नेपाल-भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनविपरीत भारतीय पक्षबाट बाँधजस्तै सडक निर्माण गर्दा हजारौँ नेपाली भू-भाग डुबानमा पर्ने भन्दै नेकपा एमाले पश्चिम नवलपरासीले त्यस प्रकारका संंरचना निर्माणमा रोक लगाउन माग गरेको छ ।
एमाले पश्चिम नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीको नेतृत्वमा पदाधिकारीसहितको टोलीले पश्चिम नवलपरासीस्थित भारतीय सीमामा भारत सरकारले बनाइरहेको निर्माणाधीन सो सडक क्षेत्रको हालै स्थलगत अवलोकन गरेको छ । अवलोकनपश्चात प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको हो । पार्टीका जिल्लाअध्यक्ष अधिकारी, जिल्ला सचिव एवम् बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्याल, उपसचिवद्वय राजनकुमार आचार्य र रिंगला यादव, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, जिल्ला सदस्य धनपद यादव, पार्टीका सुस्ता गाउँपालिका अध्यक्ष ज्ञानप्रसाद पाठकसहितको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।

दशगजाबाट नजिकै बाँधजस्तै सडक बनाउँदा नेपालबाट दक्षिणतर्फ बग्ने पानीको निकास नहुने गरी बनाइएकोले यस क्षेत्रको हजारौँ बिघा जमिन डुबानमा पर्ने एमाले अध्यक्ष अधिकारीले दाबी गरे । भारतबाट बनाइएको संरचनमा कतै दश मिटर त कतै पच्चिस मिटरको मात्र दूरीमा सडक बनाइएको र पानीको निकास नराखिएकोले नेपाली बस्ती, नेपाली कृषकले लगाएको खेतीपाती नष्ट हुनुका साथै डुबानका कारण पलायन हुनुपर्ने अवस्था देखिएकोले सरकारले समयमै यस कार्य रोक्न पहल गर्नुपर्ने एमाले सचिव बस्यालको माग छ ।
सरकारले तत्काल कुटनीतिक पहल गरी दशगजा सीमा क्षेत्रमा एकतर्फी रुपमा भारतले निर्माण गरिरहेका संरचना हटाउन पहल नगरे आन्दोलन गर्न बाध्य हुने एमाले नवलपरासीले जनाएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी मिश्रले आफ्नो समकक्षीसँग टेलिफोनमा संवाद गरी समस्या समाधानबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् । सिमा क्षेत्रमा निर्माण गरिएको बाँधको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि सरकारले सुनुवाइ नगरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया