राजनीतिक भाषणबाजीमा उत्तेजक र अमर्यादित शब्दचयन

राजनीतिक भाषणबाजीमा उत्तेजक र अमर्यादित शब्दचयन


चाँडै नै देशमा चुनावको लहर आउनेछ, सभा जुलुस र भाषणबाजीको शृङ्खला चल्नेछ । कति नेताको मनमा गत चुनावको असफलताले पिरोलेको घाउ छ, कतिका चुनाव जितेर पनि अतृप्त रहेका आकाङ्क्षाहरूका व्यथा छन् भने कसैलाई शासनको बागडोरबाट कपटपूर्ण माध्यमबाट खसालेको द्वेष छ । तर मतदाताहरूलाई नेताहरूको भन्दा आफ्नो गुनासो सम्बोधन भएको भाषण सुन्ने चाहना छ ।
  • डा. श्याम उपाध्याय, भिएना

एक विद्वानले भनेका छन्- हरेक राजनेता आफैमा एक गुरु पनि हुन् र उनले आफ्ना समर्थकहरूलाई शिक्षा दिने अवसर कहिल्यै चुकाउँदैनन् । धेरै देशमा शिक्षण संस्थान र अध्ययन केन्द्रहरूमा, सार्वजनिक स्थल र समारोहहरूमा विशिष्ट व्यक्तिहरूको प्रेरणादायी उद्गार राखेर नागरिकहरूलाई सुशिक्षित र सुसूचित बनाउने प्रचलन छ । नेपालका महाकवि देवकोटा र कवि भूपी शेरचन तिनका अमर उद्गार क्रमशः ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ र ‘बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए’ का लागि प्रसिद्ध छन् । गोपाल प्रसाद रिमालद्वारा रचित ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको गीत युवाहरूले देश विदेशमा गाएर मातृभूमिप्रति सम्मान र गौरव प्रकट गर्दछन् । पृथ्वीनारायण शाहबाट झण्डै तीन सय वर्षअघि दिव्य उपदेशमा दिइएको उक्ति ‘नेपाल दुई ढुँगा बीचको तरुल हो’ अहिले पनि हाम्रो विदेश नीतिको आधारशिला बनेको छ । तर अहिलेका नेताहरूले आफ्ना समर्थक, जनसाधारण र नयाँ पुस्तालाई के सन्देश दिइरहेका छन् ? उनीहरूले दिएको भाषण, वक्तव्य या विज्ञप्तिमा के त्यस्तो वाक्य छ जुन वर्षौंसम्म उद्धृत हुन सकोस् ? यस्तो लाग्छ अहिले देशमा ज्ञान, विवेक, शिष्टता र दृष्टिकोणको खडेरी परेको छ । नेताहरू एक अर्कालाई गिराउन र झपार्नमा व्यस्त छन् तर त्यसबाट समाजमा कस्तो असर परिरहेको छ भन्ने तर्फ उनीहरू कुनै सरोकार राख्दैनन् ।

राजनीतिक आन्दोलनमा कटुता, वैमनस्यता र प्रतिष्पर्धा सबै हुन सक्छ । तर त्यो सबैको बाबजुद शिष्टता कायम गर्न सम्भव छ । अमेरिकामा रंगभेद उन्मुलन र नागरिक अधिकारको लागि लड्दालड्दै जीवनको आहुति दिएका अश्वेत नेता डा. मार्टिन लुथर किंगले दिएको ‘मेरो एउटा सपना छ’ भन्ने भाषण इतिहासकै चर्चित भाषण मानिन्छ । उनले भनेका थिए, ‘मेरो एउटा सपना छ, एकदिन अलाबामा राज्यका स-साना अश्वेत केटा र केटीहरू गोरा केटा र केटीहरूको आफ्नै भाइबहिनीसरह हात समातेर हिँड्न सक्नेछन् ।’ गोरा आधिपत्यविरुद्ध लडेका भए पनि ती नेताले गोराविरुद्ध कुनै दुर्वाच्य बोलेनन् बरु तिनका बालबालिका सँगै हिँडेको देख्न चाहे । उनको अर्को एउटा उद्गार पनि प्रसिद्ध छ जसमा उनले भनेका थिए- ‘फगत प्रेम यस्तो शक्ति हो जसले तिम्रो शत्रुलाई मित्रमा परिवर्तन गर्न सक्छ ।’ डा. किंगको तुलनामा हाम्रा नेताहरूले दिएको आफ्नो प्रतिद्वन्द्वीको ‘खप्पर फोरिदिने या भित्तामा पुऱ्याइदिने’ अभिव्यक्ति कति तुच्छ लाग्छ । हाम्रै छिमेकमा अङ्ग्रेजको शासनविरुद्ध अहिंसात्मक भद्रअवज्ञा आन्दोलन चलाएका महात्मा गान्धीले पनि संयम र शिष्टाचार जोडेर प्राप्त हुने शक्ति अप्रतिरोध्य हुने बताएका थिए ।

बहुदलीय व्यवस्थामा दलहरू टुट्ने, फुट्ने र जुट्ने सामान्य कुरा हो । संसदीय लोकतन्त्रमा केही शताब्दी नै बिताएर अभ्यस्त भइसकेका युरोपेली मुलुकहरूमा पनि यो प्रक्रिया चलि नै रहेको छ । फ्रान्सका वर्तमान राष्ट्रपति एमानुएल माक्रोन गत चुनावअघि समाजवादी पार्टी टुक्रिएर बनेको समूहबाट निर्वाचित भएका हुन् । इटालीमा त पार्टी टुक्रिन र मिल्न कुनै आइतवार चाहिदैन भनिन्छ । छिमेकी भारतले पनि संसदीय व्यवस्थामा पचहत्तर वर्ष बिताइसकेको छ, तर ‘आया राम – गया राम’ को हावाको तेज आज पनि त्यति कमजोर देखिँदैन ।

एकदलीय अधिनायकवादी व्यवस्थामा पार्टी फुट्ने या मिल्ने कुरो हुँदैन । चीन या उत्तर कोरियामा पार्टी फुटेको या दलहरूको साझेदारीबाट सरकार निर्माण भएको सुन्न पाइँदैन । कथित ‘जनसरकार’को अभ्यासबाट पतन भएपश्चात पनि एकदलीय अधिनायकवादी धङधङी बोकेर र ‘जनवादी’ सत्ता स्थापना गर्ने उद्देश्य लिएर बहुदलीय लोकतान्त्रिक प्रणालीमा छिरेका दललाई संसदीय व्यवस्थाको जीवन्त हलचल अपाच्य हुनु स्वाभाविक हो । उसले हरेक हलचलमा ‘प्रतिगमन’ र ‘प्रतिक्रान्ति’ देख्छ । तर संसदीय व्यवस्थामा अभ्यस्त भइसकेको र विश्वकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनाएको दलका नेताहरू आफै झगडियाहरूको पङ्क्तिमा ओर्लनुचाहिँ अशोभनीय हुन्छ ।

जो संसदीय लोकतन्त्रका संस्थाहरूमा भन्दा आफ्नै दलको शक्तिमा मात्र विश्वास राख्छ ऊ दलहरूको शक्ति सन्तुलनमा आउन सक्ने सामान्य परिवर्तनबाट त्रसित हुन्छ । त्यस्तो परिवर्तन उसका चुनावी अपेक्षाको प्रतिकुल हुने रहेछ भने त झन् ऊ मुर्च्छित सरह हुन्छ । यही त्रास नै आक्रामक भाषण र उग्र व्यवहारका कारण हुन् । पूर्व नेकपाको विघटनले प्रधानमन्त्री पदको लामो प्रतीक्षामा रहेको पुष्पकमल दहालको सत्तारोहण निष्फल गरिदियो । बदलामा उनी ओली सरकारलाई अपदस्थ गर्ने एक प्रमुख कर्ता भए । अनि सुरु भयो वाकयुद्ध । प्रचण्डले राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेपछि प्रत्युत्तरमा ओलीले उनलाई रंग फेरिरहने छेपारोको संज्ञाले सुशोभित गरिदिए । माधव नेपालले ओलीले उनलाई प्रधानमन्त्रीको पद ‘अफर’ गरेको दाबी गर्नासाथ ओलीले क्रुद्ध भएर त्यसको खण्डन गर्दा माधव नेपाल प्रचण्डको ‘पुच्छर भएको’ र ‘लाज शरम पचेको मान्छे’को पगरी भिराइदिए । नेपाली काङ्ग्रेसको महाधिवेशनमा ओलीले काङ्ग्रेसी कार्यकर्ताको तालीको गडगटाहट पाएको र हालै देउवा-ओलीको एकलाएक्लै भेट भएको देखेपछि माधव नेपालको शैली पुनः आक्रामक भयो ।

चितवनमा सफलताका साथ महाधिवेशन सम्पन्न गरेर आत्मविश्वास प्रदर्शन गरिरहेका ओलीको तेजोबध गर्न माधवले ‘अब एमालेको झण्डा गैंडाले होइन बाँदरले बोक्ने दिन आउने’ भनेर प्रहार गरे । यी सबै उदाहरणले के सिद्ध गर्छ भने आक्रामक शैली शक्तिको नभइ आत्मीय दुर्बलता, भय र लघुताभासको अभिव्यक्ति हो । प्रचण्ड र माधवको तुलनामा ओलीले आफ्नो भाषणमा क्रोध र रोष मात्रै प्रकट गर्दैनन् ; उखानटुक्का, विम्ब र ठट्टा मिसाइदिन्छन् । यो गुण चित्रबहादुर केसीलाई छोडेर अन्य नेतामा देखिएको छैन । विरोधीहरूले यसवापत उनलाई ‘चटके’, ‘उखाने’को उपमा दिए पनि उनका समर्थकहरूलाई चाहिँ यसले हौसला र आत्मविश्वास प्रदान गरिरहेको छ, किनभने अन्य दुईको तुलनामा ओली पटक्कै भयभित देखिँदैनन् ।

कम्युनिष्ट नेताहरूको वाकयुद्धमा बेलाबेलामा काङ्ग्रेसी नेता गगन थापाले प्रतिस्पर्धाको लागि आवेदन दिएको जस्तो देखिन्छ । हालसालै राजेन्द्र लिङ्देन पनि सामेल हुन खोजेका छन् । तर उनीहरूले त्यसो नगर्नु नै बेस हुनेछ । कम्युनिष्टहरू वर्षौंदेखि सँगै लडेका निकटतम् कामरेडको तेजोबध गर्न मात्रै होइन, ज्यानै लिन पनि तयार हुन्छन् । कम्युनिष्ट शासनमा नै हजारौँ-हजार निरपराध कम्युनिष्टहरू मारिएको दर्दनाक इतिहास छ ।

बोल्सेभिक क्रान्तिपूर्व कार्ल काउत्स्की र रोजा लक्जेमबर्ग युरोपका प्रख्यात मार्क्सवादी थिए । तर क्रान्तिबाट रुसमा एकदलीय तानाशाही व्यवस्थाको स्थापना भएको र अन्य पार्टीहरूलाई निषेध गरिएको भनेर उनीहरूले त्यसको विरोध गरे । काउत्स्कीले फरक मत राख्नासाथ लेनिनले उनलाई गद्दार घोषणा गरी हाले र ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ शीर्षकमा एक पुस्तिका छपाए । शायद त्यसैको नक्कल गरेर होला नेपालमा पनि कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको अपमान गर्ने नियतले ‘गद्दार पुष्पलाल’ नामक पुस्तक प्रकाशित भएको सर्वविदितै छ ।

सत्तामा नभएकाले लेनिनले पुस्तिका मात्र छपाए, तर सत्तासीन स्टालिनले त फरक मत राख्ने आफ्नै बोल्शेभिक पार्टीका हजारौँ नेता तथा कार्यकर्ताहरूको हत्या नै गरे जसमध्ये कोमिनटर्नका अध्यक्ष ग्रिगोरी जिनोभेभ र कोमिनटर्नकै महासचिव निकोलाई बुखारिनलगायत अन्य उच्चपदस्थ बोल्शेभिक नेताहरू थिए । त्यसरी नै अर्का नेता लेवन ट्रट्स्कीको मेक्सिकोमा निर्वासनमा रहेको समयमा स्टालिनका एजेन्टहरूले हत्या गरिदिए । चिनियाँ क्रान्तिको लागि कैयन वर्ष माओसँगै लडेका र कम्युनिष्ट पार्टीमा माओपछि दोस्रो स्थानमा रहेका लिन ब्याओको एक रहस्यमय हवाइजहाज दुर्घटनामा माओकै समयमा हत्या गरियो र मरणोपरान्त उनलाई माओले गद्दार घोषणा गरे । त्यसरी नै उत्तर कोरियाको राष्ट्रिय सुरक्षा आयोगका उपाध्यक्ष जाङ्-सोक थाएकले आर्थिक सुधारको विषयमा फरक मत राखेको शंकामा उनलाई बैठकबाटै गिरफ्तार गरेर हत्या गरियो र मरणोपरान्त मानव विष्ठा भन्दा तुच्छ प्राणी भनेर अपमान गरियो ।

अन्य देशका कम्युनिष्टहरूले फरक मतप्रति देखाएको यस्तो क्रुरतम् व्यवहारको तुलनामा नेपालमा जे भएको छ त्यो सह्य नै छ भन्ने यो लेखको आशय होइन । यसको आसय खुला लोकतान्त्रिक प्रतिस्पर्धा हुने राजनीतिक प्रणालीमा आइसकेपछि कम्युनिष्टहरूले संयम, राजनीतिक शिष्टता र फरक मतप्रति सम्मानजनक व्यवहार गर्न सिक्नुपर्छ भन्ने हो ।

विभिन्न देशका चुनावसभा र ऱ्यालीहरूमा दिइएका भाषणहरूको अध्ययनबाट के देखिएको छ भने नेताहरूका चर्का र उत्तेजित वक्तव्यबाजीपछि कतिपय समुदायमा हिंसा भड्किने गर्छ । छिमेकी भारतमै हामीले बाबरी मस्जिद र गुजरातको गोधरा हत्याकाण्डको पृष्ठभूमिमा हिन्दू अतिवादीहरूले फैलाएको घृणा र असहिष्णुताको प्रचारको सम्झना गर्न सक्छौँ । अतिवादको विषयबस्तु कतै राजनीति त कतै जाति या धर्म होला तर त्यसको विध्वंसात्मक चरित्र एउटै हो । राजनीतिक नेताहरूले चुनावी फाइदाको लागि समाजमा विभाजन र अनावश्यक ध्रुवीकरणलाई प्रश्रय दिएका घटनाहरू छन् । तर उनीहरू के कुरालाई बेवास्ता गर्छन् भने विभिन्न दल या समूहका समर्थकहरू एउटै समुदायबाट आएका हुन सक्छन् र उनीहरू फर्केर जाने ठाउँ एउटै हो ।

भाषण स्थलमा सुनिएका र दोहऱ्याइएका उत्तेजक र परस्पर घृणा फैलाउने नाराहरू गाउँघरसम्म पुग्दा जनमानसमा रहेको सदभावना स्खलित हुन सक्छ । वल्लो घर पल्लो घर त के परिवारभित्रै झगडा मच्चाउन सक्छ । समाजमा धेरै विषयमा वर्षौंदेखि सुषुप्त अवस्थामा रहेका मतान्तर हुन सक्छन् र तिनको कारण जातीय, धार्मिक र जीवनस्तरको भिन्नता पनि हुन सक्छ । चरमपन्थीहरू समाजमा फाटो ल्याउन त्यस्ता भिन्नतालाई कलहमा परिणत गर्न उद्दत हुन्छन् । माओवादी आतङ्ककालमा चर्काइएका जातीय, भाषिक र भौगोलिक आधारका द्वेषहरूको समाजले अहिले आफै बिस्तारै सम्बोधन गर्दै गएको छ, तर त्यसलाई पुनः चर्काउन चाहनेहरूको कमी छैन । यस्तो विषम परिस्थितिमा राजनीतिक नेताहरूको भाषणमा कुनै पनि प्रकारको उत्तेजक र अर्यादित शब्दको प्रयोग हुनु दुर्भाग्यपूर्ण र अदूरदर्शी हुनेछ ।

भाषण गर्नेहरूले ध्यान दिनुपर्ने तर ध्यान नदिएको कुरा आजको जमानाको सूचना र प्रविधिको करामत पनि हो । कुनैबेला नेताहरूको भाषण पहिला समाचार पत्र या विद्युतीय संचारमाध्यमका सम्पादकहरूको हातमा पुग्थ्यो । उनीहरूले अशिष्ट शब्द निकालेर सम्पादन गरी पठनीय बनाएको समाचार मात्र बाहिर आउँथ्यो । त्यसप्रति पनि कुनै विरोध या अवाञ्छित प्रतिक्रिया आएमा नेताहरूले ‘आफ्नो भनाइको मनसाय बिगारेर समाचार निकालिएछ’ भनेर पत्रकारमाथि दोष थोपरेर उम्कने मौका पाउँथे । तर अहिले प्रत्यक्ष प्रसारणबाट रमिरहेका नेताहरूले के बुझिरहेका छैनन् भने तिनको वाणी मात्र होइन, मुखाकृति, हाउभाउ, पहिरन सबै पक्षको खरो मूल्याङ्कन भइरहेको हुन्छ र मानवीय स्वभावअनुसार सही कुराको भन्दा गलत कुराको प्रचार छिटो र व्यापक हुन्छ । विन्सटन चर्चिलले भनेका थिए, ‘सत्यले सुरुवाल लगाइञ्जेल झूटले आधा संसारको यात्रा गरिसकेको हुन्छ ।’ प्रविधिले नेताहरूलाई हरबखत उनका समर्थकहरूसँग सम्पर्कमा राखिरहेको हुनाले राजनीतिक संगठन विस्तार गर्न र आफ्नो सन्देश प्रवाह गर्न सहज बनाएको छ । तर त्यही प्रविधिले तिनलाई कडा रखवारी र नियन्त्रणमा राखेको सत्यलाई आत्मसात गरेको देखिँदैन ।

चाँडै नै देशमा चुनावको लहर आउनेछ, सभा जुलुस र भाषणबाजीको शृङ्खला चल्नेछ । कति नेताको मनमा गत चुनावको असफलताले पिरोलेको घाउ छ, कतिका चुनाव जितेर पनि अतृप्त रहेका आकाङ्क्षाहरूका व्यथा छन् भने कसैलाई शासनको बागडोरबाट कपटपूर्ण माध्यमबाट खसालेको द्वेष छ । तर मतदाताहरूलाई नेताहरूको भन्दा आफ्नो गुनासो सम्बोधन भएको भाषण सुन्ने चाहना छ । के निश्चित हो भने नेताहरूको प्रतिशोधको चिन्तनको तुलनामा जनताका चाहना सिर्जनामुखी हुन्छन् । त्यसैले जो सिर्जनशील भएर प्रस्तुत हुनेछ उसैका सम्भावना बलिया रहनेछन् र सिर्जनाको भाषा विध्वंशको तुलनामा कवि भूपी शेरचनले ‘मैनबत्तिको शिखामा’ लेखेजस्तै धेरै नै ‘शुभ्र, शान्त र स्निग्ध’ हुनेछ ।

(डा. उपाध्याय भिएनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका पूर्व तथ्याङ्क विभाग प्रमुख हुनुहुन्छ ।)