गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिएका छन् । कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो रहेको र पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण फैलने डरले समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको हो ।
माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको बताइएको छ । बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ ।
‘शुक्रबारदेखि जोकोहीले पनि मन्दिरबाहिरको बारबाट मात्र पूजाआजा गर्न पाउनेछन्, मन्दिरभित्र पसेर पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ’- जोशीले जानकारी दिए ।
मनकामनामा अहिले दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाको भनाइ छ ।
प्रतिक्रिया