काठमाडौं उपत्यकामा आज रातिदेखि जोर-बिजोर प्रणाली

काठमाडौं उपत्यकामा आज रातिदेखि जोर-बिजोर प्रणाली


कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (शुक्रबार) रातिदेखि जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिएकी छन् ।

त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।