नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह


नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवर्द्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जसँग चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरेका हुन् ।

बुधबार भएको भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन राजदूत प्रिन्जसँग अनुरोधसमेत गरे ।

उनले पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान चलाइरहेको बताउँदै काठमाडौँबाट युरोपमा सिधा उडान खुलाउनका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे । काठमाडौँबाट सिधा उडान भएमा नेपालमा युरोपबाट धेरै पर्यटक घुम्न आउने उनको भनाइ थियो ।

अध्यक्ष मल्लले कफी, पश्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामानको जर्मनीलगायतका युरोपेली देशमा माग रहेकाले व्यापार सहजीकरण गर्नुपर्ने बताए । सोही भेटमा राजदूत प्रिन्जले कोभिडलगत्तै विश्वमै पर्यटन गतिविधि बढ्ने भएकाले त्यसको अवसर खोज्नतर्फ नेपाल लाग्नुपर्ने बताएका थिए । ‘काठमाडौं-‘फ्र्याङ्कफर्ट’ सिधा हवाई उडानका लागि नेपालले हवाई सुरक्षाको मापदण्ड पूरा गर्नुपर्ने राजदूत प्रिन्जको भनाइ थियो ।