम्म आएका थियौँ । हजुरले सबै नर-नारीहरू घर जाओ भन्नुभयो तर हामी न नर हौँ न त नारी, त्यसैले हजुरको आज्ञा नपाएकाले १४ वर्षदेखि यही नदी किनारमा हजुरलाई पर्खिएर बसिरहेका छौँ । उनीहरूलाई सम्बोधन नगरेकोमा रामलाई ठुलो पश्चाताप हुन्छ । र, फर्कंदा सँगै लिएर अयोध्या फर्कन्छन् । रामायणमा लैंगिक तथा यौनिक अल्पसङ्ख्यकहरूको बारेमा यसरी उल्लेख गरिएको छ ।
पुराण कथामा गीत, संगीत र नृत्य गर्ने प्रतिभाका रूपमा महिलालाई अप्सरा, पुरुषलाई गन्धर्व र अन्य लिङ्गीलाई किन्नर भनिएको छ । संस्कृत शब्द ‘किन्नर’ले एलजीबीटीआइक्यूको प्रतिनिधित्व गर्छ । एउटै मान्छे महिला र पुरुषको भूमिकामा रहने पात्रहरू पनि हिन्दु धर्मशास्त्रमा धेरै छन् । सदियौँअघि निर्मित मन्दिरहरूमा महिला-पुरुष सम्बन्धका टुँडालहरू त छन् नै, कतिपय मन्दिरमा पुरुष-पुरुष, महिला-महिला समलिङ्गी साथका टुँडालहरू पनि कोरिएका पाइन्छन् । ती टुँडालहरूले मानव जीवन र तिनका सम्बन्धमा भएको विविधतालाई झल्काउँछ ।
महाभारतमा महिला-पुरुष बाहेक अन्य लिङ्गीको भूमिका पनि महत्वपूर्ण रूपमा परिकल्पना गरिएको छ । सिखण्डीदेखि वृहन्नल्ला हुँदै इराभानसम्म महाभारतका महत्वपूर्ण तेश्रोलिङ्गी पात्र हुन् । अहिलेको भाषामा सिखण्डी ‘ट्रान्स जेण्डर’ हुन्, जो पाञ्चालका राजा द्रौपद र महारानी प्रिसतीकी छोरी सन्तानका रूपमा जन्मिएका थिए, पछि छोराको रूपमा रुपान्तरण भए । यिनै सिखण्डीको हातबाट भीष्म पितामहरूले मृत्युवरण गरे । अर्जुन र उलुपीका छोरा इराभान तेश्रोलिङ्गी थिए । महाभारत युद्धको १८औँ दिनमा उनी मारिए । आफ्नो मृत्युअघि उनले जिन्दगीको अन्तिम इच्छाका रूपमा विवाह गर्ने इच्छा रहेको बताएका थिए । इराभानका नाममा अहिले पनि भारतको तमिल नाडुमा अप्रिल-मे महिनामा १८ दिन उत्सव मनाइन्छ । अर्जुन स्वयम्ले बृहन्नल्लाका नामले तेश्रो लिङ्गीको रूपमा एक वर्ष बिताएका थिए । मानव समुदायको इतिहासमा महिला-पुरुषबाहेक अन्य लिङ्गीको अस्तित्वलाई हिन्दु धर्म-संस्कृतिले स्वीकार मात्र गरेको छैन महत्वपूर्ण हिस्सा मानेको छ ।
..जवाफमा ती मानिसहरूले भने- हजुर वनबास जाँदा हामी हजुरसँगै यहाँसम्म आएका थियौँ । हजुरले सबै नर-नारीहरू घर जाओ भन्नुभयो तर हामी न नर हौँ न त नारी, त्यसैले हजुरको आज्ञा नपाएकाले १४ वर्षदेखि यही नदी किनारमा हजुरलाई पर्खिएर बसिरहेका छौँ ।
एलजीबीटीआइक्यू (लेस्वियन, गे, बाइसेक्सुअल, ट्रान्स जेण्डर, इन्टरसेक्स, क्वेर) अर्थात लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सन्दर्भमा कतिपयले पश्चिमा संस्कृति यसरी फैलियो कि जताततै यिनीहरू छ्याप्छ्याप्ती हुन थाले भन्ने गर्छन् । तर पश्चिमाले मान्ने धर्मग्रन्थमा एलजीबीटीआइक्यूको परिकल्पना गरिएको छैन । हिन्दु धर्मले यो समूदायलाई ‘तेश्रो प्रकृति’ मानेको छ । तेश्रो प्रकृतिको कुरा अन्य कुनै पनि धर्म र धर्मशास्त्रहरूमा उल्लेख छ जस्तो लाग्दैन । हिन्दु धर्मले महिला, पुरुष र तेश्रो प्रकृति भनेको छ । यसको अर्थ उनीहरू महिला पुरुषजस्तै प्राकृतिक हुन् भनिएको हो ।
