‘मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ’

‘मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ’



प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् ।

कांग्रेसका सभापति रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् । सम्बोधनका क्रममा उनले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले विपदमा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताए । प्रधानमन्त्री देउवाको सम्बोधन जारी छ ।