नागरिकको खुशी : परिवर्तनको आधार

नागरिकको खुशी : परिवर्तनको आधार


माफी माग्ने वा माफी दिने संस्कारले मानिसलाई अनावश्यक मानसिक तनाव वा द्विविधाबाट मुक्त गराएर खुशी दिने ऊर्जा प्राप्त हुन्छ । विद्वानहरूले भनेका छन्- ‘जो व्यक्ति स्वयम्मा खुशी रहन वा देखिन सक्छ, उसले अरुलाई खुशी, सद्भाव, स्नेह बाँडिरहेका हुन्छन् ।’

  • शेखर ढुंगेल

कतिपय मानिस आफ्नो मनलाई शान्ति दिन वा दुःखलाई न्यूनीकरण गर्न भन्ने गर्छन्- ‘मानिस रुँदै-रुँदै जन्मन्छ । जीवनभर रूनु उसको नियति नै हो ।’ वास्तवमा यो मान्यता सत्य होइन । संसारमा जो असल र विवेकशील छन्, त्यस्ता मानिस आफूलाई प्राकृतिक रूपमा नै हँसिलो राख्न रूचाउँछन् वा हँसिलो रहन सक्षम हुन्छन् । प्रश्न उठ्न सक्छ- ‘के उनीहरूमा दुःख हुन्न ? पीडा हुन्न ? हुन्छ- किन हुन्न ? दुःख र पीडाबिना त मानवजीवन पूर्ण नै हुँदैन । तर त्यस्ता व्यक्तिहरू आफ्नो पीडा र दुःखलाई दबाएर राख्न सक्षम हुन्छन् । जे हुनु छ त्यो त भइ नै हाल्छ, कसले रोक्न सक्छ र ? कसले रोक्न चाहेर रोकिएको छ र ? यस्तो सोच्दै व्यर्थको चिन्ता गर्न छाडेर आफ्नो तत्कालको नियमित र अत्यावश्यक कामलाई प्राथमिकतामा राख्दै प्राकृतिक खुशीलाई जीवन्त राख्न ती सफल हुन्छन् ।

उनीहरू आफूलार्ई खुशी देखाउन मात्र सफल नभइ मित्र, आफन्त र सम्पर्कमा आउने जो-कोहीलाई पनि खुशी दिन वा बाँड्नसमेत सक्षम हुन्छन् । आफूलाई खुशी राख्न सक्षम देखिने वा देखिएका व्यक्तिहरूमा अनावश्यक चिन्ता नगर्ने स्वभाव हुन्छ, लोभलालच हुँदैन । उनीहरू घाटा, नोक्सानी वा हारमा पनि धैर्य प्रदर्शन गर्दै द्वेषपूर्ण भाव राख्दैनन् । अझ भनौँ, आफ्नो हारमा पनि खुशी रहन सक्ने खुबी हुन्छ उनीहरूमा । रिस र आवेग देखाउँदैनन् र स्वाभाविक रूपमा फरक हुँदैनन् ।

विद्वानहरू भन्ने गर्छन्- ‘जो आफलाई खुशी राख्न जान्दछ वा खुशी रहन्छ, उसले मात्र अरुलाई खुशी दिन वा बाँड्न सक्छ ।’ जसरी एउटा बालकले आफ्नो निःस्वार्थ हाँसोबाट अरुलाई हँसाउँछ, खुशी बनाउँछ, त्यस्तै एक विवेकशील व्यक्तिको हँसिलोपन र व्यवहारले अरुलाई समेत हाँसो र खुशी दिन सफल हुन्छ । आफूलाई हमेसा खुशी राख्न सक्षम व्यक्तिहरू जीवनमा आइपरेको घाटा, बाधा, व्यवधान आदिको दोष अरुलाई नदिएर त्यसको जिम्मेवारी स्वयम् लिने स्वभावका हुन्छन् । यिनमा केही न केही बुद्धत्व हुन्छ भन्दा फरक पर्दैन । किनकि, महामानव गौतम बुद्धले भन्नुभएको छ- ‘आज तिमी जहाँ छौ, जस्तो छौ, अर्थात् दुःखी छौ, सुखी छौ, जे छौ तिम्रै कारणले, तिम्रो आफ्नो सोच र क्रियाअनसार नै छौ । अरुलाई दोष नदेऊ ।’

आफ्नो कामको जिम्मेवारी स्वयम् लिन सक्नुपर्छ । कुनै काम बिग्रिनु वा असफल हनुुमा अर्काे पक्षलाई कुनै बहानामा दोष दिएर आफ्नो दुःख वा नोक्सानीको भागीदार बनाएर अर्कालाई दुःखी बनाउने काम, आवेश वा आक्रोश देखाउनु उचित हुन्न भनेर सोच्ने क्षमता विवेकशील मानिसमा हुन्छ । आफ्नो सफलताको श्रेय अर्कोलाई दिने र असफलताको जिम्मेवारी स्वयम् लिने व्यक्तिलाई विवेकशील भनिन्छ ।

जसले असफलता वा नोक्सानीको स्वयम् जिम्मेवारी लिन्छन्, उनीहरू एक त सम्बन्धित सबैलाई आश्वस्त र खुशी पार्न सफल हुन्छन्, दोस्रो- हात लागेको नोक्सानी या असफलताबाट पाठ सिक्दै सच्याउन स्वयम्मा ऊर्जा प्राप्त गर्न सक्षम हुन्छन् । यस्ता व्यक्तित्वहरू प्रायः सफल र समाजमा लोकप्रिय हुन्छन् । खुशी रहने वा देखिने व्यक्तिहरू प्रायः शङ्का गर्ने प्रवृत्तिबाट पनि टाढा हुन्छन् । विज्ञहरूका अनुसार मानिसको मस्तिष्कमा हरेक पलमा केही न केही नकारात्मक विषयवस्तु वा सोचले ओहोरदोहोर गरिराखेको हुन्छ र आफूलाई खुशी राख्ने स्वभावका व्यक्तिहरू नकारात्मक सोच (शङ्का, डर, त्रास, घमण्ड, आडम्बर, नोक्सानीको चिन्ता, इर्ष्या र इगो)लाई साथमा राख्दैनन् वा मन-मस्तिष्कबाट फ्याँकिदिन्छन् । तिनले जे पर्ला तब सोचौँला वा जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने सोचेर सकारात्मक सोच राखी मनमा विश्वास, दृढता र शान्ति बोकेर आफ्नो अगाडि रहेको वा प्राथमिकतामा रहेको काम सफलतापूर्वक सम्पन्न गर्न लागिपर्छन् । समाजमा खुशी देखिने व्यक्तिले असल र राम्रो मात्र सोच्छन् वा सकारात्मक सोच राख्छन् ।

मानिसहरू अरुको खराबी छिट्टै टिप्ने गर्छन् र स-साना खराबीलाई पनि टिप्पणी गरिहाल्छन् । तर खुशी रहने विवेकशील व्यक्तिहरू खराबीभित्रको असल गुण खोज्छन् र त्यो असल गुणलाई सदुपयोग गर्छन् । आखिर असल सोच्ने मानिसलाई मात्र थाहा हुन्छ कि हीरा कोइलाबाट निस्कन्छ र मोती गहिराइमा पुगेपछि मात्र भेटिन्छ वा फेलापर्छ । खुशी रहने वा देखिने व्यक्तिहरूको अर्को विशेषता के हो भने उनीहरूमा जस्तै समस्यालाई पनि सहजै स्वीकार्ने र समाधानको विकल्प खोज्ने क्षमता हुन्छ । उनीहरूमा धैर्य हुन्छ ।

खुशी रहने व्यक्तिहरू आफ्नो मनले खाएको काम मात्र गर्छन् र जुन काम गर्छन्, मन लगाएर गर्छन् । अर्थात्, सफल हुनेगरी प्रतिबद्ध भएर गर्छन् । धेरै मानिसहरू आफूले काम गर्ने अफिस वा हाकिमको कुरो काट्ने वा खराबी देख्ने गर्छन्, टीकाटिप्पणी गर्छन् । तर खुशी रहने मानिसहरू आफ्नो कामका बारेमा नकारात्मक सोच्दैनन् । जे छ, त्यसैलाई सबैभन्दा ठूलो र राम्रो अनि महत्वपूर्ण र भाग्यले पाएको भन्दै रमाउँदै काम गर्न रूचाउँछन् । मन लगाएर खुशीका साथ प्रतिबद्ध भएर गरेको कामले अन्ततः सफलता दिलाउने गर्छ र खुशी रहने व्यक्तिका खुशी अरु थपिने गर्छ ।

जो व्यक्तिमा खुशी रहने वा सुखी देखिने प्राकृतिक क्षमता हुन्छ, उसले आफूलाई आनन्दित मात्र राखको हुँदैन, अरुलाई पनि खुशी पार्न सक्ने, विश्वासमा लिन सक्ने वा सकारात्मक प्रभाव पार्न सक्ने क्षमता पनि हुन्छ उसमा । जस्तो कि अर्कोसित भेट्दा हमेसा अभिवादन गर्न नबिर्सने, हाँसेर बोल्ने, सानो–सानो कुरामा पनि अरुलाई धन्यवाद दिने, आभार व्यक्त गर्ने, अरुको प्रशंसा गर्न रूचाउने, राम्रोसित हात मिलाउने वा आलिङ्गन गर्ने, सबैलाई समान व्यवहार गर्ने, वृद्ध, बालक, रोगी, जोसित पनि सुमधुर बोली र व्यवहार गर्ने, सानोतिनो त्रुटी भइहाले वा त्रुटी भयो भन्ने महसूस हुने बित्तिकै क्षमा माग्ने, आफ्नो कुरालाई मद्दत पुऱ्याउन अनावश्यक दबाब नदिने वा विवाद नगर्ने, क्षुद्र वचन गरेर अरुलाई दुःखी नबनाउने, सानोतिनो चित्तदुःखाइलाई वास्ता नगर्ने वा बिर्सिदिने, अझ भनौँ, आफ्नो हारमा अर्को खुशी हुन्छ भने हारसमेत स्वीकार गर्नसक्ने यस्तो सोच भएका व्यक्तिहरू कहिल्यै दुःखी हुँदैनन् ।

माफी माग्ने र माफी दिने खुबी खुशी रहने वा देखिने व्यक्तिहरूको विशेषता हुन्छ । माफी माग्ने वा माफी दिने संस्कारले मानिसलाई अनावश्यक मानसिक तनाव वा द्विविधाबाट मुक्त गराएर खुशी दिने ऊर्जा प्राप्त हुन्छ । विद्वानहरूले भनेका छन्- ‘जो व्यक्ति स्वयम्मा खुशी रहन वा देखिन सक्छ, उसले अरुलाई खुशी, सद्भाव, स्नेह बाँडिरहेका हुन्छन् ।’