- रसना ढकाल
घटना नम्बर एक
उनको आँखा आँसुले भरिँदै थियो । कुन बेला आँखाको डिलबाट आँसुको ढिक्का झर्छ भन्ने लागिरहेको थियो । नभन्दै आखिर त्यही भयो जे उनको आँखाले बोलिरहेको थियो, उनले भनिन्- ‘मेरो गाउँको काका पर्नेले मलाई बारम्बार समाउने कोशिस गर्छ, उसलाई देखेर धेरै पटक भागेकी छु । यो कुरा घर-परिवारमा पनि भनेँ, तर परिवारजनले ‘चुप बस, यस्तो कुरा बोल्नु हुँदैन, आफ्नै बेइज्जत हुन्छ’ भने । घरका मान्छेहरूले नै प्रहरीमा मुद्दा दिन रोके । काकाले बारम्बार लगाएको कुदृष्टिबाट म आजित भइसकेकी थिएँ, तर परिवारले बोल्न दिएनन् । जति हिंसा भए पनि हामीले त सहेरै बस्नुपर्छ रे… ! भन्दै आँसु पुछ्न थालिन् । उनको कुरा सुनेर सबै सहभागी चुप भयौँ । हामीलाई लाग्यो उनी ठूलै समस्याबाट गुज्रिएकी हुन् । अनि फेरि बोल्न आग्रह गऱ्यौँ ।
उनको आँखा ओभानो थिएन । कुरा गर्दै आँसुले भिजेका परेली पुछ्दै थिइन् । उनको मनभित्र धेरै कुरा उमडिइरहेको भान हुन्थ्यो, तर त्यसलाई गुम्स्याउन विवश बनिरहेकी थिइन् । तर उनले मन थाम्न सकिनन् र फ्याट्ट भनिन्- ‘मलाई धेरै पटक आफ्नै काकाबाट बलात्कारको प्रयास भएको छ तर प्रहरीमा उजुरी दिन सकिनँ, परिवारले रोके ।’
मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूलाई श्रम ऐनको बारेमा जानकारी दिन महिलाको निम्ति महिला मञ्च नेपालमा हामी जम्मा भएका थियौँ । श्रम ऐन २०७४ को बारेमा कार्यक्रम चलिरहेको थियो । करिब दुई घण्टाको सत्रपछि सहभागीहरूलाई खुला छलफल गरौँ भनेर सञ्चालिकाले जानकारी दिनुभयो । सहभागीहरूले आफ्नो कार्यस्थलमा श्रम ऐन २०७४ ले दिएको व्यवस्था कुनै पनि लागु नभएको भन्दै रोजगारदाता र श्रमिक स्वयम् कसरी जिम्मेवार हुने भन्ने कुरामा जोड दिँदै थिए । श्रम ऐन कार्यान्वयनको सन्दर्भ चलिरहँदा हिंसा न्युनीकरणको लागि कानूनको कुरा पनि चर्चा भएको थियो । त्यत्तिकैमा एक श्रमिकले आँसु पुछ्दै भनिन्, ‘म्याम ! हिंसा भएपछि तुरुन्त प्रहरीमा खबर गर्नुपर्छ त भन्नुभयो, तर हामीलाई घर-परिवारले नै प्रहरीसम्म जान दिँदैनन् ।… ।’ उनको गला अवरुद्ध भयो ।
घटना नम्बर दुई
एक बालिकालाई गोप्य कोठमा लिएर महिला प्रहरीहरूले केही सोधिरहेका थिए । ती बालिकाले आफू दाइ नाता पर्नेबाट बारम्बार शोषणमा परेको बताइरहेकी थिइन् । बालिकाको कुरा पूरा सुनेपछि प्रहरीले अभिभावकहरूलाई मुद्दा चलाउन आग्रह गरे । तर अभिभावकले ‘अहँ.. हुँदैन ! आफ्नै दाइ पर्नेले पनि यस्तो हर्कत गर्छ ? तपाईं प्रहरी जस्तो मान्छेले यस्तो कुरा गर्ने हो ?’ भन्दै सम्बन्धित अभिभावकहरूले उल्टै प्रहरीलाई हपार्दै थिए । ती नाबालिग छोरीको कुरामा परिवारजनले पटक्कै विश्वास गरिरहेका थिएनन् । बालिकालाई सम्झाउनुपर्नेमा परिवार उल्टै बालिकालाई दोष दिइरहेका थिए । ‘तँलाई घर-परिवारको डर छैन, लाज छैन आफ्नै दाइले यस्तो गलत हर्कत गर्छ ? हामी त सपनामा पनि सोच्न सक्दैनौँ’ भन्दै छोरीलाई हपार्दै थिए । त्यत्तिकैमा महिला प्रहरीले ‘अहिले आफ्नै बुवाबाट छोरी बलात्कृत भएका घटना बढिरहेका छन्, तपाईंहरू आफ्नो छोरीले भनेको कुरा किन बुझ्ने कोशिस गर्नुहुन्न ? सानो बच्चाले के अरुलाई गलत देखाउन सक्छ ?’ भन्दै महिला प्रहरीको कुरालाई हजुरबुवाले बुझेपछि मेरी नातिनीलाई गलत गर्नेको विरुद्ध म जाहेरी दिन्छु भने । पछि जाहेरी लेख्ने व्यक्ति आयो र प्रतिवादीको विरुद्धमा जाहेरी दर्ता भयो ।
यस्तै घटनाको अर्को उदाहरण छ कैलालीमा गत मंसिर १६ गते एक वृद्धमाथि भएको बलात्कार । यस घटनामा छोराले कुरा बाहिर ल्याउन हुन्न भनेर जनप्रतिनिधिसमेतको मिलेमतोमा मोटो रकम बुझेपछि पैसामा कुरा नमिल्दा आमामाथि बलात्कार भएको घटना प्रहरीमा दर्ता गराए । यहाँ परिवारको सदस्यले रकम बुझ्नु नै प्रहरीमा नजाओस् भन्ने चाहना रहेको भन्ने बुझिन्छ ।

यसैगरी एक कार्यक्रममा स्थानीय तहका न्यायिक समितिका सदस्यले आफूहरूले बलात्कारको मुद्दा मिलाएर पठाएको भन्दै गर्वका साथ भाषण गर्दै थिए । त्यत्तिकैमा सहभागीले ‘बलात्कारको मुद्दा मिलाउने अधिकार र जिम्मेवारी स्थानीय निकायलाई कसले दियो ? त्यो घटना त प्रहरीमा दर्ता हुनुपर्छ’ भनेर आवाज उठाएपछि ती सदस्य बोल्न सकेनन्, रातोपिरो हुँदै भाषण पनि पूरा नहुँदै कार्यक्रम स्थलबाट बाटो तताए ।
देखिएका घटना मात्रै हुन् यी यस्ता धेरै घटनाहरू छन् जो घर-परिवारले नै प्रहरीमा उजुरी दिनबाट रोक्छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले देवानी प्रकृतिका मुद्दा हेर्न मिल्ने प्रावधान स्थानीय तहलाई दिएको छ । तर स्थानीय तहका व्यक्ति स्थानीय समुदाय नै भएकोले गर्दा जघन्य प्रकृतिका घटना मिलाउन जनप्रतिनिधिकै अग्रसरता देखिन्छ । मूलुकमा राजनीतिक परिवर्तन भएता पनि पुरानो सोच तथा मूल्य-मान्यताहरूमा परिवर्तन भएको छैन । अहिले पनि हाम्रा गाँउघरमा जघन्य अपराधको घटना गाउँघरकै भद्रभलादमी (गाउँघरको बोलिचालीमा प्रयोग हुने शब्द) हरू बसेर टुङ्ग्याउने चलन छ । यस्ता चलनले अपराधलाई बढावा दिएको पाइन्छ । छोरीको भविष्यको सवाल छ, यस्तो कुरा प्रहरीमा गयो भने बेइज्जत हुन्छ लगायतका छोरीमाथि प्रश्नको चाङ लगाएर अपराधलाई ढाकछोप गर्छन् । यस्तो स्थितिमा पीडित वा प्रभावित सधैं डरत्रासमा बस्नुपर्छ भने पीडक झन् उच्च मनोबलको साथ हिँड्छ । यदि गाउँघरका व्यक्ति बसेर घटना टुङ्ग्याउने भए किन प्रहरी प्रशासन चाहिन्थ्यो ? किन अदालत चाहिन्थ्यो र ? तर अधिकांश घटनाहरू उजुरीमा आउँदैनन् । घटनाका प्रभावित भनेका धेरै बालिका र महिला नै हुन्छन् । यदाकदा पछिल्लो समय पुरुष पनि प्रभावित भएका छन्, जुन असामान्य कुरा हो । एक स्वस्थ समाज देख्न चाहनेले कसैमाथि पनि हिंसा हुनु हुन्न भन्ने मान्यता राख्छ ।
किन गरिन्छ त घटनालाई संस्थागत ?
