photo newskarkhana
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन् ।
तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ नसमेटि पुरानै नक्सा राखेर राजपत्र प्रकाशित भएपछि मन्त्री साहले सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।

‘नेपालको पुरानै नक्सा राखेर भुलवश राजपत्र प्रकाशित भएछ, अब नयाँ नक्सासहितको राजपत्र प्रकाशित गर्नेछौं,’ मन्त्री साहले भनेका छन् । उनका अनुसार प्रावधिक कारणले मात्रै उक्त राजपत्रमा पुरानो नक्सा पर्न गएको हो ।
सार्वभौम संघीय संसद्ले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा पारित गरी नेपाल सरकारको लोगो नयाँ निमार्ण गरेको दुई वर्ष नाघेको अवस्था हुँदाहुँदै माघ ३ देखि लागु हुने गरी हिजो सार्वजनिक राजपत्रमा भने मधेस प्रदेशले पुरानै नक्साको निशान चिन्हसहित राजपत्र प्रकाशित गरेको थियो ।
प्रदेश २ लाई मधेस प्रदेश नामाकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको ‘नेपालको चुच्चे नक्सा’ नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त राजपत्रमा चुच्चे नक्सा नदेखिएपछि सार्वजनिक चासो बढेको थियो ।
प्रतिक्रिया