भारतमा तेश्रो प्रकृतिको रूपमा यो समूदायलाई समाजले पहिचान दिइरहेका बेला बृटिसहरूले शासन गर्न थालेपछि कानून बनाएर निषेध गरियो । क्रिश्चियन धर्ममा तेश्रो लिङ्गीलाई वर्जित गरिएकाले भारतीय दण्डसंहिताको धारा ३७७ मा यो समूदायलाई अप्राकृतिक घोषणा गर्दै समलिङ्गी सम्बन्ध भएमा आजिवन काराबासको ब्यवस्था गरिएको थियो । भारतको कानूनमा सेक्सन ३७७ निकै चर्चित छ । बृटिशले भारत छोडेको बर्षौंपछि यसलाई संशोधन गरी सन २०१८ बाट एलजीबीटीआइक्यू समूदायलाई कानूनी अधिकार प्रदान गरिएको छ । सन् २०१८ अघि पनि यो कानूनमा विभिन्न चरणमा संशोधन गरिएको थियो । एलजीबीटीआईक्यू कुनै पनि जात, धर्म, समूदायमा हुन सक्छन् । यो धर्म, जात, देशलगायतको कुरा नभइ मानव समूदायको कुरा हो । कसले कसरी लिने ? सम्मानित जीवनयापन गर्न पाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने भन्ने विषय मात्रै हो । हिन्दु धर्म मात्र नभइ जीवनपद्धति भएका कारण हिन्दु धर्मशास्त्रहरूमा मानवजीवनका सबै पहलुहरूलाई समेटिएको छ ।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई कानूनी अधिकारको सुनिश्चितता भए पनि यो अधिकार पूर्ण भने छैन । विसं २०६४ मा वैवाहिक अधिकार प्राप्त गरे पनि दर्ता गर्ने अधिकार दिइएको छैन । विवाह दर्ता नहुँदा सम्पत्तिदेखि सन्तान अपनाउने कुरासम्ममा समस्या छ । आफ्नै विवाह दर्ता नभएपछि आफूले अपनाउन चाहेको सन्तानको दर्ता कसरी गर्ने ? कानूनी उल्झनका कारण यो समूदायमा सम्बन्ध पनि स्थिर हुन सकेको देखिँदैन । अस्थिर सम्बन्धका कारण युवाहरूमा फ्रष्ट्रेशन बढ्दो छ । घर परिवारले वास्तविकतालाई स्वीकार गर्न नसक्दा कतिले ज्यान गुमाएका छन् । यो समूदायमा आत्महत्या बढ्दै गएको छ ।
ब्यवहार र बोलीचालीमा पनि हामीले यो समूदायलाई न्याय गर्न सकेका छैनौँ । कतिपय नेताहरूले सार्वजनिक रूपमै नपुङ्शक, हिँजडा जस्ता शब्दहरू अहिले पनि प्रयोग गर्ने गरेका छन् । यस्ता शब्दहरूको प्रयोग गर्नु एलजीबीटीआई समूदायको अपमान गर्नु हो । यो समूदाय न पश्चिमा हो न त अप्राकृतिक । अहिले सङ्ख्या बढे जस्तो देखिए पनि यो सङ्ख्या पहिल्यैदेखि समाजमा थियो, सार्वजनिक हुन सकेको थिएन । अहिले खुल्ला रूपमा बाहिर आएकाले धेरै जस्तो लागेको मात्रै हो ।
हाम्रा पारम्परिक संस्कारमा मारुनी नाचको चलन थियो । बिस्तारै-बिस्तारै अहिले मारुनी संस्कार लोप हुँदैछ । मारुनी नाच्दा महिला पुरुष बनेर पुरुष महिला बनेर नाच्ने गरिन्थ्यो । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू खुलेर समाजमा आउन नसक्दा, आफूले चाहेका पोशाक लाउन नसक्दा र श्रृङ्गार गर्न नपाउँदा मारुनीका रूपमा आफ्ना दमित इच्छा-आकाङ्क्षाहरू पूरा गर्ने गर्थे । यो समूदायभित्र पनि विविधता छ । उक्त विविधतालाई कतिले अहिले अनेक आयो, एउटै मान्छे के-के भयो भयो भन्ने गरे पनि यस्तो विविधताका बारेमा हिन्दु धर्म-संस्कृतिमा कुनै अन्योल छैन, स्पष्टता र सम्मानित स्थान छ ।
प्रतिक्रिया