हामीकहाँ घटना सस्थागत गर्नु कुनै नौलो विषयचाहिँ होइन । सकेसम्म घरभन्दा बाहिर कुरा पुग्नु हुन्न भन्ने सोचबाट हामी हुर्किंदै आएका हौँ । कतिपय अवस्थामा यस सोचले काम गर्छ तर जघन्य अपराध जस्ता घटनामा यस्ता पुरातन मान्यताले काम गर्दैन । घटना जति प्रहरीमा उजुरी भयो त्यति हिंसाविरुद्ध बोल्ने बानी भइरहेको भन्ने बुझिन्छ भने अर्कोतिर अब हिंसालाई कोहीले पनि सहेर बस्नेवाला छैन भनेर बुझिन्छ । तर पनि हिंसाको मापन हुँदैन कसैको इच्छाविना हुने जुनसुकै कार्य पनि हिंसा नै हो भन्ने मान्यता रहिआएको छ । परिवारको सदस्यबीच सानातिना विवाद हुनुलाई ठूलो मानिन्न त्यहि भएर यस्ता घटना धेरै कम मात्र प्रहरीसमक्ष आइपुग्छ ।
यस सन्दर्भमा दुई कुरा प्रष्ट आउँछ एक हो आर्थिक कारण र अर्को समाजिक कारण । अहिले पनि नेपाली महिलाहरूको आर्थिक उपार्जनमा त्यति पँहुच छैन । घरधन्दा, खेतिपाती या बाहिर कमाउने भए पनि त्यो उत्पादन भएको बस्तु अर्कैको नियन्त्रणमा हुन्छ । यसले गर्दा उत्पादन गर्ने व्यक्ति केवल म उत्पादन गर्ने मात्रै हुँ, यसको प्रयोग र नियन्त्रण अर्कैको हातमा छ भन्ने सोचको विकास भएको हुन्छ । आफूमाथि परिवारजनबाट यातना भइरहेको छ तर घरमा कमाउने मालिकको विरुद्धमा ती पत्नी उजुरी दिनुअघि उनको मनले सयवटा प्रश्न गर्छ । ‘मुद्दा दिउँ कि नदिउँ ? किनकि, कमाएर खुवाउने त उही हो, उसैको आश्रयमा बस्नुपर्छ… !’ यस्ता कुराहरूबाट ग्रसित हुन्छिन् पीडित वा प्रभावित ।
हाम्रो समाजमा विवाह भएकी छोरी माइतमा बस्न नदिने, घरमै गएर बस भन्छन् । यता घरबाट यातना उता माइतीले जे-जस्तो भए पनि घरमै गएर बस भन्ने गर्छन् । आफूमाथि भएको ज्यादतीको विरुद्धमा बोल्न रोक लगाउनु झनै ठूलो अपराध हो । तर यो काम हाम्रो समाजका इकाइहरूले गर्छन् । हिंसाप्रभावित महिला आफूविरुद्ध भएको घटनाउपर बोल्दा स्वयम् महिलालाई नै दोष लगाउने गरिन्छ । जोमाथि ज्यादति भएको छ उल्टै उसैमाथि घटनाको दोष थुपारिदिन्छन् । पुरातन सोच र मूल्य-मान्यताको कारण महिलामाथि अझै पनि विभिन्न बहानामा घटनाहरू भैरहेका छन् । मुलुकका राजनीति परिवर्तनलाई विकासको रूपमा हेरिन्छ तर त्यसो भएन बाटोघाटो बनाउनुलाई मात्र विकास देखेको हाम्रो समाजले मान्छेको सोचमा विकास ल्याउन अझै सकेको छैन ।
प्रतिक्रिया