राजाका ससुरालाई मुद्धा हराउने न्यायाधीश !

राजाका ससुरालाई मुद्धा हराउने न्यायाधीश !


इतिहास

  • खगेन्द्र गिरी ‘कोपिला’

‘सरकार ! यस सेवकलाई क्षमा निगाह होस्, मैले मौसूफका ससुराज्यूलाई मुद्धा जिताउन सकिनँ !’- न्यायाधीश रत्नबहादुर विष्टले हात जोड्दै डराइ-डराइ श्री ५ महेन्द्रसमक्ष बिन्ती चढाए ।

‘होइन-होइन रत्न ! क्षमा माग्नु पर्दैन, तिमीले ठिक निर्णय गऱ्यौ । मैले चाहेको यस्तै निष्पक्ष न्याय व्यवस्था हो, तिमीलाई धन्यवाद छ !’- आज्ञा भयो राजा महेन्द्रबाट ।

कुरा २०२६ सालको हो । रत्नबहादुर विष्ट त्यतिखेर सर्वोच्च अदालतको न्यायाधीश थिए । त्यतिखेरका राजा श्री ५ महेन्द्रका ससुरा श्री हरिशमशेर राणाका विरुद्ध सर्वोच्च अदालतमा एउटा मुद्धा परेको थियो । त्यो मुद्धा रत्नबहादुर विष्टकै इजलासमा थियो र, उनले के निर्णय गर्छन् भनेर सबैले चासो लिएर हेरिरहेका थिए ।

जुद्ध शमशेरका छोरा हरिशमशेर राजा महेन्द्रका ससुरा मात्र नभएर नेपाली सेनाको अतिरथीको मानपदवी पाएका त्यतिखेरका रवाफिला व्यक्ति थिए ।

रत्नबहादुर विष्टले सो मुद्धामा हरिशमशेरलाई हराउने निर्णय गरिदिए ।

निर्णय गरेको भोलिपल्ट बिहान शनिबार परेको थियो । उनी बिहानै पशुपतिको दर्शन गर्न गएका थिए । हरेक शनिबार उनी नाङ्गै खुट्टा हिँडेर पशुपतिनाथको दर्शन गर्न जान्थे ।

घर पुग्नेबित्तिकै उनकी पत्नीले डडेलधुराको भाषामा उनलाई दरबारको सूचना सुनाइन्- ‘जाए पुँइ आब दरबार, बेली राजाका सम्धीखि हराइबर आयाथ्यौ, तम्रो जागिर जान्याँ जसो कुरणी धेकिन्छ ।’ (जानुहोस् अब दरबार ! हिजो राजाका सम्धिलाई हराएर आउनुभएको थियो, जागिर जाने भयो) ।

दरबारबाट उनको निवासमा फोन आएको रहेछ, राजाले भेट्न चाहेको भनेर । रत्नबहादुर विष्ट सूचना सुन्नेबित्तिकै दौरासुरुवाल लगाएर तुरुन्तै नारायणहिटी पुगे । माथि उल्लेख गरिएको संवाद त्यतिखेरैको हो ।

जागिर जाने आशंका बोकेर दरबार पुगेका रत्नबहादुर विष्ट राजा महेन्द्रका वाणी सुनेर छक्क परे । राजाले उनलाई नजिकै राखेर चिया खुवाए । लामो गफ गरे ।

राजा उनलाई पुरस्कार दिन चाहन्थे तर त्यस्तो इमान्दार न्यायाधीशलाई हातैमा नगद रकम दिन राजाले असजिलो मानिरहेका थिए । उनले दस हजार रकमको दस वटा नोट एउटा पुस्तकभित्र राखेर त्यो पुस्तक दिँदै भने- ‘लेउ रत्न ! यो अमेरिकाबाट मगाएको कानूनसम्बन्धी नयाँ पुस्तक हो, तिमीलाई काम लाग्छ, पढेर फर्काउनू !’

त्यो पुस्तक समाएर रत्नबहादुर विष्ट राजासँग बिदा लिएर घर आए । घरमा पुस्तक खोलेर हेर्दा त्यसमा नगद रकम देखेपछि सोझा रत्नबहादुरले सोचे– राजाले पुस्तकमा राखेका नोट निकाल्न बिर्सिएछन् ।’

त्यसको तीन महिनापछि राजाको जन्मदिनको भोजमा उनलाई पनि निम्तो आयो । उनी त्यो पुस्तक पनि लिएर दरबार गए । पङ्क्तिमा उभिएका रत्नबहादुर विष्टलाई देखेपछि राजाले सोधे- ‘पढ्यौ त रत्न त्यो पुस्तक ?’

‘पढेँ सरकार ! सो पुस्तक मौसूफमा फिर्ता चढाउन आज साथै लिएर पनि आएको छु, पुस्तकभित्र नोट पनि रहेछन् । ती नोटहरू जस्ताको त्यस्तै यसैमा सुरक्षित छन् सरकार !’

रत्नबहादुर विष्टको उत्तर सुनेर राजा मुसुक्क हाँसे । त्यो तिमीलाई नै दिएको पुरस्कार हो भन्न भने सकेनन् ।

यो घटनाले रत्नबहादुर विष्टको इमान्दारिता राजाको दृष्टिमा झन् अग्लो भयो । एक महिना नपुग्दै भगवतीप्रसाद सिंहले प्रधानन्यायाधीशको पदबाट अवकाश लिएपछि २०२७ साल असारमा राजाले रत्नबहादुर विष्टलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरिहाले ।

विक्रम संवत् १९६८ सालको श्रावण २४ गते डडेलधुरामा जन्मेका विष्टले भारतको लखनौबाट अर्थशास्त्रमा एमए र कानुनमा एलएलवी उत्तीर्ण गरेका थिए । पढाइ सकेर १९९४ सालमा त्रिचन्द्र कलेजको प्राध्यापक बनेर काठमाडौं आएका विष्टलाई २००६ सालमा प्रधान न्यायालयको सदस्य मनोनित गरिएको थियो । त्यसपछि उनले ल कमिशनको सदस्य र कानून सचिवको रूपमा काम गरे । राजा महेन्द्र र टंकप्रसाद आचार्यले २०१३ साल जेठमा उनलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए । उनले १४ वर्ष न्यायाधीश र ६ वर्ष प्रधान न्यायाधीशको रूपमा सर्वोच्च अदालतमा कुल २० वर्षसम्म सेवा गरे । ६५ वर्ष उमेरपछि २०३३ साल श्रावण २३ गते अवकाश लिएका विष्टलाई राजा वीरेन्द्रले २०३६ सालमा जनमत सङ्ग्रह सम्पन्न गराउने आयोगको सदस्य पनि मनोनित गरेका थिए । ७८ वर्षको उमेरमा २०४६ साल मंसिरमा उनको निधन भएको थियो ।