सपनाको ब्यापार कहिलेसम्म ?

सपनाको ब्यापार कहिलेसम्म ?


  • युवराज गौतम

रावणले रचना गरेको शिवस्त्रोत्र छ- ‘जटाटवीगलज्जल प्रवाहपावितस्थले गलेऽवलम्ब्य लम्बितां, भुजंगतुंगमालिकाम् डमड्डमड्डम निनादवड्डर्वयं, चकार चंडताण्डवम् तनोतु नः शिवः शिवम् ।’ स्त्रोत्र लामो छ तर शब्दको अर्थ नबुझ्नेहरूले ‘शिव-शिवम्‘ मात्र बुझ्छन् । ‘डमड्डमड्डमड्ड’ डमरुको ध्वनि (नाद) सर्वत्र सुनिन्छ, त्यो शंकरको डमरु जस्तै डेमोक्रेसीको डमरु हो ।

बाह्र वर्ष शासन गरे हिटलरले । वाइमर संविधान जलाए । धेरैको हत्या गरे नाजीहरूले । उनीहरू पनि आफ्नो शासन ‘लोकप्रिय’ छ भन्थे । विरोधीलाई ठोक्ने र समर्थकलाई काँधमा बोक्ने कैयन् निरंकुशको कथा त्यस्तै छ । स्टालिन, माओ, लेनिन, फिडेल क्यास्त्रोदेखि लिएर बोकासासमेतले डेमोक्रेसीको डमरु बजाए, डमड्डमड्डमड्ड.. । जनताले सुरुमा पत्याए । कुरा बुझे पनि लत्याए ।

फ्रान्सको क्रान्ति (सन् १७८९) हुँदा अन्त्यमा बृहत् छलफलमा क्रान्तिका समर्थकहरू देब्रेतिर बसे । त्यसैले उनीहरूलाई ‘लेफ्टिस्ट’ भनियो । राजतन्त्रवादी (मोनार्किस्ट) दाहिनेतिर बसे । ती ‘राइटिस्ट’ भए । परम्परा, धर्म-संस्कृति, प्राचीन सभ्यता, जातीय सन्तुलन र राष्ट्रिय एकता बचाउनुपर्छ भन्नेहरूलाई त्यसपछि ‘दक्षिणपन्थी’ भन्न थालियो । सबै भत्काएर नयाँ थालनी गर्नुपर्छ भन्नेहरू वामपन्थी (लेफ्टिस्ट) भए ।

डेमोक्रेसीको डमरु बजाउनेदेखि लिएर एउटै थालमा मुछेर सत्ताको भोज खाने नेपालका कांग्रेस-कम्युनिस्टको चरित्र बादलमा बदलिइरहने चित्र जस्तो अर्मूत छ । कतिबेला चाटाचाट गर्छन्, कतिबेला काटाकाट गर्छन्, भन्नै सकिँदैन । चुनाव हार्ने देखेपछि मतपत्र चपाएर निल्ने र राजनीतिक फाइदाका लागि आफ्ना हजारौँ कार्यकर्ता मार्नेसँग मिल्ने दुवैको फ्युजनले कन्फ्युजन (भ्रान्ति) बनेको छ, नेपालको प्रजातन्त्र ।

बहुसंख्यक जनता जागरुक हुनैपर्छ, प्रजातन्त्रलाई सही बाटोमा हिँडाउन । मासु-भात, रक्सी र एक हजार रुपियाँसँग मताधिकार साट्ने लाखौँ जनतालाई दलहरूले दुरूपयोग गरिहेका छन् भने संविधानले कल्पना गरेको ‘समानताको हक‘ वा अल्पसंख्यकको कोटा मोटामोटा साहू र साहुनीले कब्जा गरिरहेका छन् । एउटै साहूले करोडौँ रुपियाँ चन्दा दिएर फरक दलको कुर्सीमा पालैपालो सांसद भएको पनि देखियो ।

भित्रभित्रै लेनदेन गरेर दलको दुरूपयोग गर्ने ठेकेदारहरू राष्ट्र र जनताप्रति मौन बस्ने गरेको पाइन्छ । विदेशीले पनि आफ्ना दासहरूलाई प्रजातन्त्रवादीको चाँदतोडा लगाइदिने गरेका छन् । डेमोक्रेसीका लागि पचास वर्ष योगदान गरेका र डेमोक्रेसी भत्काउन हिँड्नेहरू दुवै कसरी प्रजातन्त्रवादी भए ?

साम्यवाद, समाजवाद, प्रजातन्त्र आदिका नाममा ‘युटोपिया’ देखाइएका बग्रेल्ती उदाहरण छन् । सत्तरी वर्षभन्दा अघिदेखि डेमोक्रेसीको डमरु बजाइरहेको भारतका कतिपय नेताले ‘असल दिन आउँछन्’ भन्दै सपना बेचिरहेका छन् । अक्कलबेगरको नक्कल गरेर नेपालका नेताले २०४६ सालपछि जनता ढाँटिरहे । गणतन्त्रको पन्ध्र वर्ष पनि कुण्ठा, निराशा र असन्तुष्टिमै बितिरहेको छ भन्ने कुरा उनीहरूकै मुखबाट सुन्न थालिएको छ ।

अत्यधिक शक्तिले मानिस तानाशाह बन्छ । भारतको राजधानीमा रहेको प्रगति मैदानमा आयोजित रात्रिभोजमा पुराना पत्रकार तथा लेखक खुशवन्त सिंहले ठट्टा गर्दै भनेछन्- ‘डेमोक्रेसी भनेको आफैँलाई यातना दिने र भ्रष्टाचार गरेर देश र जनता लुट्नेलाई जनताले नै जिताउने व्यवस्था हो ।’ स्कच ह्विस्की पिएका वृद्ध पंजाबी लेखक उसै पनि रसिक मानिन्थे । उनको परिभाषा सुनेर धेरैजना हाँसे तर त्यो बक्रोक्ति कटु सत्य थियो ।

पुलिट्जर पुरस्कार विजेता अमेरिकी पत्रकार थियोडर ह्वाइटले ‘टाइम’ पत्रिकामा सन् १९४० देखि रिपोर्टिङ गरे । इतिहासमा पर्याप्त रुचि र ज्ञान भएका ह्वाइटले धनले नै प्रजातन्त्र निल्छ भनेका छन् । नेपालमा राजनीतिक दलहरूलाई धनाढ्य, तस्कर, माफिया र अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरूले घेरामा पारेर कैयन् विवादास्पद निर्णय गराएको पाइन्छ ।

सार्वजनिक र सरकारी जग्गा भागबन्डा गरेर करोडौँ रुपियाँ नाफा गर्ने र नारायणहिटी दरबार जस्ता ऐतिहासिक क्षेत्रमा रेस्टुरेन्ट खोल्न दिनेहरूले सिंह दरबार क्षेत्रभित्र ‘ब्रथेल’ खोलेर राजस्व उठाउने निर्णय गरे भने त्यो पनि अनौठो हुने छैन ।

प्रजातन्त्रले जनतालाई स्पर्श गर्न सकेन भने प्रजातन्त्रको मृत्यु भए पनि चित्त दुखाउने कोही हुँदैन । दलमा धेरै वर्ष पसिना बगाएका योग्य र इमानदारहरूदेखि लिएर राजनीतिबारे खासै चासो नलिनेहरूको एउटै आवाज सुनिन्छ- वर्तमान राजनीतिक प्रणाली भनेको दलतन्त्र र गणतन्त्र मात्रै भयो, प्रजातन्त्र वा लोकतन्त्र भएन ।

लोक (जनता) भोटिङ मेसिन भएका छन् । हरेक निर्वाचनमा ‘विकल्प छैन’ भन्दै उनै भ्रष्ट, निकम्मा, अयोग्य र मूर्खलाई विजयी’ बनाएर आनन्द मानिरहेका छन् । दलमा उदाहरणीय, त्यागी, इमानदार र लोकप्रिय प्रतिनिधिहरू न्यून हुँदै गएकाले धेरैजसो जनताले नेताहरूलाई तुच्छ शब्द प्रयोग गर्न थालेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्दनेले सार्वजनिकरूपमै स्वीकारेपछि धेरैले त्यसलाई तुणमूल (ग्रास रुट) आवाज भनेका छन् । तसर्थ, व्यक्ति, पद्धति र चरित्रमात्र समस्या होइन, ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने सोच नपलाएसम्म जनतामा व्याप्त असन्तुष्टि घट्ने देखिँदैन ।

सामाजिक सञ्जाल