बेलायतले नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने

बेलायतले नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने



नेपालबाट पठाइएका श्रमिकलाई बेलायतले रोजगारीको अवसर प्रदान गर्ने भएको छ । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारीबीच हालै सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जनाएका छन् । उनका अनुसार दुवै देशका वार्ता टोलीबीच आगामी मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको छ । यसबारे समझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन् । समझदारी गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पु¥याउने विषयमा बैठकमा सहमति भएको बताइएको छ । तथापि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा भने अझै टुङ्गो लागेको छैन ।

बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ ।

यससम्बन्धी ‘भर्चुअल’ बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो ।

ज्ञातव्य छ, यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन् ।