धर्मको बेवास्ताले राजनीति अधोपतनतिर

धर्मको बेवास्ताले राजनीति अधोपतनतिर


अङ्ग्रेजी पढ्दैमा शिक्षित भएको ठान्ने जमात बढ्दै गएको कारण मातृभाषा तथा नेपाली राष्ट्रभाषामा तुषारापात हुँदै गएको आभास मिलिरहेछ । आफ्नो राष्ट्रिय पहिचानको पहिरन दौरा सुरुवाललाई नेतृत्वले वेवास्ता गरिँदा हामी कुनै समय हराउने त होइनौँ भन्ने त्रास फैलिँदैछ ।

  • उद्धवप्रसाद भटृराई ‘चैतन्यदीप’

धर्म मानवताको कल्याण गर्दै समाजलाई सच्चरित्रताको मार्ग प्रशस्त गर्ने माध्यम हो । त्यसैले धर्म, अध्यात्म र मानवताको कुरालाई वास्तविक रूपमा बुझ्न र आत्मसात गर्न अनिवार्य छ । नेपालमा जनता, नेता र नेतृत्वले बुझ्न नसकेको भनुँ वा बुझेर पनि बुझपचाएको कुनै विषय छ भने त्यो हो- हिन्दू धर्म र संस्कृति ।

यहाँ पङ्क्तिकारले हिन्दू धर्म र संस्कृति मात्र ठीक अरुको धर्म कमजोर भन्न खोजेको अवश्य पनि होइन । नेपालमा अन्य धर्म र संस्कृतिको पनि त्यत्तिकै महत्व छ । भन्न खोजेको कुरा के हो भने राष्ट्रको पहिचान र आदर्श सिन्चित संस्कृतिप्रति किन हामी खुट्टा कमाउँदै छौँ ? इतिहास मेटियो भने हामी पनि मेटिन्छौँ भन्ने ऐतिहासिक राजाहरूको भनाइ त्यत्ति कमजोर होइन होला । हिन्दु संस्कृतिलाई राष्ट्रिय पहिचानको धर्म मानी इतिहासको मर्मलाई आत्मसात् गर्नुपर्नेमा त्यो हुन सकेको छैन । अहिले धर्मको कुरा गर्दा परम्परावादी विचार भएको असभ्य व्यक्ति भनेर आरोप लगाउने सोचको विकास हुँदै गएको देखिन्छ ।

धर्म, संस्कृति र सभ्यताको, विकास र विस्तारसँगै लामो कालखण्डपछि मात्र विश्व मानव विकसित हुँदै विज्ञानको युग आएको हो । विज्ञानले भौतिक विकास र उन्नतिको उच्चतालाई छोएको छ । तर त्यही विकासको नाममा सत्य र धर्मलाई अस्विकार्ने प्रवृत्ति पनि बढ्दै गएको छ । समाजले आत्माको अनुसन्धान गर्नुपर्नेमा आत्मप्रशंसामा अल्झिँदै गएको छ । हामी धर्मको रक्षक बन्नुपर्नेमा धर्म समाप्त गर्ने कार्यलाई प्रोत्साहन गर्दै गएका छौँ । आधुनिकतालाई सबैले आत्मसात् गर्नु स्वभाविक नै हो । तर त्यसको नाममा चरित्र र नैतिकतालाई छोड्न भने हुँदैन । विकास र विज्ञानको होडबाजीले सत्यतामाथि नै प्रहार हुँदै जानु विडम्बना मान्नु पर्दछ । आर्थिक प्रलोभनमा परी विवेकलाई गुमाउनु राम्रो होइन । नयाँ पुस्तालाई ज्यादा आधुनिकताको पाठ पढाउनाले विदेशी संस्कृतितिर रमाउन थालिसके । पूर्वीय संस्कृति ठूलालाई सम्मान गर्ने, आफूसरहकालाई समानता दर्शाउने र सानालाई प्रेम बाँड्ने परम्परा आज कता-कता हराउँदै गएको छ । शिक्षाले सत्कर्म सिकाउनुपर्नेमा स्वार्थकर्म मात्र सिकाउन थाल्यो । जसले गर्दा नैतिकता र चरित्रको कुरा कितावमा मात्र सीमित हुने हो कि भन्ने आशंका बढ्दै छ ।

आजकल राजनीति, आर्थिक र सामाजिक क्षेत्र सत्यको मार्गमा हिँड्न सकिराखेको छैन । राजनीति त्याग, सेवा र समर्पणको मार्ग हुनुपर्नेमा कता–कता छलकपट र जालझेललाई अपनाउँदै धन र सम्पत्ति कमाउने भाँडो बन्दै गएको छ । सबै सुखी रहून्, सबै बाँचून् र सबै हाँसून् भन्ने हाम्रो वैदिक परम्परा सायदै थला पर्दै गएको देखिन्छ । अधिकांश मानिसहरूले मान्दै आएको हिन्दु धर्म देशको पहिचानबाट टाढिँदैछ । यस्तो अवस्था सिर्जना हुँदा पनि नागरिक समाज र बौद्धिक वर्ग मौन रहँदा भविष्य के होला भन्ने अन्यौलता देखिन्छ । चरित्रहीनता र शोषणलाई वीरता र साहसको संज्ञा दिन थालिएको वर्तमान समाज कता जाँदैछ भनेर भन्न सकिने अवस्था छैन । हाम्रो धर्म, संस्कृति र परम्पराले आदर्श समाज निर्माणका लागि जोड दिँदै आएको छ ।

राजनीतिले बचनमा न्याय र समानताको कुरा गरेपनि व्यवहारमा त्यही विषय कमजोर बनाइँदै लगेको छ । यसको अर्थ कतै हामीले धर्म र संस्कृतिको यथार्थ विरासतलाई बिर्सिंदै गएका त छैनौँ ? विदेशी शिक्षा र संस्कृतिलाई महत्व दिँदै आफ्नो मौलिकतालाई बिर्सिएका छौँ । बालबालिकालाई उनीहरूको मनमष्तिस्कमा सानैदेखि नैतिक शिक्षाले भरिभराऊ गर्नुपर्नेमा त्यो हुन सकेको छैन । हिन्दु धर्म अथाह ज्ञानको भण्डार भए पनि सिक्ने अभिलाषा, साधना र समर्पणको भावनामा कमी आउँदै गएको छ । पिता, पुर्खा र गुरुबाट सिक्नुपर्ने अर्थात् सल्लाह लिनुपर्नेमा आफ्नै अपूर्ण चेला, चपेटाबाट सल्लाह लिएर अगाडि बढेको राजनीति कहाँ पुग्ने हो थाहा छैन । जनभावना सकारात्मक छ भने त्यसलाई बुझेर कार्य गर्नु राम्रो पक्ष हो । तर जनभावना नै उल्टो दिशातिर गइरहेको अवस्थामा नेतृत्वले त्यसैलाई स्विकार गर्नु कत्तिको सफलता होला विचार पु¥याउनु पर्दछ ।

हिन्दु धर्मको विशिष्ट पहिचान हुँदाहुँदै पनि हामी यसबाट कुन कुराको प्र्रभावले टाढा भाग्न खोज्दैछौँ ? हामीसँग अथाह ज्ञान छ, तर त्यो ज्ञानअनुरुपको चरित्र र आदर्श भने कमै मानिसले पालना गरेको पाइन्छ । पूर्वीय दर्शन, विज्ञान र कलाप्रति हामी उदासिन हुन खोज्दैछौँ । यसो हुँदै गर्दा हाम्रा सन्ततिमा नराम्रो प्रभाव पर्ने हो कि भन्ने आशङ्का बढ्दो छ । अङ्ग्रेजी पढ्दैमा शिक्षित भएको ठान्ने जमात बढ्दै गएको कारण मातृभाषा तथा नेपाली राष्ट्रभाषामा तुषारापात हुँदै गएको आभास मिलिरहेछ । नेपाली युवा संसारभरि छरिएका छन् । तिनै युवाहरूले आफ््नो देशलाई पनि भुल्लान् कि भन्ने डर छ । आफ्नो राष्ट्रिय पहिचानको पहिरन दौरा सुरुवाललाई नेतृत्वले वेवास्ता गरिँदा हामी कुनै समय हराउने त होइनौँ भन्ने त्रास फैलिँदैछ । हामीसँग आफ्नो आदर्श, सिद्धान्त र ज्ञान पर्याप्त हुँदाहुँदै पराईको सिद्धान्तलाई अँगालो हालिरहेका छौँ । अभिमानी दृष्टिकोण हाबी भएको कारण रचनात्मक विचारलाई पचाउन नसक्ने समाज बन्दैछ । यथार्थतालाई स्विकार्नु भन्दा अरुलाई दोष देखाएर पन्छने प्रवृत्तिले गर्दा देश पछि पर्दै गएको छ । भित्र एउटा बाहिर अर्को कुरा देखाउने सोच वास्तवमा गलत हो ।

आदर्श सिञ्चित समाजले मात्र प्रगतिको मार्ग पक्डिन सक्छ । प्रेरणाको श्रोतलाई पन्छाएर कोही पनि अघि बढ्न सक्दैन । त्यसैले धर्म र संस्कृति भन्ने कुरा सबैको अन्तर्मनले स्विकार गरेको विषय हो । यसमा कसैले पनि तलमाथि गर्ने प्रयास गर्नु हुन्न । महान् विचार राख्न सके मात्र महान् हुन सकिन्छ । सपना देख्ने र देखाउने मात्र ढोँग गरेर हुँदैन । जीवनमा काम गरेर देखाउन सक्नुपर्छ । सत्य र महानताको विचार नआएसम्म देशमा कुनै चमत्कारी कार्य होला जस्तो लाग्दैन । धर्म भनेको सच्चरित्र हो । मानवता र मनुष्यताको हितकारी सोच र कर्म नै धर्म हो । यसमा तर्क र वितर्क गर्नुको कुनै अर्थ छैन ।

अनुशासन र चरित्रविनाको समाज सुखी हुन सक्दैन । धर्मदेखि समाज डराउन थाल्यो भने असत्यले राज गर्दछ । संसार भनेको काँडा र फोहोरको झाडी हो । जहाँ फूल फूलेन भने सुन्दरता हुँदैन । त्यस्तै धर्म भनेको मानिसको विचारमा फूल्ने सुन्दरतम् तथा सुगन्धित पूmल हो । जसले विचारलाई सजाउँछ । सजिएको विचारले संसारलाई पनि सुन्दर बनाउँछ । त्यसैले समग्र मानवले धर्मलाई बुझ्नु पर्छ । लोकतन्त्र भएपनि यदि धर्म रहेन भने देश र समाजको सुन्दरता समाप्त हुनेछ । विद्यालय तथा विश्वविद्यालयहरूमा वेद, पुराण, इतिहास, धर्म, संस्कृति पढाउन छाडियो भने समाज चरित्रहिनतातर्फ उन्मुख हुन्छ । जसले गर्दा शैक्षिक क्षेत्र गुणस्तरहीन भई समाज तहसनहसको मार्गमा जान सक्छ । अहिले नेपालले देशभित्र उत्पादन भएका सिर्जनशील शक्तिको उपयोग गर्न सकेको छैन । नवीन सिर्जनशीलताको चासो राख्ने कुरा त परै जाओस् । जसरी प्राणविना जीवन रहँदैन, त्यसैगरि धर्म, संस्कृति र असल ज्ञान रहेन भने मुलुक निर्बल बन्दै जान्छ । निर्बल मुलुकलाई बचाउन मुस्किल पर्न सक्छ । त्यसकारण राज्यले धर्म, संस्कृति र वैदिक ज्ञानलाई बचाई राष्ट्रिय पहिचानको खोज गर्दै राजनीतिलाई स्थिरतातर्फ लग्नु पर्दछ ।