स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमालेलाई ‘जानकारी छैन’

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमालेलाई ‘जानकारी छैन’


file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दिएको रायको समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्यौल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन् ।

किनकि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाली आगामी जेठमा सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघको निर्वाचन गर्नुपर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेको छ ।

प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन । तर स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी प्राप्त नभएको बताएको छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आफूहरूलाई सर्वदलीय बैठकका बारेमा कुनै जानकारी प्राप्त नभएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

ज्ञातव्य छ, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सहभागी हुने बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।