राष्ट्रिय एकता दिवस र धुन्धुकारी शासन !

राष्ट्रिय एकता दिवस र धुन्धुकारी शासन !


photo rss

देशै नरहे हाम्रो अस्तित्व हुँदैन, हामी नेपाली हुने थिएनौँ भन्ने तथ्यप्रति आँखा चिम्लिँदै पृथ्वीनारायणप्रति गरिने पूर्वाग्रही व्यवहार मुलुककै विखण्डन र विघटनसम्मको सोच पाल्ने धुन्धुकारीहरूले मात्र गर्न सक्दछन्, यसप्रति तमाम देशभक्त नेपाली सचेत र चनाखो रहनु आजको आवश्यकता हो ।


राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तीन सयौँ जन्मजयन्तिको अवसरमा सार्वजनिक बिदा घोषणा गरी नेपाल सरकारले राष्ट्रिय एकता दिवसलाई भब्यताका साथ मनाउने आशा-अपेक्षा गरिएको थियो । तर, चौतर्फी उठेको यो मागका बाबजुद अत्यन्त सम्वेदनशील यस मामलाप्रति सरकार फेरि पनि उदासिन रह्यो । नेपाल राष्ट्र निर्माणको गौरवशाली दिवसका रूपमा पृथ्वीनारायण शाहको जन्मजयन्ति मनाउने र सार्वजनिक बिदा घोषणा गरी यस दिनको महत्व दर्शाउने सत्कर्म गर्नबाट नेपाल सरकार चुक्न पुग्यो । अर्थात्, मुलुकनिर्माताका प्रति निर्मम वनेर सरकारले आफ्नो गैरराष्ट्रवादी चरित्र उजागर गरिदियो ।

एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो, यसलाई पृथ्वीनारायण शाहका आलोचक या विरोधिले पनि नकार्न सक्दैनन्, नकार्न मिल्दैन । यदि नेपाल राष्ट्रको निर्माण सत्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने कुरा पनि त्यत्तिकै तथ्य र सत्य हो । यसरी घामजत्तिकै छर्लङ्ग रहेको ऐतिहासिक तथ्यलाई ०६३ को कथित लोकतान्त्रिक आन्दोलनपछिको सरकारले नजरअन्दाज गर्दै राष्ट्रनिर्माताको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने तथा उक्त दिन सार्वजनिक बिदा दिने गरिएको परम्परालाई तोडिदियो । त्यसअगाडिका सरकारले यस पुनित दिनको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

राजनीतिक परिवर्तनसँगै उक्त प्रचलनको यसरी अन्त्य गरिएको थियो भने विभिन्न जाति र समुदायले सजिएको मुलुकका केही स्थानमा राष्ट्रनिर्माताका योगदानलाई सङ्कुचित पार्न एकीकरणको औचित्यमाथि नै प्रश्न उठाउने, राष्ट्रनिर्माताको शालिक भत्काउने र, कतिपय अतिवादीहरूले त उनको तस्बिरमा थुक्नेसम्मका जघन्य अपराध गर्दै आए । नेपाल र नेपालीको नाम र पहिचान दिने राष्ट्रनिर्माताको स्मृतिमा ‘पृथ्वीजयन्ती’का दिन राष्ट्रिय एकता दिवस मनाउने पहिलेको परम्परालाई निरन्तरता दिनुपर्ने आवाज चौतर्फी उठिरहेको परिवेशमा यस्तो जघन्य प्रवृत्ति प्रदर्शन गर्ने र देशद्रोहको अपराधमा सजाय गरिनुपर्ने खलपात्रहरूलाई ‘लोकतान्त्रिक स्वतन्त्रता’को नाममा उल्टै पश्रय दिने व्यवहार वर्तमान शासक तथा राजनीतिक नेतृत्वहरूको रहँदै आएको छ । यो अत्यन्त गम्भीर र रहश्यपूर्ण विषय हो । देशै नरहे हाम्रो अस्तित्व हुँदैन, हामी नेपाली हुने थिएनौँ भन्ने तथ्यप्रति आँखा चिम्लिँदै पृथ्वीनारायणप्रति गरिने यस्तो पूर्वाग्रही व्यवहार मुलुककै विखण्डन र विघटनसम्मको सोच पाल्ने धुन्धुकारीहरूले मात्र गर्न सक्दछन्, यसप्रति तमाम देशभक्त नेपाली सचेत र चनाखो रहनु आजको आवश्यकता हो ।

जतिसुकै राम्रा व्यक्तिका पनि कमी-कमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् भन्ने मान्यता पनि छ । यस सन्दर्भमा कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासकका रूपमा पनि चित्रित गर्ने कोशिस पछिल्ला दिनमा गर्दै आएका छन् । जातीय शासनलाई उनले भताभुङ्ग पारेको तथा पृथ्वीनारायणकै पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको, विभिन्न जातजातिको धर्म, संस्कृति-संस्कार मासेको भन्ने पनि कतिपयको आरोप छ । तर, यी आरोप पूरै पूर्वाग्रही बनेर लगाइएका हुन् भनी पुष्टि गर्ने अनेक प्रमाण आज हामीसामु छन् । पृथ्वीनारायणले विजित भूभागमा आफ्नो हैकम नचलाइ स्थानीय भाषा र संस्कृतिलाई प्रश्रय दिइ महत्वका साथ जीवन्त राख्न आदेश दिएको तथ्य अब लुकाएर लुक्दैन । अढाइ सय वर्षअघि नै मुलुकमा भ्रष्टाचार र घुसखोरी प्रथाको अन्त्य गर्ने प्रतिबद्धता उनले जनाएका थिए । यसबाट उनी एक दूरदर्शी, राष्ट्रिय एकता र सामाजिक सद्भावले ओतप्रोत भएका राजा थिए भन्ने प्रष्ट हुन्छ ।

पृथ्वीनारायणको दिव्योपदेश निकै मर्मस्पर्शी मात्र नभइ अत्यन्त महत्वपूर्ण र आजको परिवेशमा पनि उत्तिकै सारगर्वित छ । नेपालका शासक र सत्तासीनहरूबाटै भ्रष्टाचारले संस्थागत रूप लिन थालेको यो अवस्थामा वर्तमान तथाकथित ‘सङ्घीय लोकतान्त्रिक नेपाल’को सन्दर्भमा अत्यन्त स्मरणीय हुन आउँछ । किनकि, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका मार्मिक दिव्योपदेशहरू नेपालका शासकहरूले आत्मसात् गरेमा मुलुकको राष्ट्रियता, स्वाधीनता संरक्षण र विदेशी हस्तक्षेपलाई निषेध गर्न टेवा पुग्नेमा कुनै तर्कवितर्क गरिरहनै पर्दैन । हालका शासक वर्गले पनि यो कुरा राम्रैसँग बुझेका छन्, तर नबुझेको अभिनय गर्नु या कुतर्क गरेर पृथ्वीनारायणको महान् कर्मलाई अवमूल्यन गर्न खोज्नु बेग्लै पाटो हो, र यही पक्ष नै नेपाल र नेपालीका लागि ठूलो विडम्वना पनि हो ।

जसले जतिसुकै कुतर्क गरे पनि पृथ्वीनारायण शाहको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ पनि हो । आजका नेपाली वर्तमान आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । यसर्थ उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र नभइ शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणको निम्ति बलियो पूर्वाधार पनि हो । शासकहरूले नजरअन्दाज गरे पनि सच्चा नेपालीले यो मनन गरेका छन् ।