‘ओमिक्रोनले एकबाट १० मा सङ्क्रमण सार्ने, खोप नलगाएकामा १० गुणा बढी सङ्क्रमण’

‘ओमिक्रोनले एकबाट १० मा सङ्क्रमण सार्ने, खोप नलगाएकामा १० गुणा बढी सङ्क्रमण’


कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहेका सङ्क्रामक रोग विशेषज्ञ प्राडा जनक कोइरालाले ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताए । उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ ।

‘सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो, तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ । त्यसैले यो दु्रत गतिमा फैलिन्छ’, उनको भनाइ छ ।

ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने उल्लेख गर्दै उनी भन्छन्- ‘व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकाले यसबाट बच्न आफू नै सर्तक हुनुपर्दछ, हामीले जनस्वास्थ्यका मापदण्ड लागू ग¥यो भने सायद यसले व्यापक रुप लिँदैन ।’

हात नियमित धुने, भीडभाड नभएका ठाउँमा जाने, मास्क राम्रोसँग लगाउने हो भने सङ्क्रमणबाट बच्न सकिन्छ । यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनु पर्दछ । ओमिक्रोन सङ्क्रमण मानिसमा रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलिमा इन्फेक्सन (असर) गर्दछ ।

सङ्क्रमण नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ । जबकि डेल्टा भाइरसले सिधै फोक्सोमा असर गर्दथ्यो, ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिधै सङ्क्रमण गरेर निमोनिया बनाउने कम गर्दछ । खोप लगाएका व्यक्तिलाई ओमिक्रोन भेरियन्टले त्यति गाह्रो नबनाउने उनको भनाइ रहेको छ ।

कोरोना भाइरसविरुद्धको खोप नलगाउनेमा व्यक्तिमा लगाएकोभन्दा १० गुणा बढी सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको उनले बताए । उनका अनुसार ओमिक्रोन भेरियन्टले खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गाह्रो बनाउने १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढी गर्दछ । दुई वटा खोप लगाए जित्न सकिने उनको सुझाव छ ।