जनतालाई पचेको छैन है भीआईपी पोज -वसन्तराज कुँवर

जनतालाई पचेको छैन है भीआईपी पोज -वसन्तराज कुँवर


महाराजगञ्ज चोकमा गाडीहरू नराम्रोसँग जाम थिए । त्यहाँ प्राय: हरदम जाम नै हुने गर्छ । कुनै गाडी अगाडि सरिरहेको थिएन । म एक अस्पतालमा डाक्टर भेट्न जाँदै थिएँ । गाडीमा जाँदा समयमा पुगिन्न जस्तो लाग्यो र मोटरसाइकलपछाडि बसी हात्तीगौंडाबाट निस्केँ । महाराजगञ्ज पुग्दा भयङ्कर जाम रहेछ । छिद्र-छिद्रबाट छिरेर पनि अगाडि बढ्न सक्ने सम्भावना थिएन । बिचरा ट्राफिकहरू त्यो कोलाहल र कहालीलाग्दो जाममा पनि मसिनो आवाजमा सी….सी…… गर्दै सिठ्ठी बजाएर सवारी व्यवस्थापनको प्रयास गर्दै थिए । सडकको लम्बाइ हेरेर गाडी र मोटरसाइकल भित्र्याउनुपर्छ भन्नेसम्म नबुझेका यातायात व्यवस्था विभाग र मन्त्रालयको अक्षमताको मारमा ती निरीह ट्राफिक प्रहरीहरू परेका देखिन्थे ।
कोही कसैलाई बाटो छोड्ने मुडमा देखिन्थेनन् । मोटरसाइकलहरूले बाटो छेकी बसिदिएकाले विपरीत दिशाबाट आउने मोटर सर्ने सम्भावना पनि थिएन । सबै गाडीवालाहरू टेन्सनमा देखिन्थे र उनीहरू आक्रोश पोख्न जोडजोडले टिँ…टिँ…टिँ..र्.हर्न बजाउँदै थिए । साँझको त्यो समयमा त्यस क्षेत्रमा बत्ती पनि थिएन । कसरी अगाडि बढ्ने र समयमै डाक्टर भेट्ने होला – भनेर म के सोच्दै थिएँ त्यत्तिकैमा बाँसबारीतिरबाट आएको कुनै गाडीले जोडजोडले एकोहोरो रूपमा प्वाउँ… प्वाउँ… गर्न थाल्यो । त्यो एम्बुलेन्स नभई कुनै भीआईपीलाई इर्स्कर्ट गर्ने गाडीको साइरन रहेछ । जति प्वाउँ… प्वाउँ… गरे पनि त्यो गाडी अगाडि बड्ने सम्भावना थिएन, किनकि चलहल गर्ने कतै जग्गा नै थिएन । त्यो प्वाउँ… प्वाउँ… गाडीलाई भने यसको कुनै पर्वाह थिएन । ऊ एकोहोरो रूपमा प्वाउँ… प्वाँउ… को ध्वनि बजाइरहेकै थियो । जाममा परेका अरू गाडीलाई उसको यो व्यवहार बिल्कुलै चित्त बुझेनछ र सबका सब गाडीहरूले त्यो प्वाँउ…प्वाँउ… गाडीलाई टीँ…टीँ… गर्दै गाली-जवाफ दिन थाले । त्यत्तिकैमा सडक किनाराको एक सानो बाटोबाट बडेमानको स्कुल बस फुत्त निक्ल्यो र बचेखुचेको आधा बाटोको केही भाग पनि छड्के पाराले ढाकिदियो । ऊ पनि के कम – उसले त झन् भ्वाँ… भ्वाँ… पो गर्न थाल्यो । भ्वाँ…भ्वाँ…लाई तर्सर्ाा इस्कर्टिङको प्वाँउ…प्वाँउ… जोडतोडले खोक्न थाल्यो । टीँ…टीँ… हरूलाई त पहिल्यैदेखि कन्सिरी तातिरहेकै थियो झन् सबका सब मिलेर लेघ्रो तानितानी टीँ…टीँ…गरी गाली गर्न थाले । भ्वाँ… भ्वाँ… पनि चुप लाग्नेवाला देखिएन । यी सबको व्यवहारले धुलो र धुवाँमा अहोरात्र खटिएका प्रहरीको पनि कन्सिरी तात्नु स्वाभाविकै थियो । त्यसैले उसले पनि लेघ्रो तान्दै सी… सी… गरी सिट्ठी फुक्न थाल्यो । अनि त मलाई पनि झोंक चल्यो र ट्याँ…ट्याँ… गर्दै मोटरसाइकलको हर्न बजाइदिएँ । एकछिन साँझको त्यो वातावरणमा भ्वाँ…भ्वाँ…, प्वाँउ…प्वाँउ…, टीँ…टीँ…, सी…सी… र ट्याँ…ट्याँबीच खुव वाकयुद्ध चल्यो । यो प्रक्रिया केहिछिन चलिनै रह्यो । बाटो खुल्ने अवस्था थिएन । त्यो प्वाँउ प्वाँउ गर्ने गाडीलाई पनि थाहा थियो कि त्यहाँ अहिले प्वाँउ…प्वाँउ…भन्दा पनि केहीबेर धर्ैयताको खाँचो छ । यो धर्ैयता प्वाँउ…प्वाँउ…मा थिएन, जसले गर्दा त्यहाँ जाममा परेका गाडीहरू र बाटामा हिँड्ने यात्रीहरूसमेत प्वाँउप्वाँउ गाडीसँग छुब्ध भइरहेका थिए ।
त्यत्तिकैमा फुटपाथमा हिँड्दै गरेका एक यात्रुले मेरो छेउमै टक्क अडिएर कान थुन्दै बडो आक्रोशित मुहारमा त्यो प्वाँउप्वाँउ गाडीलाई हेरे र जोडले चिच्याउँदै भने, ‘यी संविधान बनाउन नसक्नेहरूको लागि केको प्वाँउ…प्वाँउ – बाटो नभएपछि मन्त्री होस् कि प्रधानमन्त्री… चुपचाप बस्नुपर्छ । जिम्मा लिएको एउटा संविधान दुई वर्षमा यत्रो खर्च गरेर पनि बनाउन नसक्ने, बाटो बढाउन नसक्ने, गाडी नियन्त्रण गर्न नसक्ने, सडकमा बत्ती बाल्न नसक्ने, अनि फेरि तिनै असफल व्यक्तिहरू नेता भएर जनताका छोराछोरी रोकिएको अवस्थामा प्वाँउ…प्वाँउ… गरेर एक्लै अगाडि जान खोज्ने – नछोड बाटो यिनीहरूलाई …।’
फुटपाथमा उभिएर ती सचेत नागरिकले प्वाँउ…प्वाँउ…गरिरहेको त्यो गाडीलाई निकैबेर घृणा भरिएको आँखाले हेरिरहे । म ती व्यक्तिको ज्यादै नजिक रहेका कारण उनको हाउभाउ र बोली प्रस्ट रूपले देखिरहेको र सुनिरहेको थिएँ ।
केहीबेरपछि बाटो खुल्यो । म चढेको मोटरसाइकल पनि नारायणगोपाल चोक पार गर्न सफल भयो । यो चोकलाई पार गर्दा पनि मलाई आन्ध्र महासागर पार गरेझैं जितको महसुस भयो । प्वाँउ…प्वाँउ…वाला गाडी अझै एक तमासले चिच्याइरहेकै थियो । तर, उसलाई बाटो पनि कसैले छोडिरहेका थिएनन्, किनकि छोड्ने बाटै थिएन ।
यस प्वाँउ…प्वाँउ…घटनाले मलाई पनि मेरो अतीत याद दिलायो । प्रहरी सेवामा छँदा राजा, प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्रीहरूको इस्कर्टिङ गर्न म आफंै पनि साइरन बजाउँदै स्कर्टिङ गाडी लिएर हिँड्ने गर्दथेँ । त्यतिबेला मलाई साइरन बजाउँदै बाटो पन्छाएर भीआईपीहरूलाई लिएर जाँदा निकै ठूलो काम गरेझैं लाग्थ्यो, तर मैले लिएर गइरहेका भीआईपीप्रति फुटपाथमा उभिने नागरिकहरूको के धारणा हुन्छ भन्नेचाहिँ मलाई थाहा हुन्थेन । यसरी जब मैले मेरै अगाडि एक फुटपाथमा उभिएका नागरिकले भीआईपी भएर साइरन बजाउँदै आएका एक नेताप्रति जसरी घृणाको आगो उकेले, त्यो देखेर मैले बुझेँ कि जसलाई बचाउनका लागि म अगुवा या पछुवा भएर हिँड्ने गर्थें ती जनताका नजरमा कतिसम्म अलोकप्रिय हुन सक्दा रहेछन् ।
आखिर ती भीआईपी भन्नेहरूलाई इस्कर्टिङ किन दिइन्छ – किनकि ती व्यक्तिहरू देश र जनताका लागि महत्त्वपूर्ण हुने गर्छन्, उनीहरूको समय महत्त्वपूर्ण या मूल्यवान हुने गर्छ । बाटामा उनीहरूले सर्वसाधारणले झैँ समय बर्बाद गर्न नपरोस् भन्ने हेतुले पनि इस्कर्टिङ दिइन्छ । अर्को कुरा देश र जनताका हितमा उनीहरूले महत्त्वपूर्ण निर्णय गर्नुपर्छ र त्यस्ता निर्णयले असामाजिक तत्त्वलाई नराम्रो असर पुगेको हुन सक्छ जसले गर्दा ती भीआईपीहरूमाथि ज्यानको खतरा हुन पनि सक्छ । त्यसैले त्यस्ता विशिष्ट व्यक्तिहरू जनताका सम्पत्ति हुने हुँदा तिनीमाथि कुनै प्रकारको आँच नआओस् भनेर इस्कर्टिङ दिइन्छ । भीआईपी भन्ने व्यक्तिहरू जसले इस्कर्टिङ लिने चाहना गर्छन् वा पाउँछन् ती व्यक्तिहरूले पनि बदलामा जनताको जीवनस्तर उठाउन महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने हुन्छ । ती व्यक्तिहरूले लिएका निर्णयहरूले देश र जनताले केही ठूलै कुरा पाएको हुनुपर्छ । ती व्यक्तिहरूलाई आफूले बाटो छोडेर अगाडि जान दिन जनता सन्तुष्ट र खुसी भएको अवस्था हुनुपर्छ । तर, त्यस साँझ महाराजगञ्जमा मैले बुझेँ- इस्कर्टिङ लिएर हिँडेका आजका भीआईपी भन्नेहरूप्रति जनताको कुनै आस्था छैन, विश्वास छैन, सम्मान छैन र सरोकार पनि छैन । अगाडि स्कर्टिङको गाडी लगाएर पछाडि कालो सिसाभित्र बसेका आफूलाई भीआईपी भन्नेहरूले अब बुझे हुन्छ तपार्इंहरू दिन-प्रतिदिन जोकरजस्तै बन्दै हुनुहुन्छ । सुकुलगुण्डाहरूले घरमा खाने लाउने केही नहुँदा पनि चस्मा लगाएर स्वास्नी फकाउन हिँडेको नसुहाएझैं आजका भीआईपी भन्नेहरूले पनि खोक्रो मुलुकको बडामान्छे बनेर अनावश्यक तामझाम गरी प्वाँउ…प्वाँउ… बजाउँदै तमासा देखाएको पटक्कै सुहाएको छैन । यसको कारण के हो भने तपाईंहरू भीआईपी हुन त खोज्नुभयो तर भीआईपी भएर देश र जनताका लागि गर्नुपर्ने कामचाहिँ केही गर्न सक्नुभएन ।
पङ्क्तिकारको विचारमा अब भीआईपीहरूले इस्कर्टिङ लिएर नहिँड्नु नै राम्रो हुन्छ र यदि लिए पनि चुपचापसँग यात्रा गर्नु ठीक हुन्छ । जब तपाईंहरू प्वाउँ…प्वाँउ… बजाउँदै हिँड्नुहुन्छ तब जनताले तपार्इंलाई देखिहाल्छन् र हालको अवस्थामा तपाईंहरूले उनीहरूबाट गाली खानेबाहेक ताली खाने कुनै अवस्था छैन । जनताले चिनेनन् भने तपाईंहरूले गाली पनि खानुपर्दैन । जब तपाईंहरू प्वाँउ…प्वाँउ…गराउँदै आफूलाई चिनाउँदै हिँड्नुहुन्छ तब फुटपाथका मान्छेहरू तपाईंहरूका गाडीलाई आक्रोशित मुद्रामा हेर्छन् र भन्न थाल्छन्, ‘ऊ… भत्ता बुझेर पनि संविधान बनाउन नसक्ने नेता आएछ, ऊ… पासपोर्ट छपाइमा पैसा खाने मान्छे आएछ, ऊ… नेपाललाई अँध्यारोमा दबाउने मन्त्री आएछ, ऊ… प्रजातन्त्र खोस्ने प्रधानमन्त्री आएछ, ऊ… टायर बाल्ने, रेलिङ भाँच्ने र उद्योग बन्द गर्ने नेता आएछ, ऊ… भारतमा आशीर्वाद लिएर प्रधानमन्त्री बन्न खोज्ने व्यक्ति आएछ, ऊ… नागरिकलाई पानीसम्म खुवाउन नसक्ने मन्त्री आएछ, ऊ… पार्टी फुटाउने नेता आएछ, ऊ… देशबाट तराई छुटाउन चाहने नेता आएछ, ऊ… कर्मचारीतन्त्र खत्तम पार्ने घुस्याहा नेता आएछ, ऊ… खुब कमिसन खाने मन्त्री आएछ, ऊ… संविधान बन्न नदिने पात्र आएछ, ऊ…. मान्छे काट्नेको गुरु आएछ, ऊ… शान्तिसुरक्षा दिन नसक्ने मन्त्री आएछ, ऊ… जातजातिहरूलाई छुट्याउन खोज्ने फटाहा आएछ, ऊ….. धर्मको आडमा फेरि शासन गरौँला भन्ने सपना देख्ने बेवकुफ आएछ, ऊ… राजतन्त्र फर्केदेखि प्रधानमन्त्री हुन पाउँथेँ कि भन्ने अवसरवादी आएछ … ।’
दु:खका साथ भन्नुपर्छ, अहिले तपाईंहरूलाई हेरेर जनताको मुखबाट निकाल्ने वाक्यहरू केवल यस्तै यस्तै मात्र हुनेछन् । यस्ता आवाज सुन्न तपाईंहरू किन आफू गएको बाटोमा प्वाँउ…प्वाँउ…गर्दै गाली खाने वातावरण बनाउनुहुन्छ – तपाईंहरूलाई लाग्ला कि अगाडि साइरनले तपार्इं हिँड्ने बाटोमा बढाइँ गरिरहेको छ, यदि तपार्इंलाई त्यस्तो लागिरहेको छ भने त्यो बिलकुल भ्रम मात्रै हो । यो नै वास्तविकता हो कि अहिले तपाईंहरूबाट जनता र देशको हकमा कुनै पनि उदाहरणीय काम भएको छैन । तपाईंहरूबाट बरु देश बिगार्ने, टुक्र्याउने र बर्बाद गर्ने कामहरू मात्र भएका छन् । संसद्को नाममा झन्डै ७ सय सङ्ख्यामा तपार्इंहरूलाई भत्ता दिन त्रिशूली नदी छेउ छाप्रोमा थुप्रै दिदीबहिनी हात फटाएर गिट्टी कुट्दै छन् । आखिर तिनले तपाईंहरूबाट के पाउँछन् – गृहमन्त्री रावलजीलाई एक करोडको गाडी चढाउन नगरपालिकाका कुचीकारहरू बिहानै कुच्चो लगाउँदै आएको तलब काटेर दिँदै छन् । आखिर तिनले ती गृहमन्त्रीबाट के पाउँछन् – यथार्थ यही हो अहिले तपाईंहरूबाट जनताले केही पाएका छैनन् । केवल तपाईंहरूले मात्र जनताबाट खुब लिनुभएको छ । जबसम्म तपार्इंहरू देश र जनताका लागि केही दिन सक्ने हालतमा हुनुहुने छैन तबसम्म तपार्इंहरू बाटोमा चुपचाप लागेर हिँड्दा नै कल्याण हुन्छ । तर्सथ, प्वाँउ प्वाँउ गराएर सबको गाली खाने काम नगर्नुहोस् । कृपया, नेताज्यूहरू अहिले प्वाँउ… प्वाँउ नगराऊ, पचेको छैन ।