ललिता निवास प्रतिवेदन फिर्ता प्रकरण : सिआइबीले थप अनुसन्धान गर्ने

ललिता निवास प्रतिवेदन फिर्ता प्रकरण : सिआइबीले थप अनुसन्धान गर्ने



सरकारी वकिलको कार्यालय काठमाडौंबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

सिआइवीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । सोमबार सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक भएको भनी प्रतिवेदन फिर्ता पठाएपछि सिआइबीले तथ्य तथा कागजातको विष्लेषण तथा थप अनुसन्धानमा थालेको हो ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार सरकारी वकिलको कार्यालयबाट थप निर्देशन प्राप्त भएको छ, सोहीअनुसार कार्यान्वयन गरेर फेरि पठाइन्छ । ब्यूरोले विगत दुई वर्षदेखिको अनुसन्धान सकेर सरकारी वकिललाई छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाएको उनको भनाइ छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा-२७६ अनुसार लिखत किर्तेसम्बन्धी मुद्दाको हदम्याद दुई वर्षको भए पनि उक्त मुद्दा मुलुकी ऐन आकर्षित हुने भएकाले सोही अनुसारको हदम्याद हुने जनाइएको छ । सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो । सोही आधारमा सिआइवीले अनुसन्धान थालेको थियो ।

अहिलेसम्म उक्त घटनाका आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै पक्राउ परेका छन् । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको सार्वजनिक भएको छ ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत ललिता निवास प्रकरणमा १७५ जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त मुद्दा सिआइवी र अख्तियारले हेरिरहेको छ